कविता : स्वाभिमान

~लक्षीराम आचार्य “अविरल”~

रणमैदानमै डुबुल्की मार तिमी
हजारौं मोर्चा लड,
अनि हजारौं हारका बिचमै
सुनौलो जीतको संसार खोज
त्यही सपना सहितको रमणिय
वगैचाको यात्रा रोज
डुल्दाडुल्दै वगैचामा तिमीलाई
असंख्य काँडा विझ्लान्
कुहिएका पतझरमाथि पनि
पाइला राख्नुपर्दा
जिरिड्ड, जिरिड्ड होला
नहडबडाउनु तिमी,
बरू रातो हाते रूमालको सहयोग माग्नु
ति ओईलाउन आँटेका बाह्रमासे
थुंगाहरूलाई कदापि नविर्सिनु
उकेरा लगाई मल र जल पान गराईरहनु
अनि फक्रिन तम्सिएका कोपिलाको
भावनामा रमिदिनु
निरास नहुनु कहिल्यै, ति
चसक्क विझ्ने प्राणविहिन काँडाहरूदेखि
बरू शितल र साहारा माग्नु
नकुहिएका नौजवान सतिसालसँग
अनि, भलाकुसारी मै रम्नु
ति फूल भमरा र मालीहरूसँग
जहाँ अन्योन्याश्रित सम्बन्ध लुकेको हुन्छ
जसले अजर बास्ना र सौन्दर्यताका
अगाडि सारा डङडङतीका रासहरूको
शिर सदैव झुकेको हुन्छ
सिनोलाई समेत नछोड्ने
वधशालाका कसाईहरू,
गिद्दको आहार पनि आफ्नै
पोल्टामा राख्न खोज्दैछन्
अनि हिमालका डाँफे र
कस्तुरीका त के कुरा
पहाडका जंगे अव्वल दिवालहरूलाई
समेत उछिन्दै घोरल र कालीजको समेत
भुत्ला उखल्ने कुचेष्टा गर्दै
हिडिंरहेका छन्
तराईका समथरमा हरिण र गैडालाई त
झनैै बक्रदृष्टि भित्रै
कैद गरी दिउँसै निदाउ भनिरहेका छन्
देशी, विदेशी करतुतहरू
त्यसैले त सचेत वनौ,
हिमाल पहाड र तराईको स्वाभिमान
जगेर्ना गर्न, अनि चनाखो बनौं
बरू कम्मरमै खुकुरी बोकी बलभद्र झैं
नयाँ नालापानीको सृष्टी गरौं
नालापानी हुदै कालापानी पनि हाम्रो हो
अपहरण मुक्त गरौं
टिष्टा, सुस्ता अनि लालबोझी र प्याराताललाई
खोजी गरौं अव,
आफ्नै आमालाई पिजडामा थुन्नेहरूको
वधशालाको आशामा र्याल काढेर वसेका
गिद्ध र फ्याउराहरूको
आसे जिब्रो थुतेर फ्याकिदिऊ,
वरू, वहादुर पगरीको रक्षार्थ
तुच्छ जीवनको वलिदानी
दिनु परे पनि नहिचकिचाई
राष्ट्रिय मुक्ति संग्राममा
समर्पित वनौं
जोगाऔं अखन्डता र स्वाभिमानलाई

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २२ – April 4, 2012 – २०६८ चैत्र २२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.