~सुरेश बखुन्छे~
निष्पट्ट अँध्यारोमा
कहीं कतैबाट
टिलपिल टिलपिल बलेको
एउटा भुङ्ग्रो खस्दा
धेरैले उज्यालो र न्यानोको
महसुस गरेका थिए।
‘उज्यालो भयो,
अब त अँध्यारो नहोला (?)
सदासर्वदा उज्यालै रहला (?)
न्यानो रहिरहला (?)’
प्रायले यही सोच्थे।
किन्तु,
अचानक,
बेजोडको बेमौसमी हावाले
आगो निभाउँदा,
आगो जतन गर्न नसक्दा,
पुनः अँध्यारो छायो।
सबै आगो ताप्नमै मस्त
अनि,
सबै मिर्मिरेमै लीन हुँदा,
हावा लाग्न सक्छ भनी
सायदै सोचेथे,
र त,
आगो निभ्यो।
झिनो आशा बोकेर
खसेको आगो
क्षणभरमै झ्याप्प निभ्यो,
केही प्रश्नहरू छोडेर।
प्राकृतिक हावाभन्दा पनि
कृत्रिम हावाले
आगो निभाएको
विरलैले बुझेका होलान्,
वा,
बुझ पचाएरै बसे।
अँध्यारोमा रम्ने ‘निशाचरहरू’
मारकाटमै जिउने ‘बगरेहरू’
अनि ‘जल्लादहरू’ बाट
अब आगोको आशा नगरे हुन्छ।
अब हामी जाग्नु छ,
आगो बाल्नु छ,
सधैं न्यानो र उज्यालो दिने
स्वर्गको आगो बाल्नु छ।
कैयौं भोका र नाङ्गाहरूले
जोगाउनु छ ‘प्रमिथस’ को आगोलाई।
उक्त आगोले आङ तताउनु छ,
उज्यालो छर्नु छ,
हरहमेसा बलिरहने,
न्यानो दिइरहने,
त्यो स्वर्गको आगो बाल्नु छ।
(स्रोत : मजदुर दैनिक)