~विमल आचार्य~
शंकरदेव क्याम्पसबाट अहिलेको सर्वनाम थिएटरसम्म आइपुग्ने भित्री बाटो छ एउटा । त्यही बाटो आउँदा दाहिने मोडिएपछि सुरु हुन्छ घुमाउरो गल्ली । नामै घुमाउरो भएपछि कति चोटि घुम्ने, कति चोटि अलमलमा पर्ने, कति चोटि निहुरेर हिँड्ने, कतिचोटि दिउँसै टर्च बाल्ने भनेर मैले भनिरहन परेन।
गल्लीमा हिँड्दाहिँड्दै माथिबाट कसैले पिच्च थुकिदिन वा मुख कुल्ला गरिदिन नि सक्छ । माथि हेरेर आँखा तर्दातर्दै अगाडि वा पछाडिबाट साइकल टिनिन्न टिनिन्न बज्न पनि सक्छ । साइकल पनि पास हुन नसक्ने जिरो लेनको गल्ली हो यो । यही गल्ली त होला भनेर सरासर हिँड्नुभयो भने अलि पर पुगेर फरक्क फर्किनु पनि पर्ला, किनभने धेरै बाटाहरू घरमा पुगेर टुंगिन पनि सक्छन्।
गल्लीभरिको ढलको च्यापच्याप रसायन तपाईंका जुत्ता÷चप्पल हुँदै घरभित्र पुग्न पनि सक्छ । यत्रतत्र सर्वत्र मुख नथुनिएका पोलिथिनबाट ओइरिएका फोहोरका डंगुर नाघ्दै फट्केर हिँड्दा कसरत पनि गजपै हुन्छ । प्रत्येक घरको गेटका दायाँबायाँ पोलिथिन-पोका कलशझैं गरी राखेको देखेर छक्क नपर्नुहोला । ती तपाईंको भव्य स्वागतमा सजाइएका पनि हुन सक्छन्, ती कलशहरू तपाईंले हेर्दाहेर्दै कुकुर आई खोतल्नेछ वा मुखमा झन्ड्याई आफ्नो खानकी खानतलासी गर्न थाल्नेछ । यसले तपाईंलाई ‘सरकारी अड्डाको पाइखाना छाप’ पफ्र्युमको याद दिलाउनेछ।
एउटा ठूलो ढोका छ, गेट भनौं न। गेटभित्र छिरेपछि केही देखिँदैन। केही नदेखिने पनि हैन, प्रस्ट देखिन्छ— गाढा अँध्यारो । बिजुली भए पो स्विच थिच्नु ? साथमा नोकिया भए पो बत्ती बाल्नु? उज्यालोबाट आएर पो रहेछ धेरै अँध्यारो भएको। केही बेरमा देखियो, साँघुरो भर्याङ।
सहरमा भर्याङमुनि दुर्गन्धित तुर्किस्थान कहाँ हुन्न र, त्यहाँ नहोओस्। तुर्किस्थानको ढोकाबाहिर पानी तान्ने पम्प रहेछ । घर त पुरानै देखिन्छ । तर, जस्तो बन्यो त्यस्तै छोडेर होला, सिमेन्ट र बालुवा मिश्रित कडाकडा डन्डीफोरैफोर छन्। उबडखाबड सिँढी !
प्रत्येक तलामा तीन कोठा छन् । तर ती सबै कोठा पूर्णतः स्वायत्त छन् । एक कोठाबाट अर्कोमा छिर्न पर्दैन । सिँढी चढ्दा देखिन्छ, ढोकाबाहिर चप्पलै चप्पल। घर पाँचतले छ । म तेस्रो तलामा पुगेँ।
ढोका पूरै उघ्रिँदैन। पेट भित्र दबाएर लुसुक्क छिर्छु म। ढोकाको छेउसम्मै आएको किचेन र्याकको टुप्पोले मै फुकीढललाई नि छोइदिन्छ । ढोका आधी खुलेको किन रहेछ त भन्दा जुत्ताचप्पलको र्याकले ढोकालाई भित्र आउन नदिँदो रहेछ। प्रयोग गरेका जुत्ता, चप्पल, मोजा सधैं रेड कार्पेटमाथि हिँड्ने महाराजाका पनि गनाउँछन् भने पसिना-ढलको रसायनसहितका मेरो जुत्ता बसाउने त कुरै छैन । खाँदा होस् वा पकाउँदा, पढ्दा होस् वा सुत्दा, बासीत्यासी जुत्ताचप्पलको सुगन्ध नसुँघी धरै छैन।
कोठामा खाली ठाउँ नै छैन भन्नु अतिशयोक्ति हुन्छ। किनभने त्यहाँ एक जनालाई मात्र उभिएर पकाउनलाई मात्र प्रशस्त ठाउँ छ। झोला भुइँमा राख्ने ठाउँ नभएर के भो ? मैले खाटमा राखेँ। कार्पेटबिनाको भुइँ यति सफा कि झोलाको फोहोर नै भुइँमा टाँसिएला भन्ने डर !
एउटा डबल बेड र अर्को सिंगल बेडका चारखुट्टे खाट छन् कोठामा। खाटमाथिका तन्ना दुईतीन ठाउँ मात्र प्वाल परेका छन्। तिनले मौलिक वर्ण गुमाइसकेका छन् भनेर खुइलिएका भनिहाल्न मिल्दैन। ती अझै एकदुई वर्ष बाँच्नेछन्।
पातलो डबल बेडमाथि दुइटा पातला दोेलाई मिलाएर चाङिएका छन्। अर्को सानो बेडमा भित्तातिर टेसाएर किताब-कापीको अग्लो पहाड बनाइएको छ । निदाएको बेला ती किताब-पहाड सुतुवामाथि चढ्न पनि सक्छन्। माइलो सधैं ती पहाडको फेदीमा सुत्छ।
घोप्टो परेर पढ्दापढ्दै किताबमै निदाउँछ र मध्यरातमा बिउँझेर बत्ती अफ गर्छ। तर, कोठामा कोही एक जना पाहुना थपियो भने ती पहाड भत्काएर भुइँमा सार्नुपर्छ र सिंगल बेडमा डबल जन सुत्नुपर्छ।
मेरो साथीको कोठामा के-के छन्, कसरी-कसरी छन्, म केही फोटा खिच्छु आँखाले । अनि केवल क्याप्सन प्रस्तुत गर्छु यहाँ। तपाईं दायाँबाट क्रमशः पढ्नुस् अथवा बायाँबाट क्रमशः। ढोकाको पल्लामा भित्रतिर ह्यांगर ठोकिएको छ। त्यसमा झुन्डिएका छन्, तीन दाजुभाइका सर्ट-पाइन्ट । त्यहाँ जिन्स र टिसर्ट छैनन्।
सिलाइएका पाइन्ट-सर्ट छन्। झुन्डेका ती लुगा ढोका खोल्दा-बन्द गर्दा सँगसँगै हल्लिन्छन् केराको पातझैं । बेलाबेला ती पात उडेर ठीक तल बसेका जुत्ताचप्पललाई भेट्न पनि पुग्छन्।
ग्यास चुलो मात्र अटेको किचेन र्याक छ । त्यसभित्र पुन्तुरा र बट्टाबुट्टी देखिन्छन् । ती गाउँबाट आमाबाले पठाइदिएको भनेर नलेखे पनि हुन्छ, तर लेख्ने चलन छ।
भाइ चाइने मनमनै गुनगुनाउँदै खाना पकाउँदै छ । ऊ सरस्वती कलेजमा आईकम पढ्छ । माइलो चाइने सिंगल बेडमा टुसुक्क बसेर मैले आँखाले फोटो खिचेको अनि हृदयले वार्ता रिकर्ड गरेको हेरिरहेछ। ऊ त्रिचन्द्र कलेजमा बीए पहिलो वर्ष पढ्छ रात्रिकक्षा।
दिउँसो जागिर खोज्ने मनसुबाले ऊ रात्रिमा भर्ना भएको हो। पत्रिकामा ‘चाहियो’ हेरेर पीसीओमा गएर फोन गर्दै, भेट्न जाँदै गर्छ, तर ऊ कसैलाई चाहिएन। सहर छिरेको छ महिनासम्म पनि केही काम नभेट्दा निराश, हतास र उदास छ ऊ । ऊ मेरो क्लासमेट हो । म धेरैचोटि यो कोठामा आइसकेँ।
जेठो अर्थात् भाइहरूको पनि भारले थिचिएको ऊ यो कोठाको प्रथम आदिवासी हो। ऊ राति ९ बजेमात्रै आइपुग्छ कोठामा। ऊ दिनभरि ढोकाढोका चहार्ने मार्केटिङको काम गर्छ । उसलाई जति कसैलाई थाहा छैन, मार्केटिङ गर्न हिँड्नेलाई छिःछि र दूरदूर गर्दै बाहिरैबाट धपाइन्छ यहाँ, मानौं ऊ चोर, डाँका वा लुटेरा हो । जेठो बाहिरैबाट सर्टका टाँक खोल्दै थकित र गलित अनुहारमा भित्रिन्छ।
किचन र्याकको देब्रेतिर सिलिन्डर छ कोठाको कुनामा । त्यसमाथि एउटा फिल्टर छ । जसको टुटीबाट पानी चुहिरहेछ— तप्पतप्प । भुइँ नभिजोस् भनेर सानो कचौरा थापिएको छ तल। तर, धेरै माथिबाट चुहिने भएर होला, थोपा कचौरामा ठोक्किएर भुइँभरि विस्फोट हुन्छ।
सिलिन्डरसँगै टाँसिएको छ, उही रङको एउटा बाल्टिन। बाल्टिनको बिट फुटेको हुँदा पानी भरी छैन। फुटेको ठाउँमा मसिनो तारले सिलाइएको छ । तार तताएर सिलाउने चाहिँ माइलो नै हो। बाल्टिनको बिटमा अडिएको छ अलिकति पानीसहितको मैलो मग।
बाल्टिन यता छ एउटा बाटा । जसले पाउँछ तरकारी पखालेको पानी र चौलानी । हात धुने, भाँडा माझ्ने, तुर्किस्थानमा गएर थुक्न अल्छी र घिन मान्नेले कुल्ला गर्ने पनि त्यही बाटामा हो। बाटा वरिपरि भिजेको छ भुइँ। त्यसको भित्तातिर छिटा-डाम पनि छन् । जुठा भाँडा त्यसैमा माझेर पानी लगेर तुर्किस्थानमा फाल्नुपर्छ । यसरी पानी फ्याल्दा चम्चा अनि तरकारीका झ्याम्टा अड्किन पनि सक्छन् । हात हालेर ननिकालेर के गर्ने ? मारिहाल्छन्।
तुर्किस्थानको जनसंख्या ठूलो छ । अझ छेउछाउका कतिपयलाई त तुर्किस्थानका स्थायीवासी नै भने पनि हुन्छ । तुर्किस्थानको भिसाका लागि पालो कुर्नु, त्यहाँ धारामा कहिल्यै पानी नआउनु, सफा गर्न ठस्याकठुसुक पर्नु, प्रत्येक पटक थोत्रो र मैलो बट्टामा पानी लिएर त्यहाँ बाहिर जानु, कहिलेकाहीँ देब्रे हात धुने पानी पनि नहुनु, कम्ती सकस छैन।
संसारमा सबैभन्दा गाह्रो काम, परिवारबाहेकले पनि प्रयोग गर्ने गरेको धारोविनाको तोर्पे तुर्किस्थानमा बाहिर जानु । मेरी आमा ! हतारमा ढोका खोल्दा मलमूत्र बाहिरबाहिरसम्म छरपस्ट हुन्छ कहिलेकसो त । आफ्लाई लास्टै पेलिसकेको हुन्छ, फर्किन पनि भएन । पढ्दा त तपाईंलाई दिगमिग दिगमिग भइसक्यो, भोग्नीलाई झन् कस्तो होला ?
कोठामा बाँसका र्याक दुइटा छन् । एउटामा जुत्ता भइगए । अनि अर्कोमा किताब । किताबवाला र्याकमा छन् केही किताब, कापी, कागज अनि एउटा माई क्लियर ब्याग पनि । माई क्लियरभित्र छन्, टोपी लगाएको तथा दुवै कान देखिने फोटोसहितको नागरिकता, ‘सन्तोषजनक’ चारित्रिक प्रमाणपत्र, दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेको लब्धांकपत्र र बायोडाटाका फोटोकपीहरू । गाउँबाट ल्याएको हँदा टुकीको ध्वाँसोले काला भएका छन् कति किताब त । सबभन्दा माथि छ, एउटा सानो फोटो अल्बम।
वाकमेनजस्तो रेडियोमा बीबीसी नेपाली सकिएर त्यसैमा ‘संगीत सरोबर’ आइसक्यो । दीपकराज पाण्डेले ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’ गीत बजाए । उताको अर्को कोठामा झापाका चारजना केटा बस्दा रहेछन् । ‘हेलो दोस्त, के छ यार ? ‘ भन्दै भित्र पसेर पलङको भित्तातिर अडेस लागेर ज्यानलाई आधी ढलान गर्छ साजन।
कान्छो खाटभरि पत्रिका ओछ्याउँछ। तीमाथि चारवटा थाल राख्छ । थालमाथि भात राख्छ । भातमाथि तामाआलुको झोल खन्याउनै लागेको हुन्छ, बत्ती झ्याप्प निभ्छ। माइलेले सानो टर्च सल्काउँछ। झोल त आधी पत्रिकामा आधी ओछ्यानमा पोखिएछ । जूनकीरी उज्यालोमा हामी चार जना खाना खान बस्यौं खाटमा । सबैले थाल चाटचुट पार्यौं । मीठो थियो किनभने थप्न थिएन । जोगीका कोठामा सन्न्यासी पाहुना भनेको यही हुँदो हो।
माइलो त्यहीँ भित्रै बाटामा भाँडा मस्काउन थाल्छ। लोडसेडिङ अहिलेजस्तो जात्तिबिती थिएन । बत्ती आइहाल्यो । झापाली साथी साजन शंकरदेवमा अखिलको राजनीति पनि गर्छ। उसले राजनीति झिकिहाल्यो, ‘साला गिर्जाले बेबी किङ राख्ने भो यार । धर्मनिरपेक्ष भनेको के हो दोस्त ? ‘ हिजो जेठ ४ गते राजाका धेरै अधिकार कटौती भएका छन् । बेलायतको म्याग्नाकार्टाजस्तो राजालाई साइजमा ल्याइएको घोषणा भनेर पत्रपत्रिकाले लेखेका छन् । तिनै पत्रिका ओछ्याएर खाना खाइयो भर्खर । ‘ श्री ५ को सरकार’ बदलिएर ‘ श्री २.५ करोडको सरकार’ भएको छ, यो भन्दा ठूलो परिवर्तन अरू के चाहियो र ? ‘
माथिबाट घरबेटीको छोरा करायो, ‘साजन दाइ, फोऽन।’
‘ल यार दोस्त’ भनेर ऊ दौडियो।
जेठको महिना भए पनि सुत्दा ओढ्ने चाहिने नै काठमाडौंमा । गर्मी उतिसारो थिएन । कान्छोले च्यातिएको र थेप्चिएको मुडामा बसेर खाटमा किताबकापी फिँज्यो । दाइ चाइने ठूलो खाटमा बसी डायरी लेख्न थाल्यो। त्रिचन्द्रमा स्नातक पढ्दाका अंग्रेजी गुरु तथा परराष्ट्रविद् जयराज आचार्य अंग्रेजी सुधार्ने हो भने सधैं डायरी लेख्नू भनी सिकाउँथे रे।
गह्रौं झोला बोकेर, सार्वजनिक बस चढेर दिनभरि हिँड्नु, अपमान र थकानले रित्तो हात कोठामा फर्किनु जेठोको दिनचर्या थियो । आठ सय कोठा भाडादेखि सारा खर्च, भाइहरूको खर्चबर्च अनि घरतिर पनि हेर्नुपर्ने अवस्था । ऊ बेभार-व्ययभारले थिचिएको थियो । तर, उसले डायरीमा यस्ता दुःख केही लेखेन । बिहानै उठेको, दिनभरि सात ठाउँमा पुगेको तर एक ठाउँमा पनि सफलता हात नलागेको र अब सुत्न लागेको मात्र लेख्यो संक्षेपमा।
डबल बेडमा छेउतिर जेठो सुतिसक्या थियो । ऊ हल्का घुरी पनि रहेको थियो । बिरालोको चालमा गएर भित्तातिर घुस्रियो कान्छो । ऊ धेरै बेरसम्म निदाइरहेको थिएन । केही बोलिपनि रहेको थिएन । उत्तानो परेर आँखा टुलुटुलु हेरेर के-के सोचिरहेको थियो, कुन्नि !
माइलो मसँग गफ गरिरहेथ्यो एकदम मसिनो स्वरमा । सिंगल बेडमा भित्तातिर चाङिएका किताबका पहाड भत्काएर भुइँमा झार्न थाल्यो उसले । यसरी पहाड भत्काउन उसलाई तीन सय सेकेन्ड नै लाग्यो । भुइँमा झार्दा मैले एउटा ठूलो कागज देखेँ एकचोटि पट्याएको । कालो साइनपेनले लेखिएका ठूला अक्षर माइलेका हुन् भनेर चिन्न मलाई गाह्रो थिएन । ‘लेनिन’लाई ‘लेलिन’ लेखेर सुरु गरिएको त्यो प्लेकार्डको पातो यस्तो थियो:
लेलिनको छोरा हुँ म, कार्ल माक्र्सको नाति
स्वाधीनता, समानता, न्यायको पक्षपाती
हो चि मिन्हको भतिजा हुँ म,
महात्मा गान्धीको विद्यार्थी
आमलोकतन्त्रप्रेमी नेपालीको साथी।
र, लामो धर्काे दिएर अन्त्यमा लेखिएको थियो, ‘निरंकुशता मुर्दावाद । लोकतन्त्र जिन्दावाद ।’
मैले पढिरहँदा ऊ पनि कुम जोडेर बस्यो मेरै तालमा र उसले पनि पढेजस्तो गरी ओठ फटफटायो । यस्ता प्लेकार्ड अरू पनि दुइटा थिए । एउटामा थियो, ‘आर्यघाटले के भन्च, पार्सेलाई ले भन्च ।’ अर्कोमा थियो, ‘हत्यारो राजा चाइँदैन, मान्छे मार्न पाइँदैन।’ माइलाका अक्षर शुद्ध नभए पनि राम्रा भएको हुँदा उसलाई यो सब लेख्न अह्राउनी उही अघिकै साजन ‘अखिल’ थियो । ऊ आफ्नो नामपछि बोल्दा होस् वा लेख्दा ‘अखिल’ छुटाउँदैनथ्यो।
कफ्र्यु लागेको एक दिन यी नारा घरको छतमा पुगेर भट्यायो साजनले । घरैभरिका मान्छे जम्मा भए । सबको काम ठप्प भएर होला, सबका सब रिटायर्ड जर्साब जसरी फुर्सदिला देखिन्थे। अरू घरका मान्छे पनि आफाफ्ना छतमा थिए-आए।
साजन यता छतबाट ‘ज्ञान्ने चोर’ भनेर कराउँथ्यो, उता अर्को घरको छतबाट जवाफी फायरिङ आउँथ्यो, ‘कुर्सी छोड् ।’ अधबैंसेहरू ‘कुर्सी छोड्’ भन्थे भने केटौलेहरूचाहिँ ‘देश छोड्’ । बूढापाकाहरूचाहिँ खै के भन्थे, बाल दिइएन त्यति बेला।
घरभरिका सबै छतमा आए । घरमा को-को बस्छन्, कस्ता-कस्ता मान्छे बस्छन्, ती कसरी बोल्छन् र के लाउँछन्, को कति हेन्सम र सेक्सी छन्, सब कुरा त्यही बेला थाहा भो । साजन, मिराज, दिपिन, सर्मेन्द्र, लक्ष्मी, सुरेन्द्र सबै मिसिए छतको आमसभामा । सुगा र सीमा पनि आए त्यहाँ।
उनीहरू प्लस-टु पढ्छन् भन्ने साजन ‘अखिल’बाट थाहा भइसकेको थियो । अँध्यारो तुर्किस्थान र पानी तान्न जाँदा पम्पतिर केहिलेकाहीँ देखिने उनीहरूलाई साइड हानेको पनि त्यही बेला हो उसले। उनीहरूलाई देख्दैमा उसको मुख एक्कैछिनमा तलाउ भइगयो। उनीहरूका मसिना, लामा र गोरा (सायद कमला पनि) औंलाहरूले पम्प च्याप्प समाएर घच्याक्घच्याक् पानी निकालिरहेको देख्दा ऊ कल्पना गथ्यो, यी कपासजस्ता कमला र गोरा औंलाले बरु मलाई नै छोइदिए कति सजिलै पानी झर्दो हो।
त्यति जोडले थिच्दा पनि नाथे पानी छिलिक्छिलिक् छिलिक्छिलिक् मात्र झरिरहन्छ । सुरुमा पानी थाप्नेले त पम्पमा माथिबाट पानी खन्याउँदै घ्याच्घ्याच् पारेको पार्यै गर्नुपर्ने। ऊ सोच्थ्यो, आँखामा ‘पम्प चलाउन सघाइदिए हुन्थ्यो’ लेखेर हेरिदिए वा एक चिम्टी मुस्काइदिए मात्र म थिचिदिन्थेँ।
कफ्र्युको अर्को दिन साजनसँगै बाहिर निस्कने आँट आयो उसमा । झन् अर्कको दिन त ऊ साजनको शंकरदेव कलेज अगाडिसम्म पनि पुग्यो । नाराबाजीमा मिसियो । पुलिसले लखेट्दै ल्याएपछि ऊ एउटा सटरभित्र छिर्यो हुलमुलमा । अरूहरू निस्केपछि ऊ सँगसँगै निस्केर सरासर कोठामा आयो ।
मान्छेहरूले टीभीमा आन्दोलन हेरिरहेको देखेपछि उसलाई टीभीमा आन्दोलन हेर्न मन भयो । माथिल्लो तलामा केटाहरू टीभी हेर्दै तास खेलिरहेका थिए । तर, ऊ अन्तर्मुखी र हीन अनि कुण्ठित स्वभावको भएको हुँदा चाहना दबाएरै नेपाल एफएम सुनीबस्यो आफ्नो कोठामा । भर्खरभर्खर मात्र खुलेको त्यो एफएममा ऊ विनोद ढुंगेल खुप सुन्थ्यो । त्यो एफएम नारायण वाग्लेको पत्रिकाले झैं आन्दोलनलाई खुपै बढाइचढाइँ पनि गथ्र्यको ।
सिरकभित्र धेरै बेर खासखुस गरेपछि एक बजेतिर मात्र बत्ती अफ गरियो । कोठामा अँध्यारो के भएको थियो, दुई प्राणी एकसाथ सक्रिय हुन थालिहाले । उज्यालोमा लजाउने तर अँध्यारोमा बेपत्ता सक्रिय हुने ती दुई अराजक प्राणी हुन्— मच्छड र मुसा ।
कोठामा मुसाले खत्र्याकखुत्रुक, च्याँच्याँ र चुँचुँ गर्दै चुमुकचुमुक गर्न थाले । जेठो दाइको पनि निदहराम गरेछन् । ढल र तुर्किस्थानमा दौडिने गुहे मुसाको अत्याचारबाट मुक्तिका लागि हामी सबै हातहातमा छालाका जुत्ता लिई उभियौं मध्यरातमा । बत्ती बालेर खाटभित्रका किताब, थोत्रामोत्रा बोरा, र्याक पूरै हल्याङहुल्लुङ पार्दा पनि मुसा भेटिएनन् । उज्यालामा मुसाको कतै केही चालचुल सुनिएन ।
मुसा इन्काउन्टरमा नपरेपछि बत्ती अफ गरेर सुत्यौं । अफ गर्न पाएको थिएन, मच्छडको म्युजिक र मुसाको ब्रेक डान्स सुरु भइहाल्यो । तर कोही उठेनन्, म पनि उठिनँ । चामलको बोरा काट्दै छ कि ठाउँ नभएर खाटमुनि कोचारेका किताब-कार्टुन काट्दै छ ? कताकता जिउ चिलाए-टोकेजस्तो सकसक पनि लाग्यो । सायद उडुस ? हो त रैछ ।
…
आज ठीक १० वर्षपछि ऊ मेरो कोठामा आएको छ । हामी एकैचोटि १० वर्षपछि भेटिएका होइनौं । हामी निरन्तर भेटघाट र सम्पर्कमा छौं । तर, मैले यहाँ १० वर्षपछिको मात्र कुरा गरेको । ऊ आफ्नो जिल्लातिर र काठमाडौंतिर बरोबर बस्छ । म यहीँ काठमाण्डूमा बोर्डिङको मास्टरका मास्टर नै छु।
परिवारका सबको चाहना सरकारी जागिरे होओस् भन्ने भएकाले बिनातयारी आँखा छल्न जाँच दिइरहेँ मैले पोहोरसम्म । अब त उमेर पनि गइसक्यो मेरो । मैले केही गर्न सकिनँ । एउटा कोठा भाडामा लिएर बस्छु । सम्पत्तिका नाउँमा दम्पती भएँ । एकैचोटि दुई छोराको उदास र हतास बा भएँ म । बस् यत्ति !
तर, ऊ बहुमुखी प्रतिभाको धनी भएर निस्कियो । अन्तर्मुखी स्वभावको ऊ एकदम बहिर्मुखी भएर निस्कियो । बीएमा अंग्रेजी कटाउन नसकेपछि उसले थप पढेन । तर, अब उसले नजानेको, नसकेको, नगरेको, नचाखेको, नघुमेको कहीँ केही छैन । बहुमुखी प्रतिभाको बहुजिबे्र ऊ ऐश्वर्यको करोडपति अनि ऐश्वर्याहरूको (सम्)पति भएको छ । आफ्नो जिल्लामा, तराईमा, काठमाडौंमा उसका घरघडेरी त कति छन् कति। उसले जग्गा प्लटिङको काम पनि गर्यो ।
पहिलो श्रीमतीसँग डिभोर्स भएपछि कान्छीलाई काठमाडौंको घरमा राखेको छ । उसले श्रीमतीलाई मात्र डिभोर्स दिएन, छ महिने छोरीलाई पनि छोड्यो । आफू देशविदेश घुमिरहन्छ । उसको गाडी छ, ड्राइभर छ । र, छन् उसका जहाँ गयो त्यहीँ गर्लफ्रेन्ड।
ऊ म दुःखीका अघि मोबाइल लाउड गरेर कति केटीसित छट्टाउँछ, म छक्क पर्छु। कस्ता-कस्ता फोटा खिचेको छ उसले अनेकन् मेनका र उर्वशीहरूसँग, देखेर म झन् कुण्ठित हुन्छु । नेता टाइपका महापुरुषहरूको संगत भनौं वा अँगालोमा बेरिएर फोटो खिच्दै फेसबुकमा टाँस्दै गर्नु उसको विशेषता नै हो ।
ऊ राजधानी आइरहन्छ । कहिले आउँछ पार्टीको महाधिवेशनमा प्रतिनिधि भएर । कहिले आउँछ दलैपिच्छेका पत्रकार महासंघहरूको अधिवेशनमा सभासद् भएर । कहिले आउँछ विद्यार्थी संगठनको नेता भएर । कहिले आउँछ गैसस महासंघको नेता भएर।
कहिले आउँछ निर्माण व्यवसायी भएर । कहिले आउँछ उद्योग वाणिज्य संघ भनेर । कहिले आउँछ रेडियोको सञ्चालक, पत्रकार, संवाददाता जे तालिम र गोष्ठीमा पनि सहभागी भएर ।
नपिउँदा ऊ गणतन्त्रवादी हो, पिएपछि राजतन्त्रवादी । बिहान र दिउँसो ऊ संघीयतावादी हो, साँझ राष्ट्रिय जनमोर्चावादी । ऊ अनएयरमा धर्मनिरपेक्षवादी हो, तर अफएयरमा ‘यो सब हिन्दू धर्म मास्ने खेल हो’ भन्नेवाला हो । ऊ सार्वजनिक सभामा आरक्षण र समावेशीकरणको वकालत गर्छ।
व्यक्तिगत ठाममा भने ‘पढेलेखेका बाहुनक्षत्रीहरू के अब दलितका घरमा भाँडा माझेर बस्ने ? ‘ भन्छ । ऊ मानवअधिकारवादीदेखि पशुअधिकारवादीसम्मका, शान्ति तथा द्वन्द्व व्यवस्थापनसम्मका अनेकन एनजीओ चलाएरै यति चाँडो धनैश्वर्यपति भएको हो। तर ऊ भन्छ, ‘देश बिगारेकै डलरले हो।’
सशस्त्र द्वन्द्व सकिएपछि उसलाई जति घाटा कसैलाई लागेको छैन । ऊ कामना गर्छ, सशस्त्र युद्ध होओस् र कमाइखाने भाँडाहरू थपिएका थपियै होऊन् ।
ऊ खाँट्टी बहुदलीय सदस्य हो । किनभने ऊसँग गान्धी र माओ, माक्र्स र लेनिन अनि गाई र गिलास सबै दलको सदस्यता छ । ऊ यी सबको आवश्यकताअनुसार प्रयोग गर्छ। फोन गरेर रातरातमा रुन्छ कहिलेकाहीँ ऊ मसँग।
देश र जनताका लागि दिनरात खट्दाखट्दै प्राणको आहुति दिने हाम्रा वीर सहिदद्वय चरी र घैंटेको मृत्युताका ऊ निकै डराएको थियो, खुप रुन्थ्यो फोनमा । लारकालसँग मात्र गोली रे, ऊसँग छैन भनेको ?
ऊ वरिष्ठ समाजसेवी हो । उसले मान, सम्मान र पुरस्कार त कति थुपारेको छ कति । अस्ति जिल्लामा ‘स्नातकोत्तर कक्षा सञ्चालनार्थ’ दीनबन्धुले वाचन गरेको पुराणमा सबैभन्दा ठूलो समाजसेवी-दानवीर भएर ऊ नै देखियो।
मन्त्री-प्रधानमन्त्रीलाई भेट्न जिल्लाभरिका योजना-आयोजना अनि सरुवा-बढुवा फाइल बोकेर सिंहदरबार उही आउँछ । गाउँका तन्नेरीहरू जम्मा गरेर कतार, मलेसिया र दुबई मात्र हैन मेक्सिको हुँदै अमेरिका पठाउन उही आइरहन्छ ।
अहिले ऊ एकसाथ तीनवटा कामले काठमाडौं आएको छ । वैदेशिक रोजगारदाता भनिने मानव बेपारीहरूले निःशुल्क कामदार पठाउनुपर्ने निर्णयको विरोधमा गरिरहेको आन्दोलनलाई सफल पार्न आएको छ।
अनि, आएको छ कालो कोटधारीहरूको चुनावका लागि। अनि आएको छ, अहिले सरकार चलाइरहेका कम्निस्ट भनिने दल निकट लेखनदासहरूको कचहरीका लागि।रक्सी घुट्याउँदै ऊ बारम्बार भनिरहेछ, ‘जहाँ पुग्दैन कसैको पाइलो, त्यहाँ पुग्छ यो सबैको माइलो।’
२०७३ बैशाख ७
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)