~मणि लोहनी~
अन्ततः केशरा रानीले विवाह गरिन् ।
त्यो पनि आफ्नो नातिभन्दा मुस्किलले चार वर्ष जेठो केटोसँग ।
केशरा रानीको विवाहले सहरमा एक किसिमको सन्देह नै ल्यायो । सर्वत्र मानिसहरु कुरा गर्न थाले- ‘यो त अति नै भयो ।’
‘यसो नगरेको भए हुन्थ्यो ।’
‘विहे नै गर्नु थियो त आफ्नै उमेरका बुढाहरुसँग गरेको भए हुने नि ।’
केशरा रानीकै घरमा काम गर्नेहरु चाहिँ भन्दै थिए- ‘आ ठीकै भयो । सधैं नयाँ नयाँ केटा लिएर आइसिन्थ्यो । एक जना समाइस्यो बेसै भयो ।’
यी र यस्तै सन्दर्भहरुमा सहरका केटाहरुमा भने भिन्नै निराशा थियो । केशरा रानीको विवाहसँगै उनीहरुको रोजीरोटी खोसिएको थियो । सहरका २०-२२ का केटाहरुको कमाई खाने भाँडो बनेकी थिइन् केशरा रानी । पैसा भएन की केशरा रानीकहाँ गयो पैसा लिएर आयो । उनीहरुलाई निकै सजिलो थियो । अब के विवाहपछि पनि केशरा रानीले केटाहरुलाई पहिलेको जस्तै नै पैसा र मोजमस्ती गर्न देलिन् ? केटाहरुलाई फेरि पनि रानी साहेवले पहिलेकै जस्तो व्वयहार गर्छिन् भन्ने विश्वास थिएन । उनीहरुमा एक किसिमको सन्देश थियो । एक किसिमको डर । कमाउन र क्यारिएर छाडेर केशरा रानीसँग मोजमस्ती पर्न पल्केका उनीहरु रानी साहेवको विवाहसँगै स्तव्ध भएका थिए ।
रानी साहेवको आफ्नै हाल भने अलि बेग्लै थियो । विवाहको दिन उनको अनुहारमा भिन्नै चमक थियो । त्यसो त अन्य दिनहरुमा पनि उनको अनुहार उत्तिकै चमकदार हुने गथ्र्यो । प्रायः हरियो पहिरनमा देखिने रानी साहेव विवाहको दिन रातो परिधानमा बेग्लै सजधजका साथ प्रस्तुत भएकी थिइन । उनको बेहुला १८ वर्षे रोज भने बलिको बोकोजस्तो निरीह देखिन्थ्यो । कालो सुटमा ऊ कालै बोको जस्तो देखिएको थियो । नयाँ सिनेमाको नयाँ हिरो रोजले जिम गरेर आकर्षक बनाएको शरीर पनि सुटले छेकेको भएर होला साह्रै कमजोर र लुते लाग्थ्यो ऊ ।
केशरा रानी सहरकी सम्भ्रान्त परिवारकी स्वास्नीमानिस । उनको सहरमा दुई/तीन तारे होटल, चलचित्र र गाडी लाइनमा लगानी रहेको छ । उनी सहरकी प्रतिष्ठित उद्योगपति पनि मानिन्छिन् । रानी साहेवको दुई छोरा अमेरिकामा र एक छोरी लण्डनमा छन् । यहाँ रानीसाहेव एक्लै बस्थिन भन्ने होइन उनीसँग प्रशस्त कामदारहरु थिए । नोकर चाकरहरु थिए । बत्तिसपुतलीको बङ्गला जस्तो घरमा रानीसाहेवले डाँफे, मयुर र खरायो पालेकी थिइन । दुई ठूला एलसिसन कुकुर पनि थिए तर ती कुकुर उनका दिवङ्कगत श्रीमान् मेदिनीकुमार शाहले ल्याएका हुन् ।
मुलुकमा प्रजातन्त्र आए लगत्तै केशरा रानीका श्रीमान् वितेका हुन् भन्ने मैले सुनेको हुँ । त्यसताका म सानै थिएँ । मेरो रानी साहेवसँग परिचय पनि थिएन । तर जब मैले रानी साहेवसँग परिचय गरें, त्यसताका मैले उनको बारेमा धेरै प्रसंसा सुनिसकेको थिएँ ।
सहरकी प्रतिष्ठित उद्योगपति घरानाकी उनलाई सबैले राम्रै मान्थे । निजी क्षेत्रबाट प्रकाशित हुने एक निजी विजनेश म्यागजिनले गरेको वर्ष महिला घोषणामा उनको पनि नाम सामेल थियो । त्यही कार्यक्रममा मैले रानी साहेवलाई पहिलोचोटी देखेको । उनको धेरै प्रसंसामध्ये मैले सुनेको एउटै बैगुन थियो- तन्नेरी केटाहरु केशरा रानीको कमजोरी हो । उनी केटाहरुसँग घुम्थिन् । रेष्टुरेन्ट जान्थिन् । फिल्म हेर्थिन । नयाँ नयाँ ठाउँ जान्थिन् र रमाइलो गर्थिन् । थाहा छैन यो रमाइलोमा के के सम्मिलित थियो ।
रानी साहेवलाई पहिलोचोटी देखेको बेला मुलुकमा गणतन्त्रको लागि ठूला ठूला आन्दोलन र युद्धहरु भइरहेका थिए । सर्वत्र राजतन्त्रविरोधी नारावाजी भइरहेका थिए । राजपरिवारसँग कुनै सम्बन्ध नराख्ने रानी केशरालाई भने यसको कुनै मतलव थिएन । आफ्नो चिरपरिचित मुस्कानमा उनी वर्ष महिलाको उपाधि लिइरहेकी थिइन । उनको मुस्कानको मैले यसअघि नै धेरैचोटी प्रसंसा सुनेको थिएँ । मलाई प्रसंसा झुठो लागेन ।
केशरा रानी गणतन्त्र आएपछि पनि रानी साहेव नै रहिन । उनको यो उपाधि कसले दियो र कहिलेदेखि दियो केही थाहा छैन र पनि मानिसहरु उनलाई रानी साहेव वा केशरा रानीकै नामले चिन्दथे । श्रीमान् मेदिनीको निधनपछि पनि उनी सधैं रातै पहिरनमा देखिन्थिन् । पछिल्ला केही दिनहरुमा भने उनी हरियो पहिरनमा सजिन थालेकी थिइन् । सहरका अन्य मानिसहरुले यस विषयमा अहिलेसम्म पनि कुरा काटिरहेका छन् तर यो कुराले रानी साहेवलाई कहिल्यै कुनै असर गरेन । मसिना उमेरका केटाहरु भने रानी साहेवलाई देख्नै हुँदैनथ्यो । साना तन्नेरीहरुलाई घुम्न र खाना खुवाउन उनी सधैं आतुर रहन्थि्न । उनीसँग बसउठ गरेका केटाहरु पनि झ्न खुशी र सन्तुष्ट देखिन्थे । रानी साहेवको यो व्यवहार सहरमा महसुर थियो । त्यसो त टिनएज केटाहरु माझ पनि रानी साहेव चर्चित नै थिइन् । उनलाई लिएर मानिसहरु के सोच्थे भन्दा पनि उनीसँग रहेपछि पैसा पाइन्छ । र मस्ती हुन्छ भनेर केटाहरु झ्यामिन्थे भन्ने सबैलाई थाहा थियो ।
मेरो उमेर रानी साहेवको कमजोरी बन्ने उमेर थिएन । र पनि रानी साहेव मसँग नजिक थिइन् मलाई उनी एउटा रहस्य लाग्थ्यो र उनलाई म एउटा सुन्दर कवि । कतिपटक उनले वाइनमा लट्ठ हुँदै मेरो कविता सुनेकी छिन् । मेरा कवितामा थाहा छैन उनी कस्तो मजा भेट्थिन् तर पनि महिनामा एक दुईचोटी मैले उनलाई कविता सुनाउनु नै पथ्र्यो ।
मैले सधैं रानी साहेवलाई सोधेको पनि छु, ‘यी कलिला केटाहरुसँग तपाई के गर्नुहुन्छ ?’ उनी आफ्नो चिरपरिचित मुस्कानमा मसँग बोल्थिन्, ‘जे अरु गर्दैनन् ।’
पचास नाघेकी रानी साहेव र १०-२२ का केटाहरु मलाई अजिव लाथ्यो ।
झन् अहिले १८ वर्षको केटोसँगको उनको विवाह । आफैमा अजिवको रहस्य बनेको छ । मलाई रानी साहेवका काम गर्ने रमिता डङ्गोल नाम गरेकी एक ३५-४० की महिलाले भनेकी थिइन्, ‘दिनमा एक जना नयाँ केटा नभई रानी साहेवलाई हुँदै हुँदैन । कोही पनि नभएको दिन उहाँ बोउलाउनु हुन्छ । कराउनु हुन्छ , ड्रग्स खाएका केटाहरु जस्तै चिच्याउनु हुन्छ । तर केटाहरु भएको दिन घर शान्त हुन्छ । न उहाँ कराउनु हुन्छ न चिच्याउनु नै हुन्छ । बरु कहिलेकाँही सँगै रहेका केटा चाहिँ कराएको चिच्चाएको सुनिन्छ तर पछि हाँस्दै दुवै जना घर बाहिर घुम्न जानुहुन्छ ।’
किन पचास नाघेकी रानी साहेव कलिला केटाहरुमा मग्न छिन् । के छ यी हुर्किदै गरेका केटाहरुसँग ? उनीहरुको आवेश र उमेरको अज्ञानतामा थाहा छैन रानी साहेव कुन सन्तुष्टि भेट्न्थिन् ?
मैले सुने अनुसार राजा मेदिनी उच्च सरकारी अधिकारी थिए । सहरमा प्रशस्त जग्गा जमिन भएका उनीहरुको सम्पन्नतामा कुनै कमि थिएन तर एक दिन राति राजा मेदिनी अकस्मात चिच्याए । घरभरिका मानिस बिउँझिए । पछि सबैमा खवर पुग्यो- राजालाई हृदयाघात भयो । मेदिनी त्यतिखेर नै वितेका थिए ।
राजाको निधनपछि रानी केशरा झन् जवान र सुन्दर देखिन थालेको सहरवासीहरु बताउँछन् । रङ्गीन पहिरन उनले कहिल्यै छाडिनन् । विधवा उनले आफूले आफूलाई कहिल्यै पनि मानिनन् । भन्थि्न, ‘मरेको ऊ हो । म किन आफ्ना रहरहरु मारुँ ?’
अहिले रानी साहेवको विवाहले सहरमा सन्देह पैदा भएको छ ।
यो केटाको आयु कति होला ?
के यसलाई यो कलिलै उमेरमा हृदयाघात होला ?
के यो पनि मध्यरातमा एकचोटी चिच्याउँला ?
र त्यसपछि कहिल्यै चिच्याउन नसक्ला ??
मैले सुनेको रानी साहेवलाई केटाहरु चिच्याएको मन पर्छ रे ।
(स्रोत : कथाकार मणि लोहनीको चौंथो कृति “परास्त प्रेम” बाट । कृतिमा यो कथाको शीर्षक ‘केशरा रानी’ छ ।)