कथा : समर्थन

~विद्या सापकोटा~Bidya Sapkota

टकटक..टुकटुक…..भालेको डाँक भन्दा पहिले नै सडक बज्न थालेको थियो । ‘अरे के भएछ ?‘ कहिल्यै त्यति चहलपहल नहुने विष्णुमती किनार । आफ्नो प्लाष्ट्रिकको झुपडी डगमगाए झैं लागेर उसका आँखाहरु बिस्तारित भए । शीत पोखिनाले भत्किएको पीच पनि निख्खर कालो टल्किएको थियो । उसले देख्यो- सडकमा राता, नीला, हरिया, पहेंला रंग रंगका चप्पल र जुत्ताहरु फटाफट हिँडिरहेका थिए । कहिँ चप्पल पनि हिड्छन् त ? तत्काल आफ्नै बेबकूफिमा हाँसो उठ्यो उसलाई । अनि नजरहरु सरे यताउता ।

सडकमा निस्कनेहरु बाक्लिएछन् । त्यो चहलपहलमय वातावरणमा झुत्रामैला लुगा लगाएका मान्छेहरुको पनि उल्लेख्य सहभागिता थियो । कसैका हातमा राता झण्डा थिए । कसैले लठ्ठि टेकेका थिए त कोही पर्चा बाँड्दैपनि थिए । अझ उदेकलाग्दो कुरो, चप्पल र जुत्तासँगै धेरै खाली खुट्टाहरु पनि जुर्मुराएका थिए ।

हेरिरह्यो ऊ एकटकले, मान्छेका शिरदेखि पैतालासम्म । देख्दादेख्दै लाग्यो, आज साच्चै खुसिको दिन रहेछ ।

‘‘ए मुन्ना, कहाँ छस् तँ ?‘‘ कतै रमाइलो महोत्सव नै हो कि, भन्ने ख्यालसँगै आफ्नै लवजमा छोरालाई पुकार्यो उसले ।

‘‘पापा ! ड्रेस किनिदेऊ न हैं ?‘‘, सधैं बेचैनी र निराशाले छपक्क छोपिइरहने बाबुको अनुहारमा प्रशन्नताको सानो धर्को देखेर मौका यही हो भने झै करायो मुन्ना ।

हरेक ससाना आवश्यकताको लागि रुवाइकराइ गर्नुपर्ने बाबुले बीना झर्कोफर्को सहमतिको टाउको हल्लाइदिदाँ खुसी हुदैं अरु पालहरुतिर दगुरे मसिना पाइलाहरु ।

हरदिन आफ्नो सानो काठे बाक्सा बोकेर छाप्रोबाट निस्कन्थ्यो ऊ । रत्नपार्कको एकछेउमा टुसुक्क बस्दै बाक्सा खोल्थ्यो । त्यहाँ पुराना जुत्ता, धागोका ठेली र केही औजार सहितका सानो पसल राखेर नजरहरु घुम्न थाल्थे । काम नहुँदा मन बेचैन हुन्थ्यो । आँखाहरु एकतमासले दौडन्थे।  मान्छेका पैतालाहरुतिर । अनायसै ऊ भुतभुताउँथ्यो, किन चुडिन्नन् यिनका चप्पलहरु ? तल्काल आफैंप्रति दया भाव उर्लेर आउँथ्यो, छि अरुलाई च्यात्दै चुडाल्दै आफूलाई सिउनुपर्ने यस्तो पनि जीवन हुन्छ ? आखिर यही नै त बाँचिरहेको थियो ऊ, थाहा पाएदेखी । पुराना जुत्ता चप्पलहरु पालिस गरिदिन्थ्यो । सिलाइदिन्थ्यो ऊ । सँगसँगै आफू र आफ्नाहरुको जीवन सिउँदैं–टाल्दै आएको थियो ।

पश्चिम तराइ थातथलो रहेको ऊ अर्थात् गुड्डु । चाडबाड विशेषमा मात्र घर जान्थ्यो । घरमा उसकी बूढी आमा र स्वास्नी थिई / छ रामकली । यहाँ छोरा मुन्ना र ऊ । पहिला ऊ सानो थियो । बाबु यो काम गर्थे । क्षयरोग बिग्रिएर बाबु बितेदेखि नै उसले बाबुको बिडो थाम्न लाग्यो । थाम्दै आएको छ । आफ्नो दुखले छोरालाई नपछ्याओस् भन्ने उसको एउटै ध्येय । त्यसैले त एकछाक नै खाएर भएपनि स्कूल भर्ना गरेको छ ।

छोराको स्कूल पनि बिदा थियो । उसलाई दिनभर भुल्याउने मेसो बनाइसकेपछि फेरी नजरहरु बाटो, बटुवा र तिनका चप्पलहरुमा दौडिए । हेर्दाहेदै उसलाई लाग्यो, ती पाइलाहरु आफसेआफ उठिरहेका छन् । तिनका शरीरमा बिचित्रको स्फुर्ति सल्बलाइरहेको छ । अनुहारमा अनौठो चमक झल्कँदै छ । आफैमा उत्तेजनाका रङहरु सर्दै आएको अनुभूतिमा भीडको पछिपछि थप दुई पैतालाहरु मिसिए ।

बढ्दो भीडभाडले यातायात झण्डै ठप्प भएथ्यो । हिड्ने बेलामा बालक छोराको कृष्ण चेहरामा चाँदी झैं टलक्क टल्केको दन्तलहर, मान्छेका उर्जाशिल पाइलाहरु, न्यानो घाम । ऊ पनि बडो जोशकासाथ हिडिरह्यो । मन न हो , सपना र कल्पनाका तानाबाना बुन्न किन ढीला गर्थ्यो र ?  त्यसमा पनि ऊ राम्रै जान्दथ्यो,  बिहानैदेखी उर्लेको जनलहर खुलामञ्चमा गएर एकिकृत हुनेछ ।

पाइला लम्कदै जाँदा मनमा आशाका ससाना धर्काहरु थपिँदै थपिँदै गए । मनरुपी कोरा कागजमा प्रशस्त खेस्रा तयार हुन लागे । ‘आज त के फुर्सद हुन्थ्यो र, कतिलाई त फर्काउनुपर्ने होला । ‘ कामको अन्दाज लगाउँदै मनमनै आभारी भयो ऊ, आजका दिन प्रति । क्रमशः योजनाका पोकाहरु खुल्न लागे ।

‘धेरै भयो, मुन्नालाई स्कूल भर्ना गरिदिएको । अझैं पोशाक किनिदिन सकेको हैन । आज त……………‘

‘बिचरी रामकली ! उमेर मै बूढी आइमाई झैं टार्न पुर्याउनमा लाग्नु पर्‍या छ । त्यसलाई एउटा बनारसी सारी किनिदिनुपर्ला ।‘

‘आमा, बाबु बितेदेखि त तिम्ले नयाँ कपडाको अनुहारै पनि देख्न पाएकी छैनौ । तिमीलाई पनि बाक्लो पछ्यौरा किनिदिनेछु, ।‘

यदि दुइचार दिनसम्मै यस्तै भैदिरह्यो भने त ………मीठामीठा तानाबानामा लपेटिदै सडक नाप्दै रह्रयो ऊ ।

अगाडी पछाडी, ऊ जस्तै मान्छेहरु जिन्दावाद र मुर्दावादको नारा लगाउदै हिँडिरहेका थिए । ठाउँठाउँमा जडिएको माइक, सजिएको खुलामञ्च, भाषण, ताली………जमलको आकाशेपूलबाट आजको दिनको बिशिष्टता मापन गर्न सकिन्थ्यो । अझै उसका आशाबेली खेतका फाँटहरु फैलँदै थिए । ‘हट्………‘ शब्दसँगै परेको लठ्ठीको तरंगले उसका आतुर गोडाहरु टक्क अडिए । त्यहाँबाट ऊ अगाडी बढ्नै पाएन, नियमित थलोको त अत्तोपत्तो नै थिएन ।

‘‘मुक्तिगामी दाजुभाइ तथा दिदिबहिनिहरु ! आज मे एक यानकि मजदुर दिवस । हाम्रो / हामी जस्तै गरिब निमुखाको दिन । आउनोस्, यो भोकहडताललाई समर्थन गर्दै मुक्तियात्रामा सहभागि हुनुहवस्…………. ।‘‘  योजनाका भग्नाबशेष बोकेर उल्टो फर्किरहदा उसका कानहरु बजिरहे ।

‘समर्थन ?’ नजाने कहिलेदेखि अघोषित भोकहडताल खेपिरहेकै त छ ऊ । मुक्तियोद्धा बन्नुको बिकल्पहीन सोचाइमा ऊ डुबिरहँदा पालभित्रका रित्ता कतहराहरुमा टिलपिल टिपपिल भरिइरहेका बालनयनहरु टल्किरहेका थिए ।

हाल : शंकरदेव कलेज, काठमाण्डौं

nirjala0008@gmail.com

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.