कथा : एक यात्रा

~आर. के. सल्यानी~

मन त्यसै आत्तिएको थियो । कहिले यो सामान छुट्यो कि कहिले त्यो ….। कहिले बेलुका होला र बस चढूँला । यो सुदूरपश्चिमका लागि पहिलो यात्रा । जाँगीरमा हाजिर भएको एक हफ्ता नबित्दै यो यात्रातर्फ लाग्नु परेको थियो । मध्यपश्चिमेली किसानको छोरो भए पनि सुदूरपश्चिममा टेकेको थिइनँ । तर यस अघि नै सुदूरपश्चिमका साथीहरू केशव सर र जनक सर सँग भने भेटघाट भैसकेको थियो । अझ जनक सरको कण्ठकोकिलबाट ‘राइ झुमा, झ…ुमा क्या मस्केकी…’ बोलको गीतमा छमछम नाचिसकेको थिएँ । यो ठाउँ कस्तो होला ? दक्षिण एसियाको नमूना कर्णाली पुल अनि महाकाली पारी दुई गा.वि.स. जोड्ने लामो झोलुङ्गे पुल, घोडाघोडी ताल, शारदा ब्यारेज आदि । मनमा अनेक शङ्का–उपशङ्काका बीच मेरो यात्रा सुरु हुने बेला आइपुग्यो । म आफ्ना गाँसबासका सामानहरू रिक्सामा राखेर बुटवल बसपार्कतर्पm लागेँ । सामान राख्नको लागि बुटवल सञ्चय कोषका साथीहरूले सक्दो सहयोग गर्नुभएको थियो । सामान राखेर साथीहरूलाई ‘बाई–बाई’ गर्दै बसमा चढेँ । मेरो सिटसँगै एक अधबैसेँ आइमाइ थिइन् । “कृपया, म यहाँ बस्न सक्छु”, मैले सोधेँ । “अवस्य”, उताबाट जवाफ आयो । समयमा नै बस आफ्नो गन्तव्यतिर लाग्यो ।

“बाबु ! कहाँ पुग्नु पर्ने हो ?”, ती आइमाइले सोधिन् । “हजुर, धनगढीसम्म । “घर त्यही नै हो ।” “होइन्”, मेरो उत्तर । “किन जाँदै छौ त, बाबु ।” “जाँगीरको सिलसिलामा । अनि तपाईं नि ?” “डोटीसम्म” । “घर त्यही नै हो ? अनि के गर्नुहुन्छ नि, तपाईंले”, मेरो सवाल । “होइन । मेरो घर काठमाण्डौँ हो । म एउटा आईएनजिओ मा संलग्न छु ।” “सुदूरपश्चिमको लागि तपाईंको पहिलो यात्रा हो ?” “होइन बाबु । यस अघि पनि थुप्रै पटक यात्रा गरेकी छु । अनि बाबुको ?” “पहिलो यात्रा हो । मध्यपश्चिमेली भए पनि गएको छैन । मनमा अनेक कौतुहलता उब्जिएको छ ।” “बाबु भन्दा अफ्ठेरो त परेको छैन ? आफ्नै छोरो जस्तो लागेर बाबु भनेको । मेरो छोरो पनि बाबु जतिकै भएको छ ।” “किन अफ्ठेरो मान्नु र । बरु म पनि ‘आमा’ भनेर सम्बोधन गर्छु है, हुन्न आमा ?”, मैले भनेँ । मेरो उत्तर खस्न नपाउँदै ती आइमाइ सुक्कसुक्क गर्दै रून थालिन् । “के भयो आमा ? कि मैले तपाईंलाई चोट पु¥याएँ ? क्षमा गर्नु है आमा ।”, म आत्तिदै बोलेँ । “होइन बाबु, मेरो विगत सम्झेर रून मन लाग्यो । त्यसैले मन पखालेकी हुँ । यसमा केको चोट ?” “आमा के भएको थियो र विगतमा ? छोरो सम्झेर भन्न मिल्छ भने भन्नुस न । यति लामो यात्रा छ । अनि म सुन्न तयार पनि । तपाईं भन्नुस न, ल आमा ।” मेरो अनेक प्रयास पछि आफ्नो विगत खोतल्न तयार भइन ती आइमाइ अर्थात् मेरो यात्राकी ‘आमा’ ।

बाबु, हाम्रो पाँच जनाको सुखी परिवार थियो । मेरो आईएनजिओ को जाँगीर अनि मेरो श्रीमान् नेपाल सरकारको जाँगीरे । एक छोरी र दुई छोरा । हामी दुई श्रीमान्–श्रीमतीको राम्रो आर्थिक अवस्था भए पछि छोराछोरीलाई राम्रो शिक्षा दिन सहर ल्याइयो । समय आफ्नै गतिमा अघि बढिरहेको थियो भने हाम्रो दैनिकी दुःख–सुख छिचोल्दै अघि सरिरहेको थियो । एक दिन अकस्मात् प्रहरी चौकीबाट फोन आयो – ‘छिटो आउनुहोस्’ । हामी दुई तीन छक खायौँ । त्यहाँ गएर बुझ्दा पो भक्कानो छाडेर रून मन लाग्यो । कान्छो छोरो मिलनले मोटरबाइकले एक स्कुले छात्रलाई हानिदिएछ । एसएलसी पछि मरिहत्ते ग¥यो । “रात–दिन बाइक नभए पढ्दिनँ” भनी गनगन गर्न थाल्यो । त्यसैले बुबाले नमान्दानमान्दै पनि मेरो करबलले किनिदिएको । हेर बाबु, छोराछोरी आमाबुबाले भनेको मानेन भने धेरै दुःख पाउँछन् । आफै भन्नोस् त बाबु, “कस्को आमाबुबाले छोराछोरी बिग्रिऊ भन्छन्” । जसोतसो उसलाई प्रहरी चौकीबाट निकालियो । त्यसपछि सुध्रिन्छ कि भनेको त बीसको उन्नाइस भएन । अझ त्यसपछि लामो कपाल पालेर जोगी जस्तो भएर हिड्न थाल्यो । साथीहरू पनि त्यस्तै थिए, कोही भएका सबै रङले कपाल रङ्गाएका, कोही कानमा, कोही आँखा माथि त कोही आँखा तल मुन्द्रा, कोही भने ओठमा पनि बाँकी राखेका थिएन्न । जीउ सुकेर काठजस्तो भएको थियो । सुन्थे – लागूपदार्थ प्रयोग गर्छ रे । जति गरे पनि केही लागेन । सुध्रिन्छ कि भनेर सुधारगृहमा पनि राखियो । जेठो छोरो र छोरीको पढाइ राम्रै अघि बढिरहेको थियो । ‘मिलन अस्पतालमा भर्ना गरिएको छ’ भनेर त्यसका साथीहरूले खबर ल्याए । म हस्याङफस्याङ गर्दै अस्पताल पुगेँ । ‘मिलन, ए मिलन’ भन्न नपाउँदै बितिगयो । डाक्टरले भन्थे लागूपदार्थको ओभरडोज ले गर्दा यस्तो भएको । हेर बाबु, आमाबुबाले भनेको मानेको भए यस्तो हुदैन्थ्यो होला । आफ्ना सन्ततिले प्रगति, उन्नति गरेको अनि अनुशासित, लगनशील, इमान्दार, कर्तव्यनिष्ठ भएको हेर्ने कस्को बुबाआमाको मन हुदैन र ?

हामी दुई कामको सिलसिलामा घर बाहिर धेरै जानुपथ्र्यो । जसले गर्दा हामीले सन्ततिलाई राम्रो सुविधा दिए पनि राम्रो संस्कार दिन सकिरहेका थिएनौँ जस्तो लाग्छ । हामीमा राम्रो संस्कार भएन भने हाम्रो जीवन बिष बिनाको सर्प जस्तै हो । त्यस्तो मानिसको के मान्यता हुन्छ र ? उनीहरूलाई स्वतन्त्रत छाडिदिनाले कुसंस्कारले झेलिए । छोरी पनि मादकपदार्थ पिएर लठ्ठिदै घर आउँथि । त्यो देखेर छाती चिराचिरा भयो । यो उसको दैनिकी नै रहेछ । नाइट कल्वमा जम्मा हुने, पिउने, लठारिने उसको कलेज लाइफबाटै सुरु भएको रहेछ । पछि उसको दाजुले भन्थ्यो । दाजुले कति सम्झाउँदो रहेछ तर ‘मलाई लेक्चर न दे’ भन्दिरहिछे । एकपटक यस्तै कुराले गर्दा मेरो सामु नै दाजुबहिनीको मारपिट चलेको थियो । घरबाट कलेज जान्छु भनि निस्कन्थि तर कलेज नगई साथीहरूसँग कहिले डिस्को जाने, कहिले सिनेमा हल त कहिले घुम्न । हरेक अनैतिक कार्यमा संलग्न हुँदिरहिछे । एक दिन प्रहरीले दिउँसै छापामार्दा पक्रिएर लगेछ । छोरी हो माया लाग्दो रहेछ । छुटाएर घर ल्याएँ । जस्तो भए पनि बुबाआमालाई आफ्ना हरेक सन्तानको उत्तिकै माया लाग्दछ । सम्झाएँ पनि, तर केही लागेन । त्यसपछि ऊ बेस्सरी बिरामी परी । रगत चेक गर्दा थाहा लाग्यो कि उसलाई प्राणघातक रोग ‘एड्स’ लागेछ । यो सुनेर हामी दुईको छाती छियाछिया भयो । त्यसपछि भने ऊ घर बाहिर निस्किनै छाडी । घर बस्दा पनि एक्लै बस्ने भई । ‘बुबाआमा, मलाई क्षमा गर्नुहोस । मैले हजुरहरूले भनेको मानेको भए आज यस्तो दिन आउँदैन्थ्यो होला । साथीहरूको लहलहैमा लागेर आज हजुरहरूको शानमानमा धक्का लगाउन पुगेँ ।’ त्यो दिन धेरै रोई । हामीले पनि धेरै सम्झायौँ । जे हुनु भइहाल्यो, साहस गर । आपूmजस्तै हुनबाट जोगाउन सचेतना कार्यक्रमहरू गर । स्कुल, कलेजमा गएर कार्यक्रम गर । यी सबै मिथ्या भए । ऊ पनि हामीलाई छाडेर गई । कति शोक गरेर बाँच्नु । बुबाआमाले भनेको नमान्दा कुलतमा फसी । ‘ल, खाना खाने ठाउँ आइपुग्यो । खाना खानुहोस ।’ बसको खलासी कुर्लियो । ‘आमा तपाईं खाना नखाने ? हिड्नुहोस खाना खान जाऊ ।’

खाना खाएर बस फेरि आफ्नो गन्तव्यतिर मोडियो । मैले पनि आमाको जीवनका उतारचढावलाई फेरि खोतल्ने प्रयास गरँे । अँ साँच्चै आमा, त्यसपछि ? सन्तानको रूपमा एउटा छोरा बाँकी रह्यो । त्यो साँच्चिकै सन्तान थियो । मृदुभाषी, मिलनसार, इमान्दारका साथै हाम्रो सुखदुखमा साथ दिन्थ्यो । त्यसले ती दुई सन्तानको पनि अभावलाई पूर्ति गरेको थियो । पढाइमा तेज थियो । विदेश पढ्न जान्छु भन्यो । सन्तानले पढ्छु, राम्रो हुन्छु भन्दा पनि किन साथ नदिने ? विदेश गएको पनि करिब एक दशक हुन थाल्यो । यसबिचमा एकचोटी मात्र घर आएको छ । मलाई नै उतै बोलाउँछ । नेपालमा केही काम छैन भन्छ । मात्र राजनीति हुने ठाउँ हो । हामी जस्ता सोझासाझाका लागि नेपाल होइन । जसले झुठो बोल्छ, जसले गुन्डागर्दी गर्छ, जसले छलकपट गर्न जान्छ त्यसको लागि हो नेपाल । ‘ड्याडी’ को नै कुरा गर्नुस न । जहिले पनि यही भन्छ । उसको यस कुरालाई नकार्न पनि सक्दिनँ । उहाँले जाँगिरबाट राजिनामा दिनुभएको हो । इमान्दार, सक्षम र कर्तव्यनिष्ठ व्यक्तिको यो देशलाई खाँचो रहेनछ, बाबु । यो देशले उहाँको इमान्दारितालाई मनन गर्न सकेन । उहाँको बढुवा हुने पक्का भए पनि आपूmभन्दा कनिष्ठलाई बढुवा ग¥यो, यो सरकारले । बरु उहाँको आपूm मातहतको कार्यालयमा सरुवा गरिदिएछ । त्यही झोकले राजिनामा दिनुभयो । त्यसपछि पीरैपीरले पिउन सुरु गर्नुभयो । दुर्घटनामा परि उहाँले पनि छाडेर जानुभयो । घरअगाडि नै दुर्घटना भएको हो । आफ्नै कान्छो छोरा उमेरको उरन्ठेउले केटाले मारिदिएको हो । साँच्चै बाबु, यो सतीले सरापेको देश रहेछ । हिजो गाउँको फटाहा, साहुको ऋण खाएको, गाउँका चेलीबेटी बिगार्ने, राम्रो अध्ययन गर्न नसकेको, पढाउने आफ्नै गुरूलाई मारेको व्यक्तिले नै देशको बागडोर समाले पछि देशको के विकास होस् र, बाबु ? त्यसलै मन बुझाउनका लागि भए पनि पाँच जना टुहुराटुहुरीलाई आफ्नै घरमा राखेर पढाउने काम गरेकी छु । उनीहरू नै मेरा सन्तान भएका छन् । बाबु, नालायक आफ्ना सन्ततिलाई शिक्षादीक्षा दिनुभन्दा त लायक टुहुराटुहुरीको पालनपोषण गर्नु नै बेस । सम्झिएँ सबै आफ्ना सन्तती नै हुन् । घर पुग्दा ‘आमा’ भन्दै सबै मेरा सामु आइपुग्छन् । यिनीहरूले नै मनको घाउ निको पारेका छन् । यिनै सन्ततीलाई हेरेर चित्त बुझाउँछु । ‘बाबु, मलाई निन्द्रा लाग्ला जस्तो भयो, निदाउँछु ल ।’ ‘हुन्छ आमा’ मेरो स्वीकृती ।

मेरो मानसपटलमा आमाका तिनै कुरा खेल्छन् । करिब दुई वर्ष पहिले सनराइज स्कुल छाडेको हुँ । त्यहाँ त्यस्तै अनेक समस्या लिएर आमाबुबाहरू आउनुहुन्थ्यो । ‘मेरी छोरीले सागको तरकारी खादिनँ’, ‘मेरो छोरा भनेको मान्दैन’, ‘मेरा छोराछोरी स्कुलबाट फर्केपछि टी.भी. हेरेर बस्छन्’, ‘पढ्न मान्दैन्न’, ‘अक्षर राम्रो छैन’, ‘प्रतिशत किन घट्यो’ आदि–आदि । तर कुनै पनि आमाबुबाले यो भन्न आउनुभएन कि मेरो छोराछोरीलाई राम्रो संस्कार, अनुशासित, इमान्दार बनाइदिनुहोस । हामी अभिभावक पनि कहाँ धेरै विद्यार्थी एस.एल.सी. मा पास भएका छन्, त्यही विद्यालयमा पढाउन होडबाजी गर्छौँ । हामी आमाबुबा नै समय र जमाना अनुसार चल्नु पर्छ भनेर छोराछोरीलाई नयाँ–नयाँ प्रयोग गर्दै गयौँ । ‘छोरा, तिमीले ८० प्रतिशत ल्यायौ भने साइकल किनी दिउँला ।’ ‘छोरी, तिमीले राम्रोसँग पासँ ग¥यौ भने अस्तिको टेलिसिरियलमा लगाएको जस्तै लुगा किनी दिउँला ।’ हामी आमाबुबा छोराछोरीलाई विद्यालय पठाए पछि आफ्नो कर्म सकिएको महसुस गर्छौँ तर उसको बारेमा एक पल पनि सोधखोज गर्दैनौँ । सुखका नाउँमा अनेक सुविधाका वस्तुहरू दिँदै जान्छौँ, जसले गर्दा उनीहरूमा चाहना, इच्छा, आकाङ्क्षा बढ्दै जान्छ । अनि आफ्नै सन्तती आपूmबाट धेरै टाढा गए पछि मात्र हाम्रा आँखा खुल्छन् । त्यतिखेर धेरै ढिला भैसकेको हुन्छ । …ब्युतिदाँ अत्तरिया आइपुगेछु । अस्तु !

आर. के. सल्यानी
हाल – धनगढी, कैलाली
सम्पर्क – ९८४५०४६१११

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.