~देवराज आचार्य~
”कहाँ जाँदै छस् ए राम भरोष ?”
”आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।”
मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी ऊ बजार जाँदो छ । चप्पलबिहीन घामले डढेका उसका गोडा, च्यातिएको गन्जीबाट बाहिर हेर्न खोजिरहेका पिठ्यू र निधारभरी असरल्ल पसिना बोक्दै ऊ हिडिरहेको छ । गम्छाको बिडिया माथि ढाकी अडीरहदा बेला-बेलामा ऊ दुई हातले खैनी मोल्न भ्याउछ ।
साँझको बेला। उसकी श्रीमती रोटी पकाऊँदै छे। केटाकेटीहरु आँगनमा खेल्दैछन् ।
”राम्रो भाउमा बेच्नु भो?”
”अँ बेचें ।”
”दबाई ल्याउनु भो त ?”
”ल्याएँ । यी भिटामिनको शीशी । डाक्टरले भनेको यसले तागत दिन्छ रे।”
श्रीमतीको अनुहार एक्कासी उज्यालो भयो । खाना खाईसके पछि उसले आँफै भिटामिनको शीशी खोली र उसलाई ख्वाइदी ।
-एबरडीन, बेलायत