~लक्षीराम आचार्य~
एउटा क्रान्ति नदी
बग्छ सदा सर्वदा
हिमालको काखदेखि
पुग्छ पहाड कन्दरा
भेट्छ यात्राबीच
असंख्य सहयात्री लटरम्म
निरन्तर पुग्छ उसको यात्रा
तराईका फाँटसम्म
झल्को दिंदै जान्छ ऊ
क्रान्तिका सुस्केरा र गीतहरूको
हुँकार गर्दै हिंड्छ गड्याङगुडुङ संगीतको
कठिनाई झेल्दै जान्छ ऊ
अन्कण्टार उकाली ओराली पथहरूको
परिकल्पना गर्दै बग्छ ऊ
सम्पूर्ण तह र तप्काहरूको
प्रतिक्षा गर्दै हिंड्छ ऊ
अहोरात्र निस्वार्थी थोप्पाहरूको
निरन्तर उसको यात्रामा
कहिल्यै जन्ति बढ्छ त
कहिल्यै मलामी पाइँदैन
तर पनि ऊ
आफ्नो अविचल यात्रालाई
हर्ष र विस्मातको पुञ्ज बुझ्छ
झन्, समुद्र र मरभूमिको
कठोर कल्पना गर्छ
आफ्नो गतिलाई बेग मार्दै
सेताम्मै नदी, रक्त क्रान्तिको
सुस्केरा हाली रहन्छ
परिवर्तन र मुक्तिको
विगुल फुकिरहन्छ
आफ्नो विगतदेखि
वर्तमानसम्मका सहयात्रीहरूका बीच ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४५ – 19 Oct. 2011 – २०६८ कार्तिक २ गते, बुधबार)