कविता : कारागार भित्रबाट

~यल्जी विवश~l-g-biwash

म बुझ्दैछु-
किन लाग्छ ऐठन !

म बुझ्दैछु-
कसले देख्दैछ
मेरो सपना
भत्काउने सपना,
कस्ले तड्पाउँछ सपनामा
कस्ले तर्साउँछ बिपनामा !

मेरो दिमाग
कस्ले बोधो बनाइदियो
मेरो आँखा
कस्ले चिम्स्याइदियो
मेरो नाक
कस्ले थेप्च्याइदियो
मेरो अनुहार
कस्ले चेप्ट्याइदियो
कस्ले
होच्याइदियो मलाई
बुझ्दैछु म सबै !

मेरो सगरमाथालाई
ढाका टोपीमा खुम्च्याएर
कस्ले कस्लाई
दिन खोज्यो पेवा !
मेरो भगवानलाई
कस्ले बनायो ढुङ्गा !
कस्ले बनायो-पन्डित,
कस्ले बनायो-पोडे,
र कस्ले बनायो-मलाई !

कस्ले गर्‍यो
जातपात र कामको बिभाजन
म बुझ्दैछु !

जिज्यु-पुर्खादेखी
मेरो बोज्युले
बनाउँदै आएको
न्वाँगीमा चढाउने सगुन
कुन ब्रान्डको व्हिस्की र बियर खानेले
नस्ट गर्दैछ !
मेरा भेडाबाख्रा रमाउँने
भिर-पाखा-चौउरहरूमा
कुन बहुराष्ट्रिय रक्सीको
कम्पनी कस्ले खोल्दैछ !
दौरा-सुरुवाल
चौबन्दी-चोलो,पटुकी र फरियालाई फालेर
स्कट र जिन्स लगाउन लाउने को हो,
मेरो गीत बिगार्ने को हो,
मेरो पालम, हाक्पारे,मारुनी र सेलोमा
बेताल-नाङ्गो नाच्नेहरू को हुन !

मेरो बुबालाई
सहिद बनाउने को हो ?
मेरो आमालाई
बेश्या बनाउने को हो ?
मलाई
हत्यारा बनाउने को हो ?
म सबै बुझ्दैछु !

म बुझ्दैछु-
जोकर बनेर नाँच्ने को हो,
जोकर नचाउँने रिमोट
कस्ले चलाउँछ र कस्ले बनाउँछ ?

मेरो परिचय के हो,
म को हो,

मैले
टेकेको भूमि
कस्को थियो र कस्को हो ?
म बुझ्दैछु !

ए ! अपराधी
थुन, कति थुन्छौ थुन !
कथित तिम्रो
अपराधको निराधार आरोपमा ।
तर
कहिले सक्तैनौ
मेरो बिचारहरूलाई बन्द गर्न
यो साँघुरो पिँन्जडाभित्र !

म बुझ्दैछु-
किन लाग्छ ऐठन…।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.