~मुरारीराज मिश्र~
पैसाको लागि – यहाँ इमान बेचिन्छ,
स्वार्थको लागि – यहाँ कानून मिचिन्छ,
यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि
सत्यको वकालत गर्नेहरुलाई
यहाँ पद र शक्तिको हतियारले थिचिन्छ ।
यहाँ – जताततै टुटफुट छ,
चारैतिर – जता हे-यो ब्रम्हलुट छ,
व्यापारीहरुलाई भाउ बढाउने र
कर्मचारीहरुलाई घुस खाने छुट छ,
शत्रुहरुको त कुरै छोडौं
शक्ति हत्याउने दाउमा,
यहाँ –बाबु र छोराकै पनि कुटाकुट छ ।
यहाँका चोक/गल्लीहरुमा –
हल्ला र गफका बिउ छरिन्छ,
अरुको बेइज्जत र चरित्र हत्या भने –
यहाँ फोकटमा नै गरिन्छ,
चाकडी, चुक्ली र चाप्लुसी
यहाँ उन्नति गर्ने मूल मन्त्र हो,
सोझा र खुशामद गर्न नजान्नेहरुलाई भने
यहाँ –प्रत्येक दिन विभागीय कारवाही गरिन्छ ।
यहाँ – भोको पेट र गरीबीसँग जिस्किइन्छ
राहतको नाममा –
भाषण, नारा र आश्वासन पस्किइन्छ,
शायद बानी परेकोले नै हो कि क्या हो ?
धूवाँ, धूलो र दुर्गन्धको मात्रा –
अलि कम महसूस गर्दा पनि –
यहाँका बासिन्दाहरुलाई पिनास हुन्छ ।
यहाँका मान्छेहरुको चाहना असीमित छ,
त्यसैले होला काठमाण्डौं –हरेक क्षण त्रसित छ,
उहिलेका कुरा खुइले भने झैं –
अब, गर्व गर्ने ठाउँ नै कहाँ रह्यो र ?
आज भोलि त काठमाण्डौं –
राजधानी हुनुको पीडाबोधले ग्रसित छ ।
– Kumarigal, Kathmandu- 7, Nepal
(स्रोत : रचनाकारको ब्लगबाट सभार)