कथा : टेबल नम्बर ५

~आदिम केसी~

व्यस्त बजार । मानिसको घुँइचो । ठेलमठेल मानिस । कसैलाई कसैको वास्ता छैन । सन्ध्याको समयमा गुँडमा फर्किरहेका पन्छीझैं । आफ्ना सन्तानको मायाले गोठालोबाट घर फर्कदै गरेका चौपायाझैं । सबै सबै हतार–हतारमा देखिन्छन् । यहाँसम्म कि आफैसँग को हिडिरहेको छ भन्ने पनि पर्वाह छैन कसैलाई । कोही युगल पदयात्रीहरु पनि आफ्ना व्यस्तताका पाइलाहरु चालिरहेका छन् ।

मानौं, कोही सपिङबाट फर्किरहेका छन् त कोही दिनभरको डेटिङ सकेर गन्तव्य चाप्दैछन् भोलिको मीठो योजना बुन्दै । भोलि फेरि उनीहरु आफ्नो मायालाई सान्निध्यको डोरीले कस्न त्यही वा अर्को रमाइलो वातावरण तोक्दै दिनभरका मिठा पूर्वदीप्ती मस्तिष्कभरि कैद गरेर ।

आफूलाई मुना–मदन, लैला–मजनु, डब्लु. बि. इट्स–डेस्टिमोना आदि–आदि ठान्दै । फ्रायडवादको परिधिभित्र आफूलाई राख्दै ।

सडक भरिभराउ छ । मानिस, मोटरगाडी सबै सबैको भार सडकले थेगिरहेको छ । आज पनि उस्तै भारको प्रतिबिम्ब बनेर सडक ठिङ्ग उभिएको छ अनि थेगिरहेको छ सबैको दुःख, खुशी, हर्ष, पीडा, आक्रोश, आवेश, रोदन क्रन्दन । गरिबी भोगिरहेको छ । विलासितामा झुमिरहेको छ । अभावमा तड्पिएको छ । प्राप्तिमा हौसिएको छ । सबै–सबैको साझा बनेको छ सडक सधैं–सधैं ।

मेन रोडबाट अलि दायाँ मोडिएँ । सहिद गेटलाई पनि छलें । अनि पुगें अलि चौडा चोकमा । चोकबाट मोडिएँ दायाँ । न्यूरोडबाट दायाँ साँघुरो बाटोबाट भित्र छिरें । त्यही निम्तो थियो मलाई । सधैं उसलाई कुराउँथे मैले ढिला गएर । त्यसैले पनि यसपालि पहिला जाने निधो गरेको थिएँ ।

रोशनी ढल्दै थिइन् । सायद सन्ध्या नजिकिदै थिइन् । उषालाई त सबेरै छिचोलेको हुँ आज । निश्चित छ ऊ भोलि फेरि आउँछे, दिनहुँ भेट हुन्छ । कहिल्यै एकै साथ रहँदैनन् यिनीहरु– उषा, रोशनी सन्ध्या, चाँदनी, निशा । अचम्मको श्रृष्टि, सिर्जना । फगत एकले अर्कालाई आमन्त्रण गर्दछन् । तर रहँदैनन् साथसाथ कहिल्यै । तर म सबैलाई सधैं भेट्छु, सधैं रहन्छु यिनीहरुसँगै ।

जेहोस् अहिले समय सन्ध्याको पोल्टामा छ । सहरका अग्ला–अग्ला घरले पश्चिमको आकाशलाई छेकेको छ । परिणाम त सूर्यास्तका बेलामा पश्चिम आकाशको सुन्दर दृश्य हेर्नबाट वञ्चित भएको छु । धेरै भयो यस्तो सुन्दर दृश्य हेर्न पाएको छैन । प्रायः गाउँको मायाले मलाई नराम्ररी चिमोट्छ । गोठालोबाट फर्कदा सन्ध्यासँग हराएका थुप्रै यादगारहरु हृदयमा ताजा छन् अझैं । कहिले त साह्रै सताउँछ उसको यादले ।

एक दिन हामी गोठालोबाट फर्कदै थियौं । कोही अगाडि, कोही बीचमा थिए त म र ऊ चौपायाको पछाडि–पछाडि थियौं । दिनभरि चरेका चौपाया अरिला र भरिला थिए । गोठालो लैजाँदाको जस्तो भोकको छटपटी थिएन चौपायामा । जाँदा निकै हतारमा थिए । आउँदा त्यो हतार थिएन । अघाएका चौपाया आफ्नै तारमा थिए । परन्तु कुनै–कुनै चौपाया भने आफ्नो लाक्षी प्रवृत्ति देखाउन तल्लीन थिए । जसले समाजका खलपात्रहरुको प्रतिबिम्ब बिम्बित गराइरहेका थिए ।

हाम्रो गति बस्तुभाउको भन्दा पनि निकै कम भएको रहेछ । त्यतिबेला हामीलाई गोठालो गएको पनि महसुस थिएन । लाग्थ्यो, हामी प्रेमनगरको प्रेम मार्गमा लिप्त छौं, हराइरहेका छौं एक अर्कामा । मीठा–मीठा वार्तालापको महासागरमा हामी चुर्लुम्मै भएका थियौं । पुसको महिना थियो । साँझको चिसो सिरेटोको झोक्काले कडा स्पर्श गरेपछि मेरो प्रेम तन्द्रा बिथोलिएको थियो । मैले देखें ऊ मेरै आडमा थिई । उसको शरीरको भार मेरो शरीरले थेगिरहेको थियो । सायद ऊ अझैं तन्द्रामै थिई ।

‘सरु गाउँ आयो ।’ मैले उसको तन्द्रा बिथोल्ने प्रयास गरें ।

ऊ झस्किई । ‘मेरो रङ्गीन संसार किन भत्कायौ ?’ रिसाएको भावमा बोली अनि गुलाबी मुस्कान छरी । उसको मुस्कानले मेरा अवयव स्पर्श गरिरहेको आनन्दित महसुस भयो ।

सायद कल्पनामा तरङ्गित थिई क्यारे ।

उषा, रोशनी सन्ध्यासँग बिताएका यस्ता पलहरु यादगार बनेर बसेका छन् अझै पनि । आज मलाई यो निम्तोले फेरि अतीतको यादगारलाई ताजा बनाइदिएको छ । म रेष्टुराँमा छु । टेबल नं. ५ मा । आज उसलाई कुर्ने पालो परेको छ । म सधैं ढिला हुन्थें, आज चाँडो भएको छु ।

टेबल नं. ७ नजिकै ‘बार रुम’ छ । त्यहाँ कोही धुवाँमा जिन्दगी उडाइरहेका देखिन्छन् त कोही प्यालामा जिन्दगी डुबाइरहेका छन् । हेर्दा सभ्य र भलाद्मी । बोली बिल्कुल छाडा छ । लगाम बिनाको घोडाभन्दा पनि बढी, ब्रेकबिनाको गाडीभन्दा पनि बढी नियन्त्रण बाहिर । एकदमै बाहिर । सायद उनीहरुको लागि सबैभन्दा स्वर्णीम जिन्दगी हो यो । सम्भवतः योभन्दा पर स्वर्णीम संसार देख्दैनन् उनीहरु । यो नै जीवनको सार्थकता हो उनीहरुलाई ।

टेबल नं. ७ को बिल ‘पे’ गर्नेले ठूलै पुण्य कमाउँछ आज उनीहरुको आस्तिकतामा । त्यो बहादुर बन्नेछ उनीहरुको वीरतामा । यो नै उनीहरुको समाज सेवा हो ।

कति विलासी जीवन । खानका लागि मरेका छन् विलासी जीवन बिताउनेहरु । कति फरक छ जिन्दगी । एउटै सृष्टि, एउटै समय, एउटै परिवेश, एउटै धरातल सबै–सबै समान–समान । तर कति फरक छ जिउनु अनि जिन्दगी । विपरित रोदन छ अर्कोतिर । मर्नका लागि खाइरहेका छन् ।

फरक छ यहाँ कोही भोकका लागि खान्छन् कोही भोजनका लागि खान्छन् । अझ भनौं, कोही त शोखका लागि खान्छन् । कोही खानलाई बाँच्छन् यहाँ, कोही बाँच्नका लागि खान्छन् । यस्तै विरोधाभासमा छ समाज । कोही हुने खाने छन् त कोही हुँदा खाने छन् । यस्तै वर्गहरुको जमघट नै रहेछ समाज । कोही पाउनका लागि ईश्वर पुज्छन् त कोही गुमाउनका डरले पुज्छन् । जहाँ पुज्ने पनि ठगिएका छन् र पुजिने पनि ठगिएका छन् । कहीं धुँवामा उड्दै छ जिन्दगी, कहीं धुलोमा उड्दै छ जिन्दगी ।

म उसको पखाईमा छु । ऊ अझैं आएकी छैन । उसको प्रोजेक्टको लागि प्रपोजल तयार पार्नु छ । काम उसैको हो । सधैं म कुराउँथें । तर लाग्छ आज उसले चक्रिय मूलधन असुल्ने गरी नै मलाई कुराइरहेकी छे । रिसाउन पनि भएन ।

उसले खोजी दिएका यस्तै–यस्तै प्रपोजल लेखनका कामले त मेरो जीवनका अप्ठ्यारा खुड्किला काट्न मद्दत गरेका छन् । जीवनको गतिमा उसको सदाशयताको पनि केही हिस्सा छ । उसको आगमनको व्यग्र प्रतीक्षामा छु म । अनायसै मेरो दृष्टिको लेन्सले टेबल नं. ३ लाई ‘जूम’ गर्न थाल्यो ।

टेबल नं. ३ । जहाँ दुई दशक उमेर नपुगेका भर्खर डेढ दशक काटेका एक युगल जोडी छ । टेबलको दुबैतिर मेच राखिए पनि एउटा मेचले कुनै महत्व पाएको छैन । दुबै एउटै मेचमा एक अर्कामा टाँसिएर बसेका छन् । मानौं एउटा– प्राणीको शरीर हो र अर्को– जुका ।

दुबै लाजबाट निकै टाढा छन् । सायद उनीहरुलाई लाग्दै छ यहाँ अरु कोही छैनन् । मनको माया हो या नसाको माया पोख्दैछन् उनीहरु एक अर्काको शरीरमा । आँखा, निधार, गाला, नाक, चिउडो, ओठ, जिब्रो आदि आदि केही बाँकी रहेनन् । तिनीहरुको बेहोसीपन बिथोल्न होला वेटर बेला–बेला अर्डर स्लिप लिएर आउने गथ्र्यो । तर वेटरको आगमनले उनीहरुलाई कुनै असर गरेन । एकछिनमा वेटर कागज भरेर जान्थ्यो केहीबेर पछि वेटर प्लेट भरेर आउँथ्यो ।

टेबलमा पिजा, बर्गरका प्लेटले तिनीहरुलाई गिज्जाइरहेका छन् । प्लेटका सामग्री अलपत्र परेका छन् भतेर पछिका टपरीझैं । दुई वटा ग्लासमा भरिएको प्यालाले क्रमशः आयतन घटाइरहेका छन् । अर्को एउटा प्लेट मटन चिल्लीले सजिएको छ । त्यसले पनि आफ्नो तौल घटाइरहेको छ । लाग्छ, तिनीहरुको शरीर नसाले झमझमाउँदै छ । सायद बर्गर र पिजाका प्लेट बसाइको दैलो उघार्न आएका हुन् । कुनै सुरक्षा गार्डझैं तैनाथ छन् । प्रयोगमा आएका छैनन् । बिस्तारै टेबलमा यस्तै सुरक्षा गार्ड बढ्दै थिए । बिल्कुलै आधुनिकता । हाम्रो समाजले नपचाउने आधुनिकता तर बिस्तारै समाजमा फैलदै गरेको आधुनिकता । आधुनिकताको नाममा समाजमा विसङ्गति थप्दै गरेको आधुनिकता । कुनै परिपक्व पुरुषझैं ती ठिटाठिटी । मायाको नाममा भुल्दैछन् बाबु आमा, लक्ष्य अनि कर्तव्य ।

हामी अभिभावक पनि कति सतर्क छौं भन्ने कुरालाई यसले प्रष्ट्याइरहेको छ । छोराछोरीको यस्तो क्रियाकलापप्रति आँखा चिम्लदै जाने हाम्रो प्रवृत्ति बिस्तारै समस्या बनिरहेको छ । हामी पूर्वीय संस्कृतिको धरातलमा टेकेर पाश्चात्य संस्कृतिलाई काखी च्यापिरहेका छौं । र निर्माण गरिरहेका छौं ‘कक्टेल संस्कृति’ । अनि घस्रिरहेका छौं कक्टेल संस्कृतिको ह्याङ्ओभरमा ।

ऊ अझैं आएकी छैन । मेरा नयनले प्रायः टेबल चाहार्दै छन् । यतिबेलासम्म प्रायः टेबलहरु भरिन थालेका छन् । कतै युवा । कतै युवती । कतै पारिवारिक वातावरण छ । कतै प्रेमलिला छ । टेबलहरु धुँवाले धुमिल बन्दै जान थालेका छन् । प्यालाले झुम्दैै पनि । म गम्दै छु । यो सहर हो । यो सहरी संस्कृति हो । यहाँ यसरी नै बाँच्नुपर्दो रहेछ । बाँच्न जान्नु पर्दोरहेछ । यो नै यहाँको सभ्यता रहेछ । यसलाई आत्मसात नगर्नेहरु पाखे बनाइदा रहेछन् यहाँ । जहाँ धर्म, कर्म, सभ्यता, मानवता सबै–सबै पर्दापछाडि नै हुन्छन् । उसको प्रतीक्षालाई सहज बनाउन टेबलमा राखिएको कफीले आधासम्म घट्ने अवसर पाएछ । बाँकी आधा त्यसै अलपत्र परेछ । म गमिरहेकै थिए ।

‘सरी ढिला भयो’ भन्ने उसको आवाजले म झल्याँस्स भएँ । म टेबल नं. ५ बाटै सबै टेबलको दृश्य कैद गर्दै थिएँ उसको आगमनसम्म ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.