~मिलन वान्तवा~
बाइफाली
आइमाईजस्तो
फालाकफिलिक गरिबस्छ
पुरुषार्थी
भनाउँदाहरूका अघिपछि
र सबैलाई
उत्तेजित बनाइरहन्छ।
पुतलीजस्तो
हावामा फिरफिर
गर्न थालेपछि
संसारलाई यसरी खिच्छ कि
संसारले संसारै भुलिपठाउँछ।
हन कस्तो
आकर्षणशक्ति छ हॅं
त्यसमा?
चुम्बकमा धातुहरू आकर्षित
भएजस्तो
पोको परेर किन
थुप्रिएको होला
मान्छेहरू
त्यसको वरिपरि?
त्यसको
संसर्ग पाएपछि
मान्छेले संवेदना हराउँदोरहेछ
विवेक गुमाउँदोरहेछ
कठपुतली बन्दोरहेछ
त्यसको
आराधना गरेर
नथाक्दोरहेछ।
कतिले जबरजस्ती आँखा छोप्छन्
ताकि त्यसको चर्तिकला देख्न
नपरोस्
कतिले जबरजस्ती कान थुन्छन्
ताकि त्यसको
मादक स्वर सुन्न
नपरोस्
कतिले हृदयको ढोका बन्द गर्छन्
ताकि त्यसको
आभाससम्म
थाहा नगरोस्
तर त्यो भने
यति जब्बर छ कि
मान्छेको मन-मस्तिष्कलाई
भित्रैसम्म गिजोलेर
थिलथिलो पारिरहन्छ।
थुक्क अभासे!
जहिल्यै मान्छेहरूको
बाटो छेकेर
हावामा हल्लिबस्छ
कॉंड़ै-कॉंड़ाको अँगालो
फैलाएर
बस् कि बस् भनिबस्छ
काउसोसरिको
त्यसको
काखमा
लोदरे झण्डा!
तर त्यसको
त्यही शक्ति देखेर
म
अवाक् छु।