~प्रकाश सुनुवार ‘निराकार’~
तेलखानी विनाको नेपाल
आज इराक हुनुपरेन
वारुदको तुवाँलो भित्र रुमलिनु परेन
हिटलरी दमन भन्दा दर्दमुलक
भयँकर अमेरिकी सेनाको
पदचापद्धारा कुल्चिनु परेन
तर
साम्राज्यवादीका कमाराहरु
ठमेलमा
मिनी टोकियो वनाउँदैछन्
मिनी मेक्सीकोको विस्तार गर्दैछन्
मिनी भियतनाम पस्कँदैछन्
अप्mगानिस्तानहरु रोप्दैछन्
कश्मीरमा छिरेका विरालाहरुलाई दुध चटाउँदैछन्
विहार स्पर्श गराउँदैछन्
तसलीमाहरुमाथि पटक पटक वलात्कारका प्रयासहरु गर्दैछन्
आङसाङ सुचिहरुलाई अझ जन्जीरले कस्दैछन्
अनुराधाहरुलाई व्यस्त वनाइरहेछन्
अनि
मोफसलमा
रवाण्डा
नाइजेरिया
सेरालियोन
सोमालिया
वोस्नीयाहरु
हाइटिहरुको
वृतचित्र स्मरण गराउँदै
क्युवीयन बाश्पीकरणको भ्रमित समिकरण
मष्तिस्कमा पालेर
मिजुरम
गोरखालेण्ड
तामील
खम्पा
मृगतृष्णाहरु विउँताइरहेछन् ।
धन्न,
तेलखानी विनाको नेपालले
जर्जवुसहरु खेप्नुपरेन
सद्दामहरु जन्मीनु परेन
तर के भो र ?
ठमेलहरु
इराकै नभएपनि
धार्मिक त्रिशुलहरुद्धारा डामिएकै छन्
जरजरतालाई सहिनै रहेका छन्
तानशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छन्
शोषितहरु माथि पिडाहरुको धारावाहिक प्रवाह गर्न सफल भएकै छन्
साँच्चै नै नेपाल अहिले
तेलखानी भएको मुलुक जस्तै नै देखिन थालेको छ
वर्लिनका पर्खालहरु पुनः उठाउन खोजे झै देखिन थालेको छ
संग्संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छन् ।
(१ डिसेम्वर २००८, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)