~मनोज न्यौपाने~
रातमा पनि फुलिरहेछ गुलाफको फूल
चँद्रमालाई हेरिरहेछ गुलाफको फूल
रिसाएकी प्रेमिकालाई फकाउनलाई कोही
छानीछानी चुँडिरहेछ गुलाफको फूल
मर्ने विचार त्याग्यो उसले गुलाफ देखेपछि
बाँच्ने प्रेरणा दिएरहेछ गुलाफको फूल
तिम्रो पो वर्षातबाट जोगिनलाई घर छ
यो वर्षातमा रुझिरहेछ गुलाफको फूल
दुनियाँलाई खाँचो छ हरदम सुवासको
र त अनिंदो बसिरहेछ गुलाफको फूल
काँडा भन्छ, मेरो घोच्ने स्वभाव भएर नै
सबको प्यारो बनिरहेछ गुलाफको फूल
बगैंचाको भुइँमा हेरेपछि थाहा पाएँ
ओइलिनु ‘पनि’ रहेछ गुलाफको फूल