~गोविन्दप्रसाद आचार्य~
पृथकतावादको न देश हुन्छ न हुन्छ संसार
सोचाइ हुन्छ डडेको चित्त भत्काउ बिगार
पृथकतावादी धूर्तको धावा अखन्ड देशमा
मानिसजस्तो देखिन्छ तर सर्पको सोचमा
पृथकतावादी चर्केर थुक्छन् विदेशी नसाका
पृथकतावादी अखन्ड डस्ने देशको दसाका
विदेशी भाका धम्कीको भाषा भुसुना कराउने
पृथकतावादी मरेका शालिकसँग को डराउने
बसेको घरमा लगाउँछ आगो त्यो मूर्ख अज्ञान
हरियो घाँसमा लोभिने पशुभन्दा त्यो अजान
पृथकतावादी मूर्खले सातो खाएर खाइन्न
पृथकतावादी मुर्दामा चेत खोजेर भेटिन्न
भाडाको चम्चा न जुठो चोखो सबैका मुखमा
सडेका सिद्राभन्दा झन् गन्दा पृथकतावादीमा
पृथकतावादी देशमा बसे डलर बोकेर
देश डस्ने नारा लाउन थाले विषालु बनेर
धाक र धम्की लुकेर दिन्छन् डलरको मातले
सिर्जनाभन्दा ध्वस्तमा रम्ने पृथकतावादीले
पृथकतावादी पशुत्वभित्र सिर्जना भेटिन्न
पृथकतावादी धम्कीले हाम्रो इतिहास मेटिन्न
पृथकतावादी धम्कीले कहाँ विचार गल्छ र
कायरका धम्की मुर्दामा आशा समान होइन र
बाँदरको बानी विकास हुन्छ पृथकतावादीमा
भत्काउने बानी निकास हुन्छ पृथकतावादीमा
पृथकतावादी धुरीमा बसे भुइँमा तिनै छन्
सिमाना मिच्दा चुप लागि बस्ने पृथकतावादी हुन्
मनपरी भयो रोक्नलाई उठ सचेतहरूले
बेलामा आँखा खुलेन भने खाने छन तिनैले
डलरका कुरा धारिला छुरा देशलाई धसेका
माटोका माया मुटुमा छैन खानलाई बसेका
भोलिको मिठो सपना पनि नहोला विपना
आजको दिन मिठोमा भुले आखिर बिलौना
रगतमा खेल्ने मनपरी गर्ने पृथकतावादी हुन्
लोकतन्त्र लुगा अपराधी धन्दा यी देशघाती हुन्
छातीमा टेकी खानी र पानी जङ्गल खाइसके
हकको नाउँमा हरिन्छ गुराँस विदेशी आइसके
पृथकतावादी धम्की र धाक लुकेर नदेउ
मान्छे भई बाँच स्वतन्त्र हाँस पशुझैँ नजिउ
बेलामा सोच पहाड मधेश जाइलाग्न जाग है
पृथकतावादी देशमा पसे जेलमा हाल है
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १७ – Feb. 29, 2012 – २०६८ फागुन १७ गते, बुधबार)