~मुरारी ढुङ्गेल~
पहाडको दिनचर्या अति कष्टकर । घाँसदाउरा र मेलापातमा उकालो-ओरालो नै मेरो जीवन बनेको थियो । बाल्यकालमै बाबु गुमाएँ । आमाको वृद्ध अवस्था छ । सानी बहिनी सुशीलाको भर नभए पनि दुःखमा साथ दिन्थी । सानो भाइ परिवारकै कान्छो थियो । तैपनि परिवारको गरिबीलाई बुझ्थ्यो ।
खेतबारी थोरै थियो । त्यो पनि बिस्तारै रोशी खोलाले निलिदियो । बचेखुचेको घरबारी पनि भाइबहिनी र मेरो पढाइमा धितो राखियो । दु:ख-सुख मैले आईए सम्म पढेँ । बहिनी ९ कक्षा र भाइ ६ पढ्दै छन् ।
बिहान-बेलुका चुलो बलेको दिन मन त्यसै हर्षित हुन्थ्यो । असार-साउनमा बनिबुतो गरेर काम चलाए पनि पनि भदौ-असोजमा अनिकाल पर्थ्यो । सानो भाइ भोकले रुँदा ठूला साहु-महाजनकोमा गएर चोरेर ल्याऊँ कि आत्महत्या गरेर मरुँ भन्ने अवस्थामा पुग्थेँ म ।
दिनहरु यसरी नै बित्दै गए । मनमा कहिल्यै खुशी छाएन । कहिले कल्पनाका भकारी भर्थेँ, तर वास्तविकता उदाङ्गिँदा त्यो भकारी घोप्टिन्थ्यो । त्यस्तो बेला आफ्नै मुख लोपार्न बाहेक के गर्न सक्थेँ र म ! मेरो गरिबीको हालत देखेर भाइबहिनीका झुत्रे लुगाले गिज्याउँथे । तर पनि भाइबहिनी बुझ्झकी थिए । तिनको मुहार देख्दा आत्मा रुने गर्थ्यो । प्रतिउत्तरमा मनमनै बोल्थेँ म, ‘तिमीहरूको दाजु यस्तै गरिब छ बाबै !’
तीनकोरी उमेर पार गरेकी आमाको अब त बसेर खाने बेला हो । हामी सानै छँदा बाबा बित्दा कति दु:ख गरेर आमाले हुर्काइन् । अब त म पनि थोरबहुत पढेलेखेको छु । यस्तै कुराले मभित्र कल्पनाको महल बनाउँछन् । शहर गएर सानोतिनो जागिर खाने उद्देश्य बोक्दै म गाउँ छाड्ने निर्णयमा पुग्छु । एकदिन बिहान सातुसामल बोकी घरमा बुढी आमा, भाइबहिनी र गाउँकी मेरी प्यारी निर्मलालाई छाडेर शहरतिर झरेँ ।
मुरारी ढुङ्गेल
शहरमा भने जस्तै काम पनि पाएँ । एउटा प्राइभेट कम्पनीमा लेखापालको काम । समय बित्दै गयो । केही पैसा घर पठाउँथेँ । वर्षमा एकपटक जस्तो दसैं-दसैंमा घर जान्थेँ । जागिरे र शहरिया भएर होला, गाउँका साथी र छरछिमेकले इज्जत गर्थे । ममा शारीरिक आकर्षक पनि बढेको छ रे, गत दसैंमा मेरी निर्मलाले भन्थिन् ।
भेटमा उनी र म मीठा बात मार्थ्यौं । घन्टौं बसेर कुरा गर्न पाउँदा समय बितेको पत्तै हुँदैनथ्यो । हामीबीच केही समयपछि बिहे गर्ने सल्लाह भएको छ । म शहरमा हुँदा उनले खुब सम्झिन्छिन् रे । बेलाबखत मेरी आमालाई काममा पनि सघाउँछिन् रे । मेरो घरपरिवारलाई खुब ख्याल गर्छिन् रे । यी सबै खबर मेरी सानी बहिनीले सुनाएकी थिइन् ।
समय बित्दै गयो । जागिरे भएको पनि ५/६ वर्ष बितेछ । अफिसमा सहकर्मी रचना थापा मेरो हरेक कुरामा विचार पुर्याउँथिन् । कति शालीन मुहार, मिलनसार स्वभाव र मिलेको जिउडाल ! आठ घन्टा अफिस बसाइ पनि अब त मलाई आठ मिनेटको जस्तो लाग्न थाल्यो । मीठो बोली र सभ्य व्यवहारकी रचनाले मलाई मेरी गाउँले निर्मलाको सम्झनालाई फिक्का बनाउन कुनै कसर बाँकी राखिन ।
अफिसको मेरो हरेक काममा रचनाको साथ हुन्थ्यो । हामीबीचमा प्रेम झांगिइसकेछ । हामी एक-अर्कोबिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेछौ ।
समय निमेष, सेकेन्ड, मिनेट गरी दौडिरहेछ । मेरी प्राणप्यारी रचना बाहेक अरु कसैको मलाई मतलब हुन छोडेको पनि २/३ वर्ष भइसकेको थियो । शहरको रमझम, विलासी जीवनशैलीमा म भिज्दै गएँ । त्यसमा पनि रचनाको प्रेमले मैले विगतको तीतो जीवन बिर्सँदै गएँ ।
एकदिन बिहान अफिस हिंड्ने तरखर गर्दैगर्दा हलकारा दाइले मेरो नाममा गाउँबाट बहिनीले लेखेको चिठी दिए ।
पत्र खोलेर हेरेँ –
निष्ठुरी दाइ,
नमस्कार ।
तिमी त शहरमा सुखी जीवन बिताउँदै हौला । हामी त यहाँ दु:खी नै छौं । धेरै पत्र र खबर पठाए पनि वास्तै गरेनौ । जवाफ लेख्नेसम्म फुर्सद भएन है दाइ तिमीलाई ! तर, अन्तिम पटकको यो पत्र चाहीँ ध्यान दिएर पढ है ।
भाइ पनि अस्ति बैशाखदेखि घरमा छैन । दाइलाई लिएर आउँछु भन्दै त्यतै आएको, फर्केन । धिक्कार छ छोरा जन्माउने आमाहरुलाई !
आमाले कति सपना सजाउनुभएको थियो । कल्पनामा रमाउँदै मेलापात गर्नुहुन्थ्यो, छोरो ठूलो भएर सुख दिन्छ भनेर । सहजै बिर्सियौ दाइ तिमीले । न त तिमीले बुढी भएकी आमालाई सम्झ्यौ, न त हाम्रो भविष्यलाई ।
हाम्रा खाली पेटहरु कति दिन यसरी नै रहे दाइ, तिमीलाई थाहा नहोला । आमा तिमीलाई रातदिन सम्झिराख्नुहुन्छ । तिम्रो यादमा निद्रामा पनि बर्बराउनुहुन्छ । लात हान्यौ दाइ तिमीले जन्म दिने कोख अनि दशधारा दूधलाई । आमा थला पर्नुभएको छ । दुब्लाएरपरालको त्यान्द्रो जस्तो हुनुभएको छ । बिरामी आमालाई खोले खुवाउन म दिनहुँ बनिबुतो गर्न जानुपरेकोले स्कूल जान पनि छोडेँ मैले ।
आमा ओछ्यानबाट तिमी आउने बाटो हेरिरहनुभएको छ । जतिबेलै तिम्रै मात्र नाम लिइरहनुहुन्छ । तिमी त अवश्य आउँदैनौ होला। दुई शब्द भए पनि चिठीमा लेखेर पठाऊ है आमालाई ।
तिम्री बहिनी
सुशीला
बहिनीको चिठी पढेपछि मलाई खै के भयो, एक मिनेट पनि त्यहाँ बस्न नसक्ने भएँ । भोलिपल्ट बिहानै झोला लिएर बसपार्कतिर लागेँ । अनि आमाको लागि साडीचोलो, भाइबहिनीको लागि पनि लुगाको कोसेली बोकेर गाउँतिर उक्लिएँ । रमणीय गाउँ, रोशीको सङ्लो पानी हेर्दै गाउँ पुगेँ ।
झुपडीको अघिल्तिर पुगेर ‘आमा’ भन्ने आवाज तरंगित हुन नपाउँदै भित्रबाट बहिनी निस्किएर मलिन स्वरमा भन्न थालिन्, ‘आमा बित्नुभएको एक महिना भयो । आमा भनेर नबोलाऊ दाइ । आमा यो संसारमा हुनुहुन्न । बोलाउँछौ नै भने जाऊ, रोशी खोलाको घाटमा गएर एकपटक आमा भनिदेऊ । कतै आमाको आत्माले शान्ति पाउँछ कि ! जतिबेला पनि तिम्रै नाम लिनुहुन्थ्यो । घिटिकघिटिक हुँदा एक चम्चा पानी खुवाइदिन आएको भए के बिग्रिन्थियो दाइ ? धिक्कार छ तिमी जस्तो निष्ठुरी छोरोलाई !
यति भन्दै ऊ डाँको छोडेर रुन लागी ।
पश्चात्तापको आँसु खसाल्नु बाहेक मसँग केही विकल्प थिएन । संसार नै शून्य भयो । आँखा रोशी खोलाको घाटतिरै सोझिएर रोशी जस्तै बगिरह्यो ।
झापा, हाल: मैतिदेवी ।
(स्रोत : अनलाईनखबर डट कम)