~शशीकला थापा सुब्बा~
बुझ्न खोज्छु आफै सँग, मर्नु बच्नुको अन्तर मेरो/
सायद यंही नै हुनु पर्छ जीवनको मध्यान्तर मेरो//
तृप्त मनका दह हरू ,सुकेर त्रीष्ना भयो आज/
जे,जे थिए जो,जो थिए,सम्झना मात्र रह्रयो आज//
भए बितेका पलहरू ,नाछिचोलिने अनकन्टार मेरो/
सायद यंही नै हुनुपर्छ, जीवनको मध्यान्तर मेरो//
अन्जुलि भरीका सपना हरू, थोपा थोपा झरी रहेछन्/
उदाउने घामको लाली सँगै, मेरा दिनहरू मरी रहेछन्//
भित्र र बाहिरको साँधमा, नाघ्नै पर्ने संघार मेरो/
सायद यंही नै हुनुपर्छ, जीवनको मध्यान्तर मेरो//
भोलि घामको पर्खाइमा, रात बिताउनु बाकी नै छ/
आधी कहानी नलेखिएका, पानाहरु अरू थाती नै छ//
थाहा छैन तर्नु अझै, कति होला जंघार मेरो/
सायद यंही नै हुनु पर्छ, जीवनको मध्यान्तर मेरो//
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)