~उमाशङ्कर द्विवेदी~
कुनै पोखरीमा एउटा भारुण्ड चरा निवास गर्दथ्यो । उसको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । एक दिन समुद्रको किनारमा डुलिरहँदा उसले एउटा अमृततुल्य फल फेला पार्यो जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो–वाह, मैले समुद्रको लहरले बगाएर किनारामा ल्याएका सयकडौ अमृततुल्य फल खाएको छु तर यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन ।
पहिलो मुखको यस प्रकारको कुरा सुनेर दोस्रो मुखले भन्यो–भाइ, यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाइ पनि देऊ । म पनि यसको स्वाद चाखूँ । यो सुनेर पहिलो मुखले हाँस्दै भन्यो–हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि भुँडीमैं जाने त हो नि १ यो मुखले खाए पनि त्यो मुखले खाएपनि भर्ने त भुँडी हो । त्यसैबाट तिमी तृप्ति लेऊ । अलग–अलग दुई मुखले किन खानुपर्यो ? बरु उब्रेको भाग हाम्रो प्रियतमालाई दिउँ, उसले पनि यसको स्वाद चाखेर सन्तुष्ट भएमा हाम्रो भलो हुन्छ ।
यति कुरा भनेर उसले उब्रेको फल आफ्नी प्रियालाई दियो । त्यो फल स्वाद मानी खाएर ऊ प्रसन्न भएर पतिलाई आलिंगन, चुम्बन तथा कटाक्ष गर्न थाली । दोस्रो मुख त्यस दिनदेखि उदास र खिन्न रहन थाल्यो ।
कुनै अर्को दिन दोस्रो मुखलाइ एउटा विषफल प्राप्त भयो । त्यो फल पाएपछि पहिलो मुखलाई देखाउँदै उसले भन्यो–हेर, आज मैले विषफल पाएको छु । तिमीसित अपमान पाएको कारण यसलाई म खान गइरहेको छु । उसको यस प्रकारको भयानक कुरा सुनेर पहिलो मुखले आत्तिंदै भन्यो–मूर्ख, यस्तो गर्यौ भने हामी दुवैजनाको मृत्यु निश्चित हुनेछ । तिमी यो फल नखाऊ । पहिलो मुखले जति भनेपनि दोस्रो मुखले मानेन । त्यो विषफल खाइदियो जसको कारणले ती दुई मुख भएको अद्भूत चरा तत्काल मर्यो । त्यसैले भनिएकोको छ–
एकोदरा पृथग्ग्रीवा अन्योन्यफलभक्षिण:
असंहता विनश्यन्ति, भारूण्डा इव पक्षिण:
अर्थात् एकमत भएर काम नगर्ने व्यक्ति, एउटा भुँडी, दुईटा मुख भएको तथा परस्पर दुवै मुखबाट अलग–अलग फल खाने भारुण्ड चराझैं विनष्ट हुन्छ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)