~सुरज राना~
कागजको छातिमा राजमार्ग बनाएर
अक्षरहरुले महायात्रा गरे पछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रीपिटक बन्यो
कागज गीता, पुराण र महाभारत बन्यो
आज यिनै कागजहरुको थुप्रोलाई ढोगे पछि
मान्छे इसाइ बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्द बन्छ
मान्छे हिन्दु बन्छ
र मान्छे भुल्दछ मान्छे बन्न।
चिहानघरका
चौताराका
देउरालिका
दोबाटोका सिलाहरु माथी
अक्षरहरुले पलैटी मारेर बसे पछि
मुर्दाका सम्झनाहरुले सास फेर्न थाल्दछन
अशाशकहरुले आदिम सभ्यता देखि
सङ्घर्स गरेर निर्माण गरेको ईतिहासको अनुहारमा
शाशकहरुको निरङ्कुश अक्षरको झिरले डामिए पछि
“ईतिहास”ले शासकहरुको पैतला चाट्न थाल्छ
अक्षरहरुको ढाडमा पदचाप नराखि
हिड्न सक्दैन समय आफ्नै सापेक्षतामा
अक्षरहरुको दहमा डुबुल्कि नमारि
बिचारले बिचारको अस्तित्व गुमाउछ
एउटा युग र अक्षरको सम्भोगबाट
जन्मिएका नया दर्शनहरुलाई
मृत्यु दण्डको फैसला सुनाइदिन्छ अर्को युगले
अक्षरहरुकै खुल्ला इजलासबाट
अक्षरहरुकै राँको बालेर
मेरा कबिताहरु जुलुसमा निस्कि रहेको बेला
चेतनाको झ्यालमा कालो पर्दा टाग्दै
केहि भलाद्मीहरु मलाइ कुटिल प्रश्न गर्छन-
कवि ज्यु, अक्षरहरुसङ्ग खेलेर पेट भरिन्छ?
सुरज राना
धरान सुनसारी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)