कविता : नाङ्गो मान्छेको आत्मकथा

~प्रमोद स्नेही~

नाङ्गो मान्छेहरूको शहरमा
स्वयं लाजले आत्महत्या गर्यो ।
कपडाहरू दन्त्यकथाहरूमा
परिभाषित भए ।
केही मान्छेहरू राम्रा
र महँगा कपडाहरू
लाएर पनि
सर्वाङ्ग नाङ्गो छन् ।
उनीहरू नाङ्गिइसके
अब लुगाहरूले उनीहरूको
लाज कदापि छोप्दैन ।
फगत
भ्रम छ उनीहरूमा
लुगा लगाएर लाज
छोपिएको छ भन्ने
तर यथार्थमा उनीहरू
नाङ्गो छन्
सर्वाङ्ग नाङ्गो
तर केही मान्छेहरू भने
नाङ्गो छन् ।
आदिम प्राचीन युगका
जङ्गली मान्छेहरू झैँ
तर उनीहरूको लाज
छोपिएको छ, ढाकिएको छ ।
सर्वाङ्ग नाङ्गो भएर पनि
लुगाविहीन भएर पनि
उनीहरू नाङ्गो छैनन् ।
लाज स्वयं यी नाङ्गो
मान्छेहरूको रक्षार्थ
पहरा दिइरहेछ ।
कतै
कपडाहरू लाएर पनि
नाङ्गा बनेका मान्छेहरूले
नाङ्गा भएर पनि
नाङ्गा नदेखिएका मान्छेहरूको विरोधमा
कतै आगो भएर
कतै बहस त गरिरहेका छैनन् ?

– प्रमोद स्नेही श्रेष्ठ
अर्खौले – ५ खोटाङ्

(स्रोत : हिमाल खबर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.