~महेन्द्र भण्डारी~
१. विषय परिचय
‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथा मातृका पोखरेल (२०२३ असार ९) को घाम झुल्कनुअघि कथा सङ्ग्रहमा प्रकाशित कथा हुन् । मातृका पोखरेल आधुनिक नेपाली कथाको उत्तरवर्ती चरणको र ७० को दशकमा कलम चलाउने प्रगतिवादी कथाकार हुन् । उनका सेतो दरवारको छेउबाट कविता संग्रह (२०५६) यात्राको एउटा दृष्य कविता संग्रह (२०६०) अनुहारहरु कविता संग्रह (२०६८) कविता र कविताहरु प्रकाशित छन् भने उनको साहित्यक यात्राको पछिल्लो चरणमा सन्त्रस्त आँखाहरु–कथासङ्ग्रह (२०६१) र घाम झुल्किनु अघि कथा सङ्ग्रह (२०६७) प्रकाशित छन् । प्रस्तुत दुई कथा घाम झुल्कनुअघि कथासङ्ग्रहमा सङ्ग्रहित १५ कथा मध्येका दुई कथा हुन् । प्रस्तुत दुई कथामा नेपालको सशस्त्र द्वन्द्वको बेलामा राज्यपक्षका सैनिकहरुको चरम ज्यादति र त्यसबाट पीडित भएका आम नागरिकमा सिर्जना भएको सङ्घातको चित्रण गरिएको छ । पोखरेलको माओवादी सशस्त्र युद्धलाई हेर्ने दृष्टिकोण प्रायोगिक र सकारात्मक किसिमको भएकाले त्यस्तैै वैचारिक पृष्ठभूमिमा प्रस्तुत कथाको पृष्ठभूमि निर्माण भएको छ । ‘घाम झुल्कनुअघि’ पोखरेलको वैचारिक दृष्टिले प्रतिनिधित्व गर्ने कथा भएकाले कथासङ्ग्रहको शीर्षक पनि त्यही कथाबाट राखिएको छ । यसबाट क्रान्तिको घाम झुल्किनु अघि या माओवादी भूमिगत भएर रहदा राज्यको क्रूर शासनको बन्धनमा परेको अवस्थालाई सङ्केत गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डमानको समाजशास्त्रीय विश्लेषणको सैदान्तिक मान्यता हो । गोल्डमानका अनुसार साहित्यिक कृतिमा समाजका व्यक्तिहरुको कुनै न कुनै पक्षको प्रतिनिधित्व भएको हुन्छ । विश्वदृष्टि साहित्यिक कृतिमा प्रस्तुत भएको एक किसिमको एउटा वर्गको विचार, अनुभुति र व्यवहारको समग्रको प्रस्तुति होे । प्रस्तुत आलेखमा ‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ शीर्षकका दुई कथाको विश्वदृष्टिका आधारमा विश्लेषण गरिएको छ । गोल्डमानका अरुपनि समाजशास्त्रीय मान्यताहरु भए पनि यहाँ विश्वदृष्टिलाई मात्र मुख्य सैद्धान्तिक मापदण्ड बनाई त्यसैका आधारमा प्रस्तुत कथाको विश्लेषण गरिएको छ ।
२. विश्वदृष्टिको सैद्धान्तिक मान्यता
विश्वदृष्टि फ्रान्सेली समाजशास्त्रीय चिन्तक लुसिएँ गोल्डमान (१९१३–१९६९)को समाजशास्त्रीय मान्यता हो । पश्चिमा संरचनावादी चिन्तनबाट प्रभावित गोल्डमानले समाज र साहित्यको द्वैधात्मक सम्वन्ध खोज्ने क्रममा विश्वदृष्टि सम्वन्धी मान्यता प्रस्तुत गरेका हुन् । उनको विश्वदृष्टि माक्र्सवादी चिन्तनबाट प्रभावित छ । उनको प्रस्तुत मान्यता हिप्पोलाई तेनको अनुभववादी पद्धति र मीमांशावादी पद्धतिबाट प्रकट हुन्छ (पाण्डेय, २०६७, २०) । यो एक किसिमको वर्गीय दृष्टिकोण हो । विश्वदृष्टिलाई केवल वर्गले मात्र प्रभाव पार्दैन । यसलाई वर्गबाहेक पेसा, वर्ग, परिवार, भू–परिवेश, समयगत कालखण्ड, जात–जातिगत संस्कार, धार्मिक तथा सामाजिक संरचना, विशिष्ट घटना जन्य परिस्थिति, राष्ट्रिय अन्तराष्ट्रिय सम्वन्ध आदिले प्रभाव पार्दछ र त्यही किसिमको विश्वदृष्टिको निर्माण हन्छ । विश्वदृष्टि समाजिक वर्गको जीवनमा निहित हुन्छ तर त्यो दर्शन, कला र साहित्यमा व्यक्त हुन्छ (पाण्डेय २०६७ः२०) । विश्वदृष्टि वर्गीय सङ्घर्ष र सम्बन्धका आधारमा जन्मन्छ । पाण्डेयका अनुसार “कुनै वर्ग वा समूहले अन्य ÷अर्को समूह वा वर्गसँग विभिन्न किसिमका सम्बन्ध बनाउँछन् र यही भाव र विचारको एउटा व्यवस्था र संरचना निर्माण गर्दछ (पाण्डेय, २०६७ ः २० । त्यही व्यवस्था वा संरचना विश्वदृष्टि हुन्छ । विश्वदृष्टि सामूहिक÷वर्गीय मनोविज्ञान हो । यो चेतनाका रुपमा लेखक÷ स्रष्टाद्वारा कृतिमा व्यक्त हुन्छ । विश्वदृष्टि एउटा व्यक्तिको हुँदैन । कृतिमा विश्वदृष्टि समाजको प्रतिनिधि लेखक स्रस्टाद्वारा व्यक्त हुन्छ । गोल्डेमानका अनुसार एउटा वर्ग वा समुहको जीवनजगत्का बारेको सुसङ्गत दृष्टि नै विश्वदृष्टि हो (पाण्डेय सन् २००६ ः१५० ) तर यो वर्गचेतना भने होइन बाहिरी भौतिक समाजको विश्वदृष्टि र कृति भित्रको आन्तरिक दृष्टिबिच समान धार्मिक र कृतिबाट विश्वदृष्टिको अध्ययन गर्न सकिन्छ । साहित्यिक कृति र इतिहासबिच प्रत्यक्ष सम्बन्ध हुने भएकाले ती कृतिहरुबाट विश्वदृष्टिको राम्ररी अध्ययन गर्न सकिन्छ । (पाण्डेय, सन् २००६ ः१५४) किन भने ऐतिहासिक प्रक्रियाका आधारमै विश्वदृष्टिको विकास हुन्छ । साहित्यिक कृतिमा व्यक्त भएको विचार सामूहिक चेतना वा पारावैयक्तिक चेतना हो यसका लेखकको वर्ग वा समुदायको दृष्टिकोण मिसिएर आएको हुन्छ । यसमा एउटा वर्ग÷समुदायको न्यूनतम सम्भावित चेतना नै विश्वदृष्टिको खोज गरिन्छ । यहाँ गोल्डमानको विश्वदृष्टि सम्वन्धी यसै मान्यताका आधारमा ‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’कथाको विश्लेषण गरिएको छ ।
३. कथा रचनाको सामाजिक तथा ऐतिहासिक पृष्ठभूमि
‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथा नेपाली राजनीतिक र सामाजिक इतिहासको (२०५२ देखि २०६२ सम्मको) द्वन्द्वकालीन सन्दर्भसँग सम्वन्धित कथा हुन् । यी कथामा तत्कालीन नेकपा माआवादीले सञ्चालन गरेको जनयुद्ध र त्यसको प्रतिरक्षाका लागि परेको तत्कालीन राज्यव्यवस्थाबिचको चेपवामा परेका आम नागरिकहरुको जर्जर अवस्था र राज्यव्यवस्थाका सैनिकहरुको ज्यदतिलाई प्रस्तुत गरिएको छ । यहाँ स्वयम् कथाकारले तत्कालीन माओवादी क्रान्तिलाई सकारात्मक आँखाले हेरेका छन् । उनी भन्दछन्ः
‘मलाई के लाग्छ भने सचेत ढङ्गले सुरु गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखनहरुको मूल अभीष्ट भनेको समाजलाई रुपान्तरण गर्नु हो । केहि कमीकमजोरीहरु रहे पनि विगतको बाह्र वर्षको जनयुद्ध नेपाली समाजको रुपान्तरणका लागि एउटा कोसे ढुङ्गो थियो’ । –भूमिका…….) ।
यो कथाकारको धारण हो । यसै कथाकार स्वयम् प्रगतिवादी चेतनाबाट प्रभावित भएकाले उनका कथामा युद्धलाई सकारात्मक दृष्टिले हेर्ने दृष्टिकोण प्रस्तुत भएको छ । युद्ध नचाहने पक्षलाई युद्ध नराम्रो र भयवह लागे पनि युद्ध चाहने वा युद्धबाट परिवर्तन चाहनेहरुलाई भने यो सौन्दर्यपूर्ण नै लाग्छ । यही सन्दर्भमा कथाकार भन्दछन् ‘जनयुद्धको यो प्राप्तिलाई कमजोर बनाउन अनावश्यक बहस गर्न खोज्नेहरु आफैप्रति पनि इमानदार छैनन् भन्ने मलाई लागिरहन्छ । विशेषतः नेपाली युवाहरुले प्रस्तुत गरेको त्याग बलिदान र सयौँ ती घटनाहरु मेरा लागि निकै प्रेरणादायी रहेका छन् । (भूमिका) कथाकारको यो धारणा तत्कालीन समाज र वर्ग र साहित्यिक कृति प्राप्तिको धारणा हो ।
तत्कालीन आवस्था निकै सङ्घर्ष पूर्ण थियो । यस सन्दर्भलाई सङ्केत गर्दै ताराकान्त पाण्डेय भन्छन्ः नेपालको सामन्तवादी राज्यशक्ति र तिनका पुराना मान्यता तथा अवशेषलाई जरैदेखि परिवर्तन गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने हेतुले आरम्भ गरेको युद्धलाई माओवादीले जनयुद्ध नाउँ दियो । यथार्थमा त्यो एउटा उच्च प्रकारको वर्गसङ्घर्ष नै थियो । (पाण्डेय २०६७ ः २१) तत्कालीन माओवादीले भूमिगत रुपमा सञ्चालन गरेको त्यस युद्धले समाजका विभिन्न अङ्ग, तह र तप्कामा व्यापक परिवर्तन ल्यायो । यस समयमा त्यस युद्धलाई हेर्न सत्तापक्ष र विद्रोही पक्षका आ–आफ्नै दृष्टिकोणहरु विकसित भए । उत्पीडित जति, लिङ्ग, वर्ग र समुदायलाई यो सकारात्मक हुन गयो । यसले उनीहरुको तत्कालीन अवस्थामा एक प्रकारको विश्वदृष्टिको निर्माण गरिदियो ।
नेपालको तत्कालीन राज्यव्यवस्थाले भने त्यस जनयुद्धलाई आतङ्कको संज्ञा दियो । राज्यपक्षले त्यस युद्धको प्रतिरक्षाको अनेक तौर तरिका अपनायो । यसले समाज पनि दृई पक्षमा विभाजित भयो । समाजका उत्पीडित पक्षहरुले माओवादी युद्धलाई ऐतिहासिक आवाश्यकताको उपज ठान्यो र सत्ता पक्षले हिंसा र आतङ्कको गन्ध देख्यो । उसले माओवादीका नाममा निहत्था सोझा जनतालाई व्यापक दुःख दियो । सर्वसाधरणले दुवै पक्षबाट उत्पीडन सहनु पर्दथ्यो । ज–जस्ले जे–जस्तो भोगेको भएपनि त्यही समाजिक ऐतिहासिक संचालन नै प्रस्तुत कथाको पृष्ठभूमि बनेको छ ।
प्रस्तुत कथामा कथाकार सशस्त्र जनयुद्धको परिघटना र त्यसका विभिन्न पक्षमाथि तटस्थ नबनेर युद्धको पक्षलाई समर्थन गर्न पुगेका छन् । यस सन्दर्भमा उनी भन्दछन् ः–
शोषण अत्याचार भ्रष्टाचार र अन्यायमाथि चढेर बनेको इज्जत र प्रतिष्ठालाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन् । अर्थात् हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेको छैन । समाज रुपान्तरणका निम्ति भिन्न–भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतीको विषय हो । मैले लेखेका कथाहरुले मानिसहरुलाई एउटा उद्देश्यतर्फ प्रेरित गर्न सकुन भन्ने मेरो चाहना हो । … प्रत्येक लेखक पाठक र समाजप्रति समर्पित हुन सक्न पर्दछ भन्ने मेरो मान्यता हो । (भूमिका)
कथाकारको भनाइबाट पनि उनी युद्धप्रति सचेत र सकारात्मक छन् भन्ने पुष्टि हुन्छ । यो सचेतना वा दृष्टिकोण केवल लेखकको मात्रै होइन । यो त तत्कालीन अवस्था दुई भागमा विभाजित वर्ग मध्यृ उत्पीडित वर्गको विश्वदृष्टि हो । यही विश्व दृष्टि र ऐतिहासिक सन्दर्भका आधारमा उक्त दुई कथा निर्माण भएको छ ।
४. कथामा अभिव्यक्त विश्वदृष्टि
प्रस्तुत आलेखमा ‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथामा विश्वदृष्टि नेपाली समाजका उत्पीडित वर्गका जनताहरुको विश्वदृष्टि प्रस्ततु गरिएका छ । प्रस्तुत दुई कथाको विश्वदृष्टि एकै किसिमको भएपनि यहाँ तिनको विश्लेषण फरक फरक किसिमले गरिएको छ ।
४.१ ‘घाम झुल्कनुअघि’ कथाको विश्वदृष्टि
‘घाम झुल्कनुअघि’ कथामा सशस्त्र युद्धसँग सम्वन्धित विश्वदृष्टिको प्रयोग गरिएको छ । प्रस्तुत कथा परिवेश र परिस्थितिमा शाही नेपाली सेनाले युद्ध हुदाँ र नहुदाको परिस्थितिमा सर्वसाधरण र नेपाली युवतीहरु मथि गरेको अन्याय र अत्याचारले ती युवतीहरुमा उत्पन्न भएको विश्व दृष्टि यस कथामा देखाइएको छ । यो कथा कटारी र घुर्मीको बिचमा पर्ने मयाङ्खु गाउँकी एउटी सोझीगाँउले युवती माइली पहिलो पल्ट ‘कौशिकी मासिक, वर्ष ८ र अङ्क ६ पूर्णाङ्क ८५, २०६५ असोजमा पहिलो पल्ट प्रकाशित भएर २०६० सालमा घाम झुल्कनुअघि कथासङ्ग्रहमा सङ्ग्रहित तेस्रो कथा हो । प्रस्तुत कथामा तत्कालीन मगरको जीवन भोगाइमा निर्मित भएको छ । तात्कालीन परिवेशमा शाही सेनाहरुलाई कटारी र घुर्मीको बाटो बनाउने जिम्मा दिइएको थियो । त्यसबेला शाही सेनाको ज्यादती चरम थियो । यस सन्दर्भमा कथाकारको शाही सेनाप्रतिको दृष्टि यस्तो छ –
एक दशक अघि कटारी – ओखलढुङ्गा सडक खण्डको निमार्ण कार्य शाही सेनाले जिम्मा लिए पछि माइली जस्ता धेरै ग्रामीण युवतीहरु सेनाको वैध या अवैध पत्नी बन्न पुगे । … उसलाई पनि लोग्नेले बच्चा जन्मनु भन्दा अघि नै छाडेर अन्यत्र सरुवा भएर गएको थियो । कटारीदेखि ओखलढुङ्गा सम्म सडकको आसपास माइली जस्ता प्रशस्तै युवतीहरु छन् र बाबु नचिनिएका बच्चाहरु समेत छन् । माइलीको लोग्ने पनि डडेलधुरा तिरको हो रे । तर उसलाई डडेलधुरा कति टाढा छ, थाहै छैन (पोखरेल, २०६७ ः १५) ।
यो कथामा शाही सेनाको उत्पीडन र ज्यादतिप्रति व्यक्त भएको विचार त्यसबेला शाही सेनाबाट पीडित विपन्न वर्गको विश्वदृष्टि हो । त्यस बेला शाही सेनाका विरुद्ध कोही पनि बोल्न सक्ने अवस्था थिएन् । जनताका सुरक्षा र देशको रक्षामा खटाइएका प्रतिनिधिहरुबाटै नेपाली चेलीहरु दिन दाहाडै बलात्कृत हुन्थे । त्यसबेला शाही सेनाका सामु कलिला चेलीहरुले बलात्कारको सिकार हुनु पथ्र्यो । जनताले उजुर वाजुर गर्ने कुनै ठाँउ हुँदैनथ्यो । त्यही अवस्थामा आफ्नै देशका सेनाप्रति जनतामा एक प्रकारको दृष्टिकोण वा विश्वदृष्टि निर्माण भएको थियो । त्यही दृष्टिकोण नै माइली जस्ता युवतीहरुको विश्व दृष्टि हो । तत्कालीन सेनाप्रति उत्पिडित वर्गको दृष्टिकोणलाई कथामा यसरी गरिएको छ ः
शाकी सेना भन्ने बित्तिकै उसको मनमा घृणाको एउटा बिशाल पोखरी निर्माण भएको छ । शाही सैनिककै रुपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश ग¥र्यो र उसको ब्यतिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एटम बलमे झै पलमरमै खण्डहर बनाइदियो । उसको मात्र हाइन उसका कैयौ केटी साथीहरुको हुल देख्ने वित्तिकै उसको भित्री मन एक एक पटक फेरी काँरयो – पोखरेल ः २०६७ ः१६)
तत्कालिन अवस्थामा शाहीसेना प्रति एउटा वर्गको दृष्टि हो । माइलीको जस्तै तत्कालीन अवस्थामा शाही सेनाबाट माइली जस्ता कयौँ नेपाली चेलीको जीवन बरवाद भएको ऐतिहासिक यथार्थ हो । नेपालमा माओवादी सशस्त्र युद्ध सुरु भएपछि राज्यशक्तिले त्यही शही सेनालाई प्रतिक्रान्तिका लागि खटायो । सेना र माओवादीबिच दिन दिनै मुठभेड र युद्ध हुन थाले । सेनाले आतङ्कारीको नाममा कैयौ सोझा सिधा जनताहरुको हत्या ग¥यो र कतिलाई बेपत्ता पा¥यो । युद्धको बेलामा त शाही सेनाको ज्यादति झनै बढेर गयो । कथामा सैनिकहरुले गाउँको सोझो भवनाथको छोरालाई महाभारतको डाँडो बेतिनीमा ल्याएर चरम यातना दिन्छन् र उल्टै ज्यान जोगाउन भाग भन्छन् त्यो मान्छे अलिपर पुगेपछि गोली हानेर मार्छन् र त्यही तलको खोल्सामा लास गाडेर उनीहरु जान्छन् ।
कथाकारले यस कथामा मानवका करुणा र जित्कारमा राज्य सञ्चालन गर्ने तत्कालीन शासन पद्धति प्रतिको एक वर्गको विश्वदृष्टि प्रस्तुत गरेका छन् । यहाँ निहत्था जनताको रगतमा होली खेलेर आफ्नो राज्यसत्ता र संप्रभुता देखाउने तत्कालीन शाही सेनाप्रतिको दृष्टि नै यस कथाको विश्वदृष्टि बनेर आएको छ । यहाँ नारी र बालबालिकामा परेको हिंसा र प्रतिहिंसाले निम्त्याएको अवस्थामा आम–पीडित वर्गहरुको शाही सेना ठिक छैनन् भन्ने विश्वदृष्टि प्रस्तुत भएको छ । यस कथामा सैनिक जत्थाले निरीह मानिसलाई माओवादी होइन भन्दा भन्दै पनि गोली हानेर मारेको देखाई कथाकारको तत्कालीन शाही सैनिकप्रतिको दृष्टिकोण पनि प्रस्तुत भएको छ । यसबाट कथाकरले शाही सैनिकको ज्यादति ठीक छैन भन्ने विश्वदृष्टि यस कथामा प्रस्तुत गरेका छन् ।
४.२ ‘बाध्यता’ कथामा विश्वदृष्टि
‘बाध्यता’ कथामा सशस्त्र युद्धसँग सम्वन्धित विश्वदृष्टि प्रस्तुत भएको छ । प्रस्तुत कथा मिर्मिरे (वर्ष ३२, अङ्क १, पूर्णङ्क २६०, २०६४ बैशाख) मा पहिलो पल्ट र घाम झुल्किनु अघि कथा सङ्ग्रहमा दोस्रो पल्ट प्रकाशित कथा हो । यस कथामा तत्कालीन माओवादी युद्धको समयमा सेनाबाट पिपडत भएका सर्वसाधारण मानिसहरुको विश्वदृष्टि प्रस्तुत भएको छ ।
प्रस्तुत कथामा जनतामा भय र आतङ्कको बवन्डर ल्याई आफ्नो प्रभुत्व देखाउने सरकार पक्षको प्रतिनिधि सेनाहरुको ज्यादति र उनीहरुको कामबाट जीवनमा ज्यादै कष्टकर तनाव र यातनाहरु भोग्दै बसेका सर्वसाधारणहरुको अवस्था देखाइएको छ । यहाँ माइली, पण्डित भवनाथ, दताबहादुर जस्ता पात्रहरु तत्कालीन सरकार पक्षबाट पीडित बनेका निमुखा जनता हुन् । यहाँ सेनाको ज्यादती सहन नसकेकै कैयौ युवतीहरु मओवादी युद्धमा लडाकु बनेर हिडेको यथार्थ प्रस्तुत गरिएको छ ।
प्रस्तुत कथामा कथाकारले युद्धलाई तत्कालीन अवस्थाको परिवर्तनको सम्वाहकको आधार मानेका छन् । यस कथामा पात्रहरुले युद्धको अनिवार्यता महशुस गरेका छन् । यहाँका सैनिक बाहेकका पात्रहरु कुनै न कुनै रुपले सेना वा सरकारपक्षबाट प्रताडीत रहेका छन् । यहाँ ती पात्रहरु तत्कालीन अवस्थाको अर्को वर्गका पात्रहरु हुन् । उनीहरुबाट युद्धको बेलाको विपन्न वर्गको विश्वदृष्टि प्रस्तुत भएको छ । यहाँ अन्तिममा माइली आफ्ना पुराना आफू जस्तै वेवारिसे भएका साथीहरुसँग माओवादी युद्धमा सामेल भएको देखाएर तत्कालीन अवस्थामा युद्ध अनिवार्य रहेको दृष्टिकोण प्रस्तुत गरिएको छ । यहाँ देशको अवस्था परिवर्तन गर्न युद्ध आवश्यक भएको छ भन्ने विश्वदृष्टि प्रस्तुत भएको छ । यहाँ कथाकार स्वयंबाट कथामा एक किसिमको विश्वदृष्टि प्रस्तुत भएको छ । यहाँ स्वयं कथाकार युद्ध पे्रमी भएका छन् । यो विश्वदृष्टि लेखकको मात्र नभई तत्कालीन अवस्थाका सम्पूर्ण उत्पीडित वर्गको विश्वदृष्टि हो । यहाँ माइली, भवनाथ पण्डित, ठाइली जस्ता पात्रहरुको सामुहिक चतना नै विश्वदृष्टि बनेर आएको छ ।
५. निष्कर्ष
प्रस्तुत ‘घाम झुल्किनुअघि’ र ‘वाध्यता’ कथा पोखरेलका आधुनिक नेपाली कथाको उत्तरवर्ती चरण अन्तर्गत प्रकाशित भएका कथा हुन् । प्रस्तुत कथामा नेपालको माओवादी युद्धको बेलामा सत्ता पक्षले प्रतियुद्धका नाममा खटाएका सेनाहरुको ज्यादती प्रस्तुत गरिएको छ र त्यस वेला विभजित भएको युद्धरत पक्ष र सरकारी पक्षप्रतिको साधारण मानिसहरुको नै विश्वदृष्टि भएर प्रस्ुतुत भएको छ । यी दुवै कथामा कथाकारले माओवादी युद्धलाई सौन्दर्य पूर्ण र आनिवार्य रुपमा हरेका छन् । यो हेराइ तत्कालीन अवस्थाका उत्पीडित वर्गको विश्वदृष्टिको रुपमा आएको छ । त्यस वेलाको माओवादी युद्ध अनिवार्य र समाज परिवर्तन गर्न आवश्यकीय थियो भन्ने लेखकको विश्वदृष्टि यहाँ प्रस्तुत भएको छ । यो केवल लेखकको मात्र विश्वदृष्टि होइन यो त त्यस बेलाका समग्र उत्पीडित र युद्धलाई सकारात्मक दृष्टिले हेर्ने र त्यसलाई परिवर्तनको कोसेढुङ्गा ठान्नेहरुको विश्वदृष्टि हो । यहाँ कथाकारले समाजवादी राज्यव्यवस्थाको स्थापना गर्नुु आजको वाध्यता हो त्यस विना देशको उन्नति र प्रगति हुन सक्दैन भन्ने विश्वदृष्टि यी दुई कथामा प्रस्तुत गरेका छन् । समाजशास्त्री लुसिएँ गोल्डमानको विश्वदृष्टिका आधारमा प्रस्तुत दुई कथामा नेपालका राज्य पक्षका वर्ग र उत्पीडित वर्ग मध्ये उत्पीडित वर्गको सामुहिक चेतना प्रस्तुत भएकोले त्यही नै कथाको विश्वदृष्टि बनेर आएको छ ।
सन्दर्भ सामग्री सूची
क्षेत्री, उदय.२०६४ समाजशास्त्रीय दृष्टिमा इन्द्रबहादुर राईका उपन्यासहरु अप्रकाशित विद्यावारिधि शोधप्रवन्ध. त्रि. वि. वि. ।
जैन, निर्मला. सन् १९८४ साहित्यका शमाजशास्त्रीय चिन्तन. दिल्ली ः दिल्ली विश्वविद्यालय ।
पाण्डेय, ताराकान्त. २०६७. ‘छापामारको छोरो कथाको समाजशास्यत्रीय विश्लेषणः विश्वदृष्टिका परिप्रेक्षमा’ . शब्दसंयोजन २०६७ वैशाख ।
पाण्डेय, मैनेजर, (सन् २००६) साहित्य को समाजशास्त्र की भुमिका. चन्डीगढः हरियाणा साहित्य अकादमी ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
