लघुकथा : सोख

~माधवप्रसाद दाहाल~

सोख पनि अचम्मको नसा रहेछ । कसैलाई कुकुर पाल्ने सोख, कसैलाई हेभी मोटरसाइकल घुइकाउने । कसैलाई गाडी (कार) किन्ने त कसैलाई धेरैभन्दा धेरै केटीसाथी बनाउने सोख । (महिला पाठकहरुले मलाई माफ गर्नुहोला– तपाईंहरुको बारेमा अर्को कुनै मौका मिले चर्चा गरौंला ।)

सहर बजारमा आजभोलि घरको गेटमा ‘कुकुरदेखि सावधान’ लेखिएको प्रशस्तै देख्न सकिन्छ । उहिले–उहिले कसैसँग रीस उठ्यो भने गाली दिन ‘तँ कुकुर’ भन्ने शब्द प्रयोग गरिन्थ्यो । कतै–कतै त्यो अद्यापी छँदैछ । तर, कुकुर शब्दको प्रयोगदेखि सावधान हुनुपर्ने बेला भइसकेको छ । कुकुर शब्दले आजभोलि गल्ली–गल्ली डुल्ने, छेऊमा पिसाब फेर्ने, विष्टा खाने भन्ने मात्र अर्थ दिदैन । यो त आजकल सभ्यताको प्रतीक हुँदैछ, त्यो पनि सहरिया जगतमा ।

भव्य महल, ठूलो गेट, भित्र कार पार्किङ र घरको बरण्डाबाट सेतो, कालो, छिर्केबिर्के कुकुरले ह्याउ– ह्याउ गरिरहेको आजभोलि उच्च सभ्यताको पर्याय बन्दैछ । आधुनिक समयमा व्यापार, व्यवसाय तथा विभिन्न पेसामा टन्न गाँठ कमाएका युवा वर्गको सपनामा सजिने वस्तु हो यो ।

यस्तै सपना सजाएका डायमन सरले पनि केही महिना अगाडिदेखि उनको घरमा एउटा नयाँ पाहुनालाई भित्र्याएका छन् । नाम पनि मान्छेकै जस्तो– डेभिड रसेल । भाग्यमानी कुकुर रहेछ डेभिड । कुकुरको जन्म पाएर पनि डायमन सरको तीन तले घरको अगाडिको बरण्डाबाट टुलुटुलु हेरी बस्छ ऊ । कति राम्रा लुगा पनि लगाइदिएका छन् डायमन सरले । उनको बेडरुम, किचेनलगायत पूजा कोठामा जानसमेत उसलाई रोकतोक छैन । सफा छ, उसको भुवामा लक्स साबुनको बासना आउँछ, सुत्ने छुट्टै बेड छ । बिहान, दोहपर परिवारका सदस्यहरु सँगसँगै बसेर चिया नास्ता गर्छ । डेभिडको सुखसयल देख्ने सबैले उसको डाहा गर्छन् ।

अझ अचम्मको कुरा त के छ भने उ बिहानपख सधैं डायमन सरको साथी भएर मर्निङ वाकमा पनि निस्कन्छ । दुवैलाई कति सुहाएको । डेभिडको घाँटीमा गोल्डेन चैनले बाँधेको, ड्रेस लगाएर सजिएको कुकुर र वाकिङमा गाउनमा सजिएका डायमन सर । जब उनीहरु सडकमा निस्कन्छन्, सडकमा निस्केका बटुवाहरुले डायमन सरलाई नमस्कार गर्दछन् । कुकुर पनि साथमा भएकोले नचिनेका मानिसहरु नजिकबाट हिड्न डराउँछन् । तर, सबैले उनीहरुलाई टक्क अडिएर फर्की–फर्की अलि पर पुग्दासम्म हेरिरहन्छन् ।

जेहोस्, डायमन सरको शान मान कुकुरको कारण धेरै थपिएको छ । डेभिडले उनको घरको सभ्यता, मान मर्यादा थपिदिएको कुरामा दुइमतै छैन । छिमेकमा उनको सिको गर्ने रहर त अरुलाई पनि थियो होला । तर उनीसँग दाँजिने हिम्मत म मा त छैन ।

कुकुरले यति धेरै प्रतिष्ठा थपिदिए पनि छिमेकीहरु डायमन सरको सुटुक्क गुनासो पनि गर्दछन् किनभने उनको कुकुरले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको बोर्डको ख्यालै नगरी सडकमै आएर सौच गर्ने गर्दछ ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.