~लक्षीराम आचार्य “अविरल”~
गुफाभित्रबाट
फ्याउ फ्याउ ओकल्दै
पुकारि ंदैछ यहाँ
निस्पट्ट कालरात्रीमा
ब्वाँसाहरुको लोकतन्त्र
विहानीको सपनामा
छेदक लगाउँदै अन्धकारमै
सिंगारिदै छ यहाँ लोकतन्त्र
टाढा टाढा हेर्न सक्ने
नयनमाथि जवरजस्त
चस्मा भिराई
उज्यालोमा पनि
अभिनय गराउने
क्रिडास्थलमा
धकेलिंदैछ यहाँ लोकतन्त्र
त्यसैले त खोजी गरौं
लोकतन्त्रको जननी को हुन ?
गुफाभित्रैबाटै रोदन ओकल्नेहरु
वा घनघोर बाह्र वनबाट
जग्गर फुलाई ठाडो शिरसँग
छाती चाडौं बनाई
गजगजको फाड्ड सार्दै
हिंड्ने सिंहराजहरु ?
जगजाहेर छ यहाँ,
सिंहराज बरु निरहारतामै रम्छ
सस्तो जाबो देहलाई
हरियो घाँसको भिख माग्नु भन्दा
आफ्नो जन्मजात चिनारीका लागि
अन्तिम हुँकार छोड्न
सदा सर्वदा तत्पर रहन्छ
हिसाब गरौं अब
जाबो एउटा चोला थाम्न
गिद्धहरुलाई उछिन्दै
सिनो लुछ्ने कायर फ्याउराहरुको
आयु र मूल्य कति ?
एक छाक बन्चित हुनुपर्दा
तड्पीतड्पी हस्याङ् फस्याङ्गर्दै
हरियो घाँससम्म नछोड्ने
ती बेनामी लठैत व्वाँसाहरुको
धड्डधड्डी र परिचयका दिन कति ?
त्यसैले यो सचेतनाको युगमा
जोड घटाउ र भागा मात्रै हैन
यहाँ त हिसाबको योगफल दाँज्न
गुणनको पनि खाँचो छ
जोड र घटाऊलाई मात्रै
गणितको जननी ठान्नेहरु
सय अनि ज्ञ र जेटबाट
अक्षर चिनारीको शुरुवात गराउन
खोज्ने उल्लुहरु
न त तिमी गुरु नै हुनेछौ
न कुशल शिष्य नै
बरु त्यो भन्दा त
आफ्नो बेनामीतालाई नढाक
बरु परिचय खोल्दै जाऊ
भ्रममा नपार ती,
कलिला मुना, कोपिला र फर्केका
सुगन्धित फूलहरुलाई
नरमाऊ तिमी क्षणभरी
अरुलाई चिर्थोदै सिंहासन पाए भनी
वातावरण दुर्गन्धित पार्दै
नओकल बरु
सिनो जति खाएपनि
धीत मरुन्जेल खाऊ आजै
किनकि इतिहासले
हुस्सु शिक्षकलाई
पढाउने शिष्य पैदा गर्दैछ
निष्पटताबाट परिचय
दिन खोज्ने फ्याउराहरुकाबीचमा लोकतन्त्र नछोडी
बरु सिंहराज कै हातबाट सिंगार्दै
समुन्नत अग्रगामी इतिहास बोकेको
भासु र कृष्णभीरको अब्बल
चट्टान बीचबाटै
निर्मित साझा यातायात कुद्न पाउने
पहाड, तराई अनि हिमाललाई
अंगाल्दै अग्रगमनका
सुस्केरा, मादल, खैजरी र झ्यालीबाट
गुन्जमानतामा
मारुनी र सोरठी बनी,
ढल्की ढल्की नाँच्न पाउने सुपरिचित
अमूल्य निधी बोकेको चौतारी
प्यारो हाम्रँे लोकतन्त्र ।
–२०६७÷१२÷२९ अतरिया, कैलाली
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १० – Jan. 11, 2012 – २०६८ पौष २७ गते, बुधबार)