कथा : खुशमान थारु

~नवीन विभास~

न भत्कन सकेको, न सप्रन सकेको एउटा छाप्रो । नुन बोक्न हिडेका हटारु अभरमा बस्ने ‘हाट’को बासजस्तो ।

जिन्दगी कमैयामै बिताए उनले । कति वर्ष ? उनीसँग हिसाबकिताब छैन । आफू कमैया बसेका जिम्दारका नाउँसमेत सम्झना छैन । जति जिम्दार फेरिए, उति फेरिएका उनका नाउँको पनि सम्झना छैन । न उनको आफ्नै नाउँ छ, न गाउँ छ, न उनको देश छ । न आफ्नो भन्नलायक बाँकी छ, कुनै रहर आफ्नो ।

उनको सबैभन्दा पछिल्लो नाउँ हो– पटवारी1को मन्ला2 ।

नेपालमा राजनीतिक व्यवस्था फेरिए । उनकै आँखामा राणा गयो । पञ्चायत गयो । बहुदल गयो । फेरि आयो । घरीघरी सम्झन्छन्, कुनैबेला बडाहाकिम आउँथे । कहिले घोडामा, कहिले डोलीमा । कुनैबेला पटवारी आउँथे । कुनै बेला प्रधान । आउँथे कुनैबेला अध्यक्ष । उनका आफन्त कोही आएनन् । राजनीतिक व्यवस्था फेरिए पनि उनको जीवनको व्यवस्था फेरिएन । परिवर्तन यत्ति भयो कि उनी अहिले साँच्ची बूढा भए । काममा खट्न सक्तैनन् ।

श्रीमती हिडेको पनि तेह्र वर्ष पुगेछ ।

जुन व्यवस्था आए पनि उनका छोरा जन्मे । छोरी जन्मे । नाति÷नातिना अनि पनाति÷पनातिना जन्मे । छोराजति कमैया भए छोरीजति कम्लरी3 ।

‘कहाँ होलान् ती अचेल ?’

खलिहानमा परालको भुप्रोबाट निकालेको कौरा4 मुखमा हाले । र, बूढाले गम खाए ।

***
‘बुडू5 !’

लावा उठेर फुट्रुक्क फुट्रुक्क उफ्रिरहेका कौरा चलाउँदै ससाना भुराभुरीले बूढालाई कौरा दिइरहेछन्, ‘बुडू ! का मीठ लागी ?’

बूढाले कानको सिरानीमा पुगेका घँडाका चेपबाट टाउको घुमाए । ख्वाप्पैभित्र पसेका आँखाले मुश्किलले नियाले । र, भने, ‘एक ठो डेऊ !’

बूढाले मुखमा ख्वाप्प हाले । कौरालाई गिजाले चपाउन थालेपछि भुराभुरी हाँस्न थाले ।

खलिहानमा धान दाउनेले गोरु हक्काएको ‘हा हा हे हे’ आवाज झरिरहेछ । अन्ध्यारैमा थालिएको आवाज क्रमशः टाँठिदैछ ।

बूढाले हुस्सुको किनारैकिनार आएको आवाजतिर नजर डुलाए । एकाएक उनका आँखामा उभिए ११ जना आफन्त । राङा ढालिएजसरी ढालिएका क्षतबिक्षत तिनका अनुहार । धान दाउँदा–दाउँदै रगतमा मुछिएको धान र पराल ।

जहिले नि अहिल्यैजस्तो लाग्छ उनलाई २०५८ मंसिर १३ गतेको घटना । ११ गतेदेखि थालिएको थियो मुलुकमा संकटकाल । यै खलिहानमा उनका छोराभतिजा सोत्तर पारिएका थिए ।

सम्झना छ– त्यतिखेर तिक्कुर6को हल्ला थियो । जिम्दारले अधिया7मै अल्झाउन चाहन्थे । शाही सेनाले धान दाइरहेका ती अबोध ११ जना थारूलाई एकै घान पारेको थियो ।

‘चार वर्ष पुगेछ,’ औला भाँचे, ‘आज १३ मंसिर २०६४ ।’ उही खलिहानमा छन् उनी ससाना भुरासँग । हुस्सुले बर्गद्दी छोपिएको छ । कौरा पोल्ने परालको धुँवा मिसिदा हुस्सु झन बाक्लिएको छ ।

जाँगर नलाई नलाई बूढाले पराले भुप्रोमा मकैका दाना घुसारे । केही क्षणपछि लावा उठ्न थालेको संकेतस्वरूप पाटकपोटक आवाज आउन थाल्यो । लावा उठेका मकैका दाना मुखमा हाल्न थाले ।

तर उनको घाँटीबाट छिरेन । बूढाको मन अमिलियो । एक मनले भन्यो, ‘किन आयो धान दाउने याम ?’ अर्को मनले जबर्जस्त प्रतिकार ग¥यो, ‘खलिहानमा दाउने याम नआए के खाएर बाँच्ने ?’

एकछिन उभिए । फेरि थचक्क बसे । टोपी छामे । हुस्सुमा अल्झिएको शीतले लछप्पै भिजेछ । हेरे– परालको भुप्रोलाई भुराभुरीले घेरेका छन् ।

सम्झिए उनले आफ्नो बालापन । त्यसपछि जुँगाको रेखी पलाएको याम । एकाएक रोकिए जुन याममा उनको माया र सपना पनि बुह्रान खेदिएको थियो । उनको माया र सपना कहिल्यै फर्किएन । कहाँ छ ? थाहा छैन । सम्झने मन त छैन । तर नमान्दोरहेछ मनले । त्यसैले उनको गुनासो छ आफ्नै मनसँग ।
२०१६ देखि थालिएको थियो दाङबाट थारू बुह्रान खेद्ने याम ।

बुह्रान खेदिने आफन्तका लामो न लामो लर्को फेरि लाग्यो उनको आँखामा । ती रातारात खेदिएका थिए । जायजेथा र थातीथलो छोडाइएका थिए । गाउँ नै रित्तिएका थिए । जंगलै–जंगल उनीहरू लखेटिएका थिए ।

उमेरले चिम्सिएका आँखा चिमचिम पारे । लर्को झन् छुट्यो खेदिएका आफ्ना प्रियजनका अनुहार । सपना रोपेर गुल्जार बनाएका थलो छोडाइएर आफ्ना केही थान परेवा, बाबियोका मुठा, केही थान भेडा, केही थान गाई धपाउँदै, फर्कि हेर्दै बाटो लागेका आफन्त । उनका पूर्खाले दाङका फाँट गुल्जार बनाएका थिए । बसाएका थिए, औलो फल्ने जंगल फाँडेर सुन्दर बस्ती ।

आँखाभरि लर्को छुटिरह्यो– मन यतै छाडेर तन मात्र बोकेर बुह्रान खेदिएका आफन्त ।

‘कहाँ जाने ?’

थाहा थिएन ।

तर भन्थे, ‘बुह्रान ।’

‘कहाँ हो बुह्रान ?’

थाहा थिएन जानेलाई पनि ।

खेदिए ।

बाटो लागे ।

‘जाँ लैजाला कर्मले उईसम्म,’ बस् रोल्पाको लोकगीतजस्तै, ‘जाँ लैजाला कर्मले उई हो मेरो घर ।’

कहाँ थियो त्यो बुह्रान ?

जहाँ पुगे त्यही बुरान ।

त्यो बाँके हुन सक्थ्यो । बर्दिया पनि हुन सक्थ्यो, त्यो बुह्रान कैलाली–कञ्चनपुर पनि हुन सक्थ्यो ।

जिम्दारको सास्तीजस्तै भयानक थियो जंगली जनावरको सास्ती । पाइलापाइलामा बिच्छी र बाघसँग लुकामारी खेल्दै पुगे बुह्रान ।

सम्झेर बूढा फेरि हलाक् परे– कति भोकले मरे ? कति खायो बाघले ? कति मा¥यो बिच्छीले ? कति खायो हैजाले ? र, कति पुगे बुह्रान ?

हिसाबकिताब न खोजे उहिले, न खोजे अहिले ।

घरीघरी मन बिथोल्ने तिनै खेदिएका लाममा देखिइन्, उनकी प्रेमिका । उनी झन् झस्किए । उनीसँगै सति गएको थियो उनको प्रेम र सपना पनि ।

सम्झेर आँखा चिमचिम पारे र आफैलाई सोधे, ‘कतिका रहर, सपना र प्रेम खेदिए होलान् हँ मेरोजस्तै ?’

साराका सारा आफन्त खेदिएपछि, माया पनि लखेटिएपछि बचेकाका मन बसेन । बिरक्त भए उनीहरू । कहाँ राख्नु मन ?

उनलाई झस्काउन आउन थालिन् खेदिएकी आफ्नी प्रेमिकाले । उसो त उनी पनि त्यसैबेला जान त चाहन्थे आफ्ना दाजुभाइसँगै बुह्रान । तर जान पाएनन् ।

जति बचाइएका थिए ती जिम्दारको कामका लागि थिए । जिम्दारले दिनरात जोत्न थाल्यो । बचेको सास अल्झाउनलाई भए पनि विरक्तिएर उडेको बुह्रान जाने मन झन् उड्यो । रातारात बाटो काट्न भागे । कति फुत्किए । कति समातिए ।

रातारात भागेथे यी बूढा पनि । उनीसँगै धेरैलाई बागरबाट फर्काइयो । थालनीमा जबर्जस्त खेदिए । तर बचेका मनखुशीले बुह्रान जान पाएनन् । फर्काइए । फर्काएपछि उनीहरूलाई सुँगुरको खोरमा हुलियो । काठले पेलियो । गोरूजस्तै नारियो । चरम यातना दिइयो । बाँधियो । अंगभंग गरियो ।

जुरुक्क उठ्न खोजे । तर सकेनन् । खोच्याउँदै हिंडे । खोच्याउँदै दुईचार पाइला फाले । त्यसैबेला भाँचिएको थियो उनको बायाँ खुट्टा । हिंड्दाहिंड्दै बाटो छेके उनलाई तिनै यादले– उनकै आँखा अगाडि उनका जवान बहिनीलाई जिम्दारले लुटेको । श्रीमान्कै आँखाअगाडि जिम्दारले थारूका श्रीमतीलाई लुटेको । बिहेको पहिलो रात बौनाडकहाँ पठाएका ।

क्रूर क्षण आँखामा फेरि उभिएपछि मनसँगै उनको तन पनि काँप्न थाल्यो ।

थचक्क बसे ।

तिनलाई भुल्न खोजे । सन्दर्भ फेर्न खोजे । तर फेरि आँखामा अल्झिए खलिहानमै लास पारिएका तन्नेरीका अनुहार ।

‘ती सबै ‘जिम्दार’का थिए’, रेडियोले, टिभीले, पत्रिकाले त्यसबेला भनेको सम्झेर मनमनै खण्डन गरे, ‘न ती धान लुट्न आएका थिए, न माओवादी थिए । ती त आफैले फलाएका धान दाउँदैथिए ।’

***

‘बुडू !’

घरी हुस्सु फाट्छ घरी फेरि डम्म ढाक्छ । घरीघरी देखिन्छन् खलिहान छेउमा उभिएका जिम्दारका सेता घर । केही पर खेतमा पहेलपुर फुलेका तोरी बारी ।

‘यी ठाउँ !’ बूढा अस्पटमा परे । होइनजस्तो न होजस्तो लाग्यो ।

सम्झन कोशिस गरे– यहीनेर सालका बुटा ढालेको, झाडी फाँडेको र बस्ती बसाएको । यी साराका सारा होइनजस्तो लाग्यो ।

उनको आँखामा त्यसबेलाको किर्मिर भइसकेको पुरानो रिल प्ले भयो– खेतैखेत । आठ दस हल गोरुले जोतिरहेका । साठी सत्तरी जनाको परिवार । भात पकाउने ठूलो भाँडो । आफ्नै खेत । आफ्नो पौरखका आफै मालिक । न जिम्दार न कमैया ।

‘हेर्दाहेर्दै के भयो,’ सपना देख्दादेख्दै जसरी ब्युँझिए र आँखा टोपीले आँखा सरक्क पारे ।

हेर्छन्– त्यो ठाउँमा जिम्दारका सेता घर उभिएका छन् ।

‘हेर्दाहेर्दै के भयो हँ,’ आफ्नै सुरमा आफैले पनि नसुन्ने गरी भने, ‘वडा हाकिम बौनाकै । पटवारी बौनाकै । पर्धान बौनाकै । पुलिस बौनाकै ।’

‘यो ठाउँ ?’

उनको घर भत्काएर बनेका छन् जिम्दारका घर । उनको सपना खोसेर फुलेका छन् जिम्दारका सपना । उनका हाँसो खोसेर हाँसिरहेका जिम्दार ।

***
एक हुल मान्छे आए कौरा पोलिरहेको खलिहानमा । एनजीओ आइएनजीओका लर्कन यसैगरी छुट्छ, बेलाबेलामा ।

आज पनि उनको फोटो खिचे । सोधे । जुन प्रश्न उनलाई कण्ठस्त छ ।

‘नाम के हो बाको ?’

पटवारीको मन्ला ।

यै हो नाउँ ?

हो ।

‘कति बर्षदेखि कमैया ?’

‘के छ इच्छा ?’

आदि ।

उनको चाउरिएको अनुहार र गरिबीमा कति फल्यो डलर ? सहरमा कति खनिए डलर खेत ?

उनलाई थाहा छैन ।

‘यो फोटो चिन्नुहुन्छ बा ?’

एकजनाले फोटो देखायो ।

‘अहँ ।’

‘देखेजस्तो लागेन ?’

खलिहानमा गोली हान्ने, सँगुरको खोरमा हुल्ने र जग्गा हडपेर बुह्रान खेद्ने जिम्दारजस्तो न कस्तो कस्तो लाग्यो उनलाई । उनका छोरीबहिनीलाई लुट्ने, थारू कजाउने पटवारी शशिधर ‘बौना’को अनुहारजस्तो पनि लाग्यो । मनमनै भने, ‘हुन चैं हो ‘बौना’ नै ।’

मन नलगाएर भए पनि एकपालि फेरि नियाले– चश्मा । जिउमा सुरूवाल भोटी । बूढो तर सुकिलो ।

‘बुडू,’ उनीहरूसँगै आएका पहरूले प्वाक्क भने, ‘यी हमार पर्धानमन्तरी हो । कैसिन मनै अपने ? अपन देशक् प्रधानमंत्री फेंन नै चिन्ठो ?’

बूढा बोलेनन् ।

आखिरी पारेपछि उनले यत्ति भने, ‘मै नै चिन्ठुँ ।’

‘मुरलीप्रसाद घिमिरे,’ पहरूले जोडले नाम भने, ‘हमार पटवारी ।’ छिटोछिटो सच्याए, ‘ऊ फेंन बडा पट्वारी हो ।’

मुरली उनकै जिम्दार र पटवारीको नाम थियो ।

‘मै,’ मतलबै नराखी भुराभुरीसँग कौरा पोल्न थाले, ‘मै नै जन्ठु । कौन जिम्दार हो ?’ यसरी उनले प्रधानमंत्री त चिनेनन्, त्यस पदको भेउ पनि पाएनन् ।

न उनीसँग नागरिकता छ, न नागरिकता बनाउने लालपूर्जा छ उनीसँग, न लालपूर्जाको लागि छ जग्गा । जिम्दारको घरको सिसामा हेरेको आफ्नो अनुहारबाहेक अन्त हेरेका छैनन् आफ्नो अनुहार । साँच्चै कस्तो आउँछ होला आफ्नो फोटो ? आफ्नो फोटो छापिएको नागरिकता हेर्ने मन एकाएक चुलियो ।

भनौं कि भनेर बूढाले हेर्दा एनजिओ, आइएनजीओका मान्छे हिडिसकेका थिए ।

‘प्रधानमन्त्री ? पटवारी ?’ उनको मनमा ती अनुहार र शव्द आए । उनले आफैलाई भने, ‘जसले मलाई चिन्दैन उसलाई चिन्नु र नचिन्नु, उसको नाम जान्नु र नजान्नुमा के फरक छ र ?’

यसो फर्केर हेरे, डम्म ढाकिएको बर्गद्दीको खलिहानमा कुनै फरक देखेनन् ।

‘खुशमान थारू ।’

उनले पहिलो पालि आफ्नो वास्तविक नाम सम्झिए ।

‘मै हुँ खुशमान,’ आफैलाई सोधेर भने, ‘हो त नि !’

आफ्नी आमाले भने अनुसारको आफ्नो जन्मिएको वर्ष सम्झिए । र, औला भाँचे, ‘सय पुग्न ७ बर्ष बाँकी ।’

उनी झन् आत्तिए ।

हरर तिर्खा लाग्यो– आफ्नो नाम खुशमान थारू र आफ्नो फोटो छापिएको नागरिकताको । एकाएक उत्तेजित भए । कराए, ‘खुशमान…!’ खुशमानको आदिवासी आवाज जिम्दारका महलका भित्तासमेत चर्कनेगरी निस्क्यो ।

(Footnotes)
1 मुखिया, तालुकदार
2 माहिला
3 जिम्दारको घरमा काम गर्ने थरुनी महिला
4 परालको भुप्रोमा लावा उठेका मकैका दाना
5 हजुरबा
6 तीन भागमा दुई भाग कमैयाले पाउने
7 जिम्दार कमैयाले आधाआधा खाने
8 जिम्दार । विशेषगरी बाहुन

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.