~गोविन्ददेव आचार्य~
छन्द : अनुष्टुप
बढी दानी बनी मात्रै भलो हुन्न समाजको
दानैबाट भयो अन्त्य महात्मा अङ्गराजको ।।
रूप शृङ्गार वा सज्जा भलो हुन्नन् सधैँभरि
लग्यो सौन्दर्यमा पग्ली सीता रावणले हरी ।।
दिए काम, टरे गर्जो मोती झैँ बन्छ पत्कर
बनेथे रामका प्यारा मित्र, आफन्त वानर ।।
हुन्छन् अस्तित्व आआफ्नै ठूला वा मसिना भुरा
ठूला थाम, मुढा बाल्दा सानै चाहिन्छ दाउरा ।।
पापीको राज्यमा ज्ञानी सन्तको शास्त्र मर्दछ
दन्केको अग्निमा थोपा पानीको कुन अर्थ छ ?
जवानीमा बने छाडा अनेकौँ बिघ्न आउँछन्
बाटामा फालिए बाजा जोसुकैले बजाउँछन् ।।
ज्यादा फुर्सदका मान्छे गर्छन् “आदर्शका प्रण”
हेर सत्ता नपाएका नेताका उग्र भाषण ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)