~मनोज बोगटी~
‘आउ’ श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्।
एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्।
यो कपिलबस्तु त होइन,
तर त्यस्तै उजाड ठाउँ हो।
यहॉं फूल देख्न पाइन्न।
घॉंस देख्न पाइन्न।
न जून देख्न पाइन्छ
न जून छेल्ने नेभाराको रुख।
यहॉं आकास देख्न पाइन्न।
घाम देख्न पाइन्न।
माटो देख्न पाइन्न।
…
मेरो जिउबाट आएको माटो गन्ध तिनले कसरी सुघिन् मलाई थाहा छैन।
केही अघि म चम्किलो टाइल्स टेकेर उभिएँको थिएँ।
मलाई भूइँमा देखिएको मेरो अनुहार उज्यालो लाग्यो। काम पाउँछु भन्ने आत्मविश्वास थियो त्यो अनुहारमा। तर त्यो कालो मान्छेले मेरो अनुहार कुल्चिदियो। मेरो आत्मविश्वास कुल्चिरहेको थियो त्यसले। म केही पर भागेँ र मेरो भुइँको अनुहारलाई जोगाएँ। तर कालासेता जवानहरूको भीडमा मेरो अनुहार एकाएक हरायो। भीडले कुल्चिएको मेरो अनुहार तरै पनि खुट्टामुनीमुनी देखिन्थ्यो। म अनुहार जोगाउँदै थिएँ।
‘एइ मुर्ख’ मभन्दा केही अग्लो बङ्गालीले मलाई ठूलोठूलो आँखाले हेरेर भन्यो-‘तँ काम खोज्न आएको कि जिस्किन? लाइनमा बस्।’
उ त्यहॉंको चौकीदार थियो।
म लाइनमा उभिएँ।
सबैलाई डाक्टरले निरीक्षण गरिरहेका थिए। मेरो पालो पनि आयो।
‘सेक्स गरेको छौं?’-डाक्टरले मलाई सोध्यो।
‘हजुर’
‘कोसित?’
‘आरतीसित।’
‘कहिले?’
‘पोहोर, कृषि मेलामा।’
तिनी मलाई हेरेर हॉंसे।
‘मोरो’-तिनले यसै भने मलाई हेरेर। मलाई भने अप्ठ्यारो लागिरहेको थियो।
लिफ्टमा हेराहेर हुँदा मलाई छटपट लागेको थियो। पॉंचौं तलामा उत्रिएपछि म तिनको पछिपछि थिएँ। त्यहीँ देखेँ तिनको बुद्धको ठूलो ल्यामिनेशन।
‘आई मिस यु बुद्ध’-तिनले भनिन्, ‘तिमी घर छिट्टो आऊ।’
तिनको आँखामा नभनिएका वा भन्न बॉंकी जस्ता काला दागहरू थिए। तिनको ओंठमा माया कॉंपिरहेको थियो। तिनले त्यही कॉंपेको ओंठ मतिर फर्काएर त्यो आँखाले हेरिन् जसलाई मैले सोझोसित हेर्न सकिन।
‘कमिन’
तिनले तिनको कोठा खोल्दै भनिन्।
मलाई थाहा छैन एक्लै बस्ने मिसेस बुद्धलाई यत्रो पॉंचतल्ले घर किन चाहियो। पॉंचतल्ले घरमा कति कोठा छन्, म गन्न सक्दिन होला। तर सिसेस बुद्ध यतिधेरै कोठामा पनि अँटेकी छैनन्, त्यो म गन्न सक्छु। केहीदिन बुद्ध घरमा नहुँदा मिसेस बुद्धले यति मिस् गर्लान्, म छक्क परिरहेको थिएँ, यस्तो कहिल्यै नदेखेको माया भेटेर।
मैले आमा सम्झिएँ।
मलाई बाबाको अनुहार थाहा छैन।
आमाले बाबालाई यसरी मिस् गरेको कहिल्यै थाहा पाइन।
एकदिन आमा अचानक कराइन्।
सॉंझ थियो त्यो। म पढ्दै थिएँ। भन्साघरमा आमा रक्सी पारिरहेकी थिइन्।
वरिपरिका मानिसहरू भेला भए। त्यो गाउँको नेता टोपीले अनुहार छोपेर बसिरहेको थियो। तिनलाई मानिसहरूले घेरेका थिए।
‘तैले हात लगाउन खोजिस्?’
भीडमा उभिएको एक बुढो मान्छेद्वारा त्यो नेतालाई देखाएको औंली र प्रश्न चिह्न अघिको सबैभन्दा पहिलो वाक्य यही थियो। नाङ्लोमा नेताले एक बोतल रक्सी राख्यो। रक्सी आमाबाट नै किनेको थियो। त्यही रक्सीको छेउमा सयका कुन्नीकतिवटा नोटहरू राखेर तिनले मेरो आमालाई ढोगेका थिए।
त्यत्रो असुविधा पर्दा पनि आमाले बाबालाई मिस् गरेको थाहा छैन।
त्यो नेता र मलाई हप्काउने बङ्गाली एउटै लाग्यो मलाई।
त्यत्रो भीडमा मलाई मिसेस बुद्धले चिनेको जस्तो गरेर भनिन्-
‘आर यू नेपाली?’
‘यस माम’-मैले भनेँ।
तिनले त्यही बङ्गालीलाई कुन्नी के भनिन्। र त्यहॉंबाट हराइन्।
‘आजदेखि नोेकरी शुरु भयो केटो तेरो’ त्यो बङ्गालीले मलाई भन्यो ‘खुब ध्यान लगाएर गर्लास्।’
‘वाइन पिउँछौं?’
मिसेस बुद्धले मलाई भनिन्। मलाई मिसेस बुद्धको आँखाले त्यसरी नै पोलिरहेको थियो। सेतो छैन आँखा। रातो मिसिएको छ।
तिनले बुद्धको कुरा गरिनन्। मलाई भने बुद्धबारे जान्नु मन लागेको थियो। तिनी मिसेस बुद्ध हो भनेर मलाई त्यही बङ्गालीले चिनाएका थिए। मलाई त्यति मात्र थाहा छ।
मलाई जे जे गर भनिन्, म त्यही त्यही गरिरहेकी थिएँ। तर तिनको आग्रहमा कोमलता थियो। माया थियो। तर जब तिनले मेरो कामबारे बुझाइन् म हाम्रो घरको धुरी खम्बाजस्तो उभिएँ। दह्रो। चुपचाप। मैले मिसेस बुद्धलाई त्यसरी नै थाम्नु पर्थ्यो, जसरी त्यो धुरी खम्बाले मेरो घर थामिरहेको छ।
वाइनको कतिवटा चुस्कीले तिनलाई निक्कै अन्धो बनाएको थियो। तिनी मलाई समेत चिन्न छोडिन्।
गहिरो रातमा तिनले मलाई नाङ्गो बनाइन् र भनिन्-‘तिम्रो पहिलो दिन सुन्दर होस्।’
कोठाबाट म ढिलोगरी अफिस पुगेँ। त्यो बङ्गालीले मलाई हप्काए।
‘तिम्रो भाग्य थियो र त्यो क्लास पायौ’ उसलाई निक्कै रिस् उठेको थियो ‘आज मिसेस रामको डिमाण्ड छ। तयार हौ र पहिलो मेट्रोस्टपमा उभ।’
मिसेस रामले मलाई अक्रमक व्यवहार गरिन्। क्रुर व्यवहार गरिन्। झम्टिन्। लुछिन्। टोकिन्। मेरो ओंठबाट रगत आइरहेको थियो।
तर त्यसबेला पनि मलाई मिसेस बुद्धको याद आइरहेको थियो।
तिनले भनेकी थिइन्-‘बुद्ध पनि नेपाली हो भन्छन्।’
त्यसैकारण तिनले मलाई माया गरेकी थिइन्। मिसेस रामले मलाई राम नेपाली हो भनिनन्। तिनले फटाफट तिनको तिर्खा मेट्ने आदेश दिइन्।
बिहानको घडीसाइरन बज्दा म थाकेर बाथरुमको टल्किने टाइल्सको भित्तामा उभिएको थिएँ, जहॉं मेरो नाङ्गो शरीर देखिएको थियो। एउटा घिनलाग्दो अनुहार बोकेर। मलाई त्यो अनुहार मान्छेको होइन कुनै निरीह पशुको जस्तो लाग्यो। जो त्यस्तै ठूलो पशुको सिकारबाट बॉंचेर लुकिरहेको छ।
मलाई थाहा थिएन, यसरी एक दिन म नाङ्गिन्छु।