~उमाशङ्कर द्विवेदी~
ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्यो ।
आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ । तिमीले के खाने पिउने गरेका छौ ?
शिष्यले भन्यो–गुरुज्यू, म भिक्षा मागेर खान्छु ।
आचार्यले भने–बाबू, मलाई भिक्षामा पाएको अन्न निवेदन नगरेर तिमीले खानु उचित भएन, अबदेखि भिक्षाको अन्न न खानू । उसले आचार्यको आज्ञा पालन गर्यो । अब उसले मागेको भिक्षाको अन्न ल्याएर गुरुलाई निवेदन गरिदियो तथा गुरुले त्यसलाई भण्डारमा थन्क्याइदिए । ऊ फेरि दिउँसभरि गाई चराएर आश्रममा फर्किन्थ्यो तथा गुरुलाई नमस्कार गर्दथ्यो ।
एक दिन गुरुले फेरि सोधे–बाबू, तिमीले मागेर ल्याएको भिक्षान्न म लिएर राखिदिन्छु । यस्तो स्थितिमा अब तिमीले के खाने गरेका छौ ?
शिष्यले भन्यो–गुरुज्यू, अचेल मैले पहिले मागेको भिक्षान्न हजुरलाई दिएर फेरि भिक्षा मागी आफ्नो जीविका चलाउँछु ।
आचार्यले भने–यो त ठीक भएन बाबू, यस प्रकार तिमी अन्य भिक्षार्थीहरूको जीविकामा बाधा पुर्याउँदै छौ तथा यसले तिमी लोभी छौ भन्ने कुरा सिद्ध हुन आउँछ । अत: भविष्यमा यस्तो नगर्नू । शिष्यले गुरुको आज्ञा शिरोपर गरेर फेरि गाई चराउन वनतिर लाग्यो । बेलुकीपख आश्रममा फर्केर शिष्यले गुरुलाई नमस्कार गर्यो । आचार्यले सोधे–बाबू, तिमीले मागेर ल्याउने गरेको भिक्षान्न म लिइहाल्छु । तिमीले दोस्रोपटक भिक्षा लिंदैनौ, र पनि तिमी पूर्ववत् मोटोघाटो देखिइरहेका छौ । अचेल तिमीले के खाने गरेका छौ ?
उपमन्युले भन्यो–गुरुज्यू, अचेल म गाईको दूध खाएर जीवन निर्वाह गरिरहेको छु ।
गुरुले भने–बाबू, मेरो अनुमतिबिना गाईको दूध खानु उचित भएन । भविष्यमा यस्तो नगर्नू । शिष्यले गुरुको आज्ञा शिरोपर गरेर फेरि गाई चराएर बेलुकीपख आश्रम फर्केर गुरुलाई नमस्कार गर्यो ।
आचार्यले सोधे–बाबू, मैले मनाही गरेको कारण तिमी अचेल भिक्षा माग्दैनौ, दूध पनि खादैनौ अनि के खान्छौ त ?
उपमन्युले भन्यो–गुरुज्यू, अचेल म बाच्छाबाच्छीले गाईको थुनबाट दूध पिउने बेलामा काढेको फिंज खाएर गुज्रान गर्ने गरेको छु ।
आचार्यले भने–राम राम, यी दयालु बाच्छाबाच्छीहरूले तिमीमाथि कृपा गरेर बढी फिंज काढ्दा होलान्, तिमीले यस प्रकार उनीहरूको जीविकामा ठूलो व्यवधान पारिरहेका छौ । तिमीले त्यस्तो फिंज पनि खानु उचित हुँदैन । उसले गुरुको आज्ञा शिरोपर गर्यो ।
अब खानेपिउने जम्मै ढोका थुनिए पछि ऊ केही पनि खान नपाएर भोकप्यासले व्याकुल भई एक दिन आकको पात टिपेर खायो । ती तीता, टर्रा र तीखो तथा पाचन भएपछि तीक्ष्ण रस उत्पन्न गराउने पात खाएर उसले आँखाको ज्योति गुमायो । यस प्रकारले अन्धो भई ऊ वनमा भौतारिइरहँदा एउटा कुवामा खस्यो । सूर्यास्त भयो, तर उपमन्यु आश्रममा फर्कि नआएको देखेर गुरुले अन्य शिष्यहरूसित सोधे–उपमन्यु आज अहिलेसम्म किन फर्किआएन ?
शिष्यहरूले जवाफ दिए–ऊ त गाई चराउन गएको होइन र ?
आचार्यले भने–मैले उसको खानेपिउने जम्मै ढोकाहरू थुनिदिएको हुनाले रिसाएर ऊ फर्कि नआएको हो कि ? ल हिंड् उसलाई खोज्न जाउँ । वनमा आचार्यले ठूलो स्वरमा कराएर सोधे–बाबू, उपमन्यु तिमी कहाँ छौ ?
गुरुको आवाज सुनेर उपमन्युले भन्यो–गुरुज्यू, म अन्धो भएर कुवामा खसेको छु ।
आचार्यले सोधे–तिमी अन्धो कसरी खस्यौ बाबू ?
उपमन्युले भन्यो–म आकको पात खाएर अन्धो भई यस कुवामा खस्न पुगे ।
आचार्यले भने–तिमी अश्विनी कुमारहरूको स्तुति गर । गुरुको आज्ञा अनुसार उपमन्युले वेदका ऋचाहरूका साथ अश्विनीकुमारहरूको स्तुति गर्यो । उपमन्युको स्तुतिले प्रसन्न भई अश्विनीकुमारहरू प्रकट भएर उपमन्युलाई मालपुवा खान दिए तर उपमन्युले गुरुलाई निवेदन नगरी मालपुवा खान मानेन । उपमन्युको यस प्रकारको गुरुभक्तिले प्रसन्न भई अश्विनीकुमारहरूले उपमन्युलाइ वर दिए–तिम्रो दाँत सुनको हुनेछ, तिम्रो आँखाको ज्योति फर्कने छ तथा तिम्रो कल्याण हुनेछ । अश्विनीकुमारहरूबाट वर पाएर गुरुआश्रम आई उपमन्युले जम्मै कुराको बेलीविस्तार गुरुलाई सुनायो । उसको कुरा सुनेर गुरु अत्यन्त प्रसन्न भएर–जम्मै वेद र शास्त्रका ज्ञानहरू तिम्रो मस्तिष्कमा आफै स्फुरित भइहाल्नेछन् भन्ने थप वर दिए ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)