~राहुल पुन~
शायद,
तिमीलाई लाग्दो हो
कतै हराए जस्तै
कही लुके जस्तै
पक्कै तिमी सोच्दा हौं
यतै विलिन भए जस्तै
अन्तैतिर भागेजस्तै
तर, तिमीलाई लागेजस्तो
तिमीले सोचेजस्तो
म अवस्य छैन
यो मेरो घमन्ड होइन,
किनकि,
मेरो आफ्नै बाध्यता छ
विवशता छ
र पनि
कहाँ भुल्न सक्छु तिमीलाई ?
तिमी मेरो जीवन हौंं
मेरो प्राण जस्तै हौं तिमी
तिमी विना जिउनुको के अर्थ ?
त्यसैले त
बारम्बार नियालिरहन्छु तिमीलाई
सोधिरहन्छु तिम्रो हालखबर
सोचिरहन्छु तिम्रोबारे ¤
अपशोच ¤ आज
न टाढा जान सक्छु
न नजिक रहन सक्छु
न अघि बढ्न सक्छु
न नजिक रहन सक्छु
न पछि हट्न चाहन्छु
थाहा छैन
आगामी पाइला कसरी बढ्छ ?
न तिमीलाई छोड्न सक्छु,
न परिवारको माया
आफ्ना इच्छा र चाहनाहरू
निर्मूल पार्न सक्छ
तिमीबाट टाढा रहु
जीवनको कुनै अर्थ छैन
तिमी सँगै रहुँ
त्यो पनि सम्भव भैरहेको छैन
यहाँको पूंजीवादी परिवेश
निम्नस्तरको चिन्तन
पिछडिएको चेतना
निम्न पूंजीवादी सोंच
लाग्छ दोसाधमा छु
तैपनि शाहस गर्छु
हिम्मत गरेर भन्छु
बगेर सागर पुग्ने
तिम्रो त्यो महान यात्रामा
कसैले अवरोध गर्न खोजे
सुनामी छाल बनेर
निरन्तर बगिरहने
तिम्रा ती कदमहरूमा
तिमीलाई हिलाम्य पार्ने
आफैभित्रका लुलाहरूलाई
पाखा लगाउँदै बढेका ती पाइलाहरूमा
काँधमा काँध मिलाउँदै
हातेमालो गर्दै
म पनि पछिपछि आउनेछु
तिमी अघि बढ्दै जाऊ
आफ्नो बाटो नबिराइकन
उद्देश्य नभुलिकन, नथाकिकन
अनि नआत्तिकन
अन्तिम जीतसम्म चलिरहने
तिम्रो त्यो महान यात्रामा
एक सहयात्री बनेर
पछिपछि पनि अवश्य आउनेछु
एक स्थायी यात्री बन्न नसके पनि
एउटा सहयात्री बनेर
हो, म त्यही आउने छु
अवश्य आउने छु ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४३ – Sep. 21, 2011-२०६८ असोज ४ गते, बुधबार)