कथा : सिपाही र जुलुस

~डा. देवीप्रसाद सुवेदी~dr-devi-prasad-subedi

हाम्रो बटालियनको एक जत्था कुनै निर्दिष्ट ठाउँमा पुगेर सडक – सडक मार्चपास्ट गर्दै आफ्नो शिबिरतिर फर्कदैँ थियो । त्यसो त कुनै पनि सैनिकको जीवन – गति र दैनिक कार्यतालिका सबै निर्दिष्ट नै हुन्छन् । एउटा निर्दिष्ट ठाउँमा पुग, निर्दिष्ट काम पूरा गर र फेरि निर्दिष्ट ठाउँमै फर्क । यो कुरा खानपिनदेखि लिएर हरेक दैनिक कार्यक्रममा लागु हुने कुरा उस्तै मान्छेले पत्याउने छैन । यस्ता कुराहरू अरूलाई सुनाउनमा त्यस्तै सिपाहीले मात्र उत्सुकता देखाउन सक्छ जो आफ्नो मूल्यप्रति अलिकति पनि विश्वस्त छैन । तर मलाई भने अझै पनि कताकता कुत्कुती लागेर आउँछ यस्ता कुराहरूबाट । यद्यपि म सुरूमा सिपाही भर्ती हुँदाको भन्दा धेरै अभ्यस्त भइसकेको छु निर्दिष्ट कामहरू तुरून्त पूरा गर्न । सुरूमा कुनै काम तुरून्त गर्न आनाकानी गर्दा मैले धेरै पटक आफूभन्दा माथिका अफिसरहरूको लठ्ठी खाएको छु र बुटको चोट खपेको छु । एकदिन मैले मेरो अफिसरको बुटमा पालिस लगाउनु थियो तर मलाई त्यो अफिसरप्रति घृणा लागेको हुँदा मैले जानीजानी केही ढिलो गरिदिएको थिएँ । घृणा गर्नुको कारण थियो – ऊ अरू अफिसरहरूले भन्दा बढी फोहरी शब्दहरू बोल्थ्यो र उसका बानीव्यवहारहरू पनि त्यत्तिकै भद्दा थिए । मलाई थाहा थियो, उसको बुटमा मैले पालिस लगाउनै पर्छ र म त्यस कामलाई टार्न सक्दिनँ तर त्यसरी ढिलो गर्नु अफिसरप्रतिको मेरो मनले गरेको ज्यादै सानो क्षणिक विद्रोह थियो । त्यसको परिणाम मैले तिनै बुटको ताडना सहनुप¥यो । अफिसरका बुट लागेका गोडाहरूले थिल्थिलिएको मेरो जीउ धेरै दिनसम्म दुखिरह्यो तर मैले साधारण बिरामी अवस्थामा पनि कतिपय निर्दिष्ट कामहरू गर्नुपथ्र्यो; गरेँ । यसैले मैले आफूसरहका कैयौँ सिपाही साथीहरूको समान पीडामा आफूलाई बिर्सेर पनि यही पेसालाई स्विकारेको छु र म यसैमा अभ्यस्त बनिसकेको छु । तर पनि यदाकदा मनमा परतन्त्रता र उत्पीडनबोधले चिमोटिदिन्छ तब कुनै त्यस्तै विशेष घटना घट्छ ।

अँ ल, हाम्रो जत्था मार्चपास्ट गर्दै सडक – सडक हुँदै शिबिरतिर फर्कँदै थियो । निकै चौडा सडकमा हामी आइपुगेका थियौँ । हामी प्रतिपङ्क्ति चारजनामा थियौँ । सबभन्दा अगाडि जमदार शम्शेरबहादुर थियो र हाम्रो पङ्क्तिको दायाँपट्टि हामीलाई नियन्त्रित गर्न हवल्दार रामसिंह खटिएको थियो अनि पछाडिपट्टिबाट अर्को हवल्दार हामीलाई धपाइरहेको थियो ।

हामी चुपचाप थियौँ र सडकमा सवारी साधनहरू नचलेको स्थितिमा मात्र हाम्रा बुटका चुरूम – चुरूम स्वरहरू सुनिन्थे । हामी चौडा सडकमा निस्किएको केही समयभित्रै आकाशै ढाकिने गरी जनसमूहको चर्को स्वर सुनियो । एकैछिनमा हामीले राता तुलहरू देख्यौँ । मानिसहरूको छाल एकपछि अर्को तरङ्गित हुँदै हामी भएतिर बढ्दै थियो । त्यो मानिसहरूको विशाल समुद्र थियो । यसको नाम थियो – जुलुस । जुलुसका ब्यानरहरूमा कोरिएका अक्षरहरू तुरून्तै आँखाले टिपेको मेरो आडकै साथीले भन्यो – “कर्मचारीहरूको जुलुस !” यो सुनेको ठिक्क अगाडिको अर्को साथीले उसलाई सतर्क गरायो – “ए, चर्को नबोल् मार्ला हवल्दारले !” कानले साथीहरूका यी कुरा सुने पनि मेरा आँखा हेर्नमै व्यस्त थिए । विशाल जुलुस निकै नजिकै आइपुगेपछि मैले निकै उत्सुकतासँग त्यहाँका ब्यानरहरू र प्लेकार्डहरू हेरेँ । मैले आफूलाई धन्य सम्झिएँ किनभने यो जुलुस हाम्रो मार्चपास्टको विपरीत गतिबाट नआएको भए यी सबै अवसरहरू गुम्ने थिए, जुन हेर्ने अवसर मजस्ता सिपाहीलाई त के कति अफिसरहरूले पनि चाहेको अवस्थामा पाउँदैनन् । जुलुस हाम्रो मार्चपास्टको अघि – अघि हिँड्दै गरेको भए मानिसहरूको भीड मात्र देखिन्थ्यो पछाडिबाट । जुलुस मार्चमास्टको पछि – पछि आउँदै गरेको भए जुलुसका नाराहरू मात्र आएर हाम्रा कानहरूमा पर्थे । सडक साँघुरो भएको भए कति हामी मात्र हुन्थ्यौँ सडकमा कि त जुलुस मात्र हुन्थ्यो । तर यहाँ त सबै परिस्थिति जुटेको थियो । मेरो लागि त्यसभन्दा पनि रमाइलो कुरा के थियो भने म जुलुस हिँडिरहेको भागपट्टि थिएँ र जुलुसका मानिसहरूसँग लगभग ठोकिने स्थितिमा हुँदा मलाई जुलुस हेर्न त्यति छड्के आँखा लगाइरहने आवश्यकता पर्दैनथ्यो, जसरी हाम्रै पङ्क्तिको अर्कोको साथीलाई पथ्र्यो ।

हामी सडकमा मार्चपास्ट गर्दैथियौँ । जुलुस हिँडिरहेको अथवा बगिरहेको थियो । हाम्रा गोडाहरू दायाँबायाँका सन्तुलित गतिमा एकनाससँग अघि बढिरहेका थिए । जुलुसका गोडाहरू अनियन्त्रित गतिमा र असन्तुलित स्थितिमा थिए । हाम्रो समूह पनि ठूलै थियो तर हाम्रो समूहलाई कसैले जुलुस भन्दैनथ्यो । हामीसँग पनि उत्पीडन र व्यथाका स्वरहरू थिए तर ती अव्यक्त हुँदा हाम्रा दबिएका स्वरहरूलाई कसैले नारा भन्दैनथ्यो । जुलुसको स्वर भने आकाशमा व्याप्त बनेर गुञ्जिरहेको थियो । हाम्रा स्वरहरू अव्यक्त रूपमा हामी सिपाहीहरू बिच श्रृङ्खलाबद्ध बनेर गाँसिए पनि तिनले खुला आकाश पाउन सकेका थिएनन् । करसा’बको घर बनाउने ढुङ्गा ओसार्दा ट्रकबाट ठूलो ढुङ्गा खसेर घाइते भएको अमरेको गोडाको घाउ अझै सन्चो भइसकेको थिएन तैपनि गरुङ्गा बुटहरू उचालेर ऊ सडकमा मार्चपास्ट गरिरहेछ । मेजर सा’बको घरको कुकुरले टोकेर घाइते भएको तेजबहादुरको हात अझै ठीक नभए पनि सकीनसकी ऊ बन्दुक चलाइरहेको छ । अफिसरहरूका बुट र लठ्ठीका प्रहारदेखि लिएर रूखा शब्दहरू, अश्लील गालीले आहत नभएको सायद कुनै सिपाही नै छैन । तर हवल्दारको रेखदेखमा र जमदारको निर्देशनमा निर्दिष्ट ठाउँबाट हिँडेर शिबरमा जान हामी मार्चपास्ट गरिरहेका थियौँ ।

जुलुस निकै ठूलो थियो र हाम्रो समूहको दायाँ भागबाट अगाडि बढिरहेको थियो । सडकमा सवारी साधनहरू लगभग बन्दजस्तै थिए । यसैले त्यहाँ कि त हाम्रो जत्थाको तालबद्ध मार्चपास्ट देखिन्थ्यो कि अपार जुलुसको अनियन्त्रित गति । जुन जुलुस कहिले द्रूतगतिमा हुन्थ्यो भने कहिले मन्द गतिमा । हामी भने एकनासे गतिमा थियौँ । थुप्रै दर्शकहरू सडकका किनारामा उभिएर यो दृश्य हेरिरहेका थिए । जुलुस अघि बढ्दै थियो । विभिन्न नाराहरू लेखिएका साना – ठूला गरेर सयौँ प्लेकार्डहरू बोकेका मानिसहरू उत्तेजनामा उफ्रँदै कराइरहेका थिए … जिन्दावाद !…मुर्दावाद !…माग पूरा गर … ! आदि स्वरहरूमा ।

हामी सडकमा बुटका चुरूम – चुरूम ध्वनिको तालमा हिँड्दै रह्यौँ । मैले देखेँ – त्यो ठूलो जुलुसका कतिपय मानिसहरूले खिइसकेका चप्पल लगाएका थिए । हाम्रा गोडामा भने पालिसले चिप्लाएका बुटहरू थिए । हाम्रो जीउमा इस्त्रीको धार भएको हरियो रङ्गको सैनिक बर्दी थियो तर जुलुसमा भने आङ्मा फाटेका मैला कमिज सुरूवाल लगाएका कैयौँ मानिसहरू सल्बलाइरहेका थिए तर मलाई त्यस बेला लाग्यो – खान लाउनमा मात्रै सीमित रहने मानिसको जात होइन रहेछ । एउटा धरो मात्रै जिउमा भएर पनि पटक – पटक उफ्रँदै उच्च स्वरमा नारा घन्काइरहेको मानिस सायद त्यो कुनै कार्यालयको पियन वा बहिदार वा मुखिया हुनुपर्छ – ऊ मभन्दा धेरै सुखी छ किनभने निर्दिष्ट छैन र उसलाई कठोर अनुशासनको बोझले थिचेको छैन ।

जुलुसको सानोतिनो अनुभव मलाई पनि नभएको होइन । विद्यार्थी बनेर जुलुसमा हिँड्नु यसभन्दा पनि पनि अझ बढी रमाइलो हुन्छ भन्ने सामान्य जानकारी पनि छ मलाई । जब म गाउँको स्कुलमा नवौँ कक्षामा पढ्थेँ त्यस बेला सरकारले मासिक शुल्क वृद्धि गरेर तिसको साठी गरिदिएको थियो । गाउँलेहरू धेरैजसोले आफ्ना केटाकेटीहरूलाई स्कुल पठाउनै छाडिदिएका थिए । मेरा बाबुले पनि मलाई पढ्न नपठाउने निर्णय गरिसकेका थिए । त्यसमा पनि म आफ्नी सौतेनी आमाको आफूमाथिको उत्पीडनबाट आत्तिइसकेको थिएँ र त्यस दिनको विद्यार्थीहरूको जुलुसले मलाई धेरै नै उन्मुक्तिको अनुभव भएको थियो । जुन – जुन बेलामा उत्पीडन र दमन हुन्छ त्यस परिस्थितिमा हुने जुलुसले मानिसलाई कति उन्मुक्ति मिल्दो रहेछ भन्ने मैले पहिलोचोटि अनुभव गरेको थिएँ । तर म जब बेलुकी घरमा फर्किएँ, ममाथिको उत्पीडन झन् बढ्दै गयो । एकदुई दिनसम्म त्यो उत्पीडन लगातार बढेपछि म भागेर सहर आएको थिएँ । अहिले पनि मेरा विद्यार्थी जीवनका रमाइला जुलुसहरू यदाकदा सम्झिरहन्छु र त्यस दिनको त्यो ठूलो जुलुसले झन मेरो मनलाई चिमोटेर झस्काइदिन्छ – “तँ किन जुलुस बन्न सक्दैनन् ?” तर म निर्दिष्ट मान्छे बनिसकेकाले मैले जुलुस बन्नु त के त्यस्तो सोचाइसम्म पनि राख्नु हुँदैन । म चुपचाप दायाँ बायाँको तालबद्ध गतिमा अगाडि बढ्छु ।

म सोच्दै थिएँ । त्यसबेला मेरा आँखा अगाडिबाट एउटा व्यङ्ग्यचित्रलाई दुब्लो अनुहार भएका र मैलो कपडा लगाएका दुईजनाले दुईतिरबाट उचालेर अगाडि बढिरहेको दृश्य उपस्थित भयो । त्यस व्यङ्ग्यचित्रमा एउटा उलिनकाठमाथिको व्यक्तिलाई भने बाहकहरूको अवस्थासँग कुनै चासो नभएको भावलाई दर्साउने चित्रकारको उद्देश्य चित्रमा झल्किन्थ्यो । वाहकहरू लगभग जमिनमा धसिने अवस्थामा थिए । उलिनकाठ बोकेका ती बाहकहरू जङ्गलको यस्तो ठाउँबाट अगाडि बढिरहेका थिए जहाँ बाटोको रेखा अस्पष्ट थियो र महँगो, अभाव र अराजकताका काँडाहरूले कोरिएका बाहकहरूका दुर्बल शरीरहरूबाट रगत आइरहेको थियो । उलिनकाठमाथि बसेको व्यक्तिको हातमा कोर्रा थियो र ऊ बाहकहरूलाई छिटो हिँड्ने आदेश दिइरहेको थियो । व्यङ्ग्यचित्रले स्पष्ट गरेको थियो । ती बाहकहरूलाई उलिनकाठले थिचेमा बाहकहरूको अन्त्य त स्वाभाविक थियो थियो त्यसमा पनि उलिनकाठमाथिको व्यक्ति समेत मार्ग अनिर्दिष्ट बनेको जङ्गलभित्र अलपत्र पर्ने निश्चित थियो ।

ती दुर्बल बाहक रूपका व्यक्तिहरू कर्मचारीहरू थिए र उनीहरूले बोकेको गरुङ्गो व्यक्ति प्रधानमन्त्री थियो भन्ने मलाई त्यस बेला मात्र थाहा भयो जब सडकको पेटीमा उभिएको एउटा मानिसले अर्को साथीलाई भन्यो – “कति मिलाएर बनाएको प्रधानमन्त्रीको कार्टुन पनि ! प्रधानमन्त्रीको अनुहार त ठ्याक्कै आएको छ नि हगि ?” व्यङ्ग्यचित्र बनाउने कलाकारको निकै प्रशंसा भइरहेको थियो ।

मैले त्यसबेलासम्म पनि ठम्याउन सकेको थिइनँ, त्यो प्रधानमन्त्रीको व्यङ्ग्यचित्र थियो भन्ने कुरा । हामीलाई कहाँ थाहा हुन्छ र नेता र मन्त्रीको अनुहार कस्तो हुन्छ ? हामीले त सँगै पर्खाल जोडिएको खुला मैदानको भाषण त्यति नजिक भएर पनि सुन्न पाउँदैनौँ । उता चर्को स्वरमा नेताको भाषण चलिरहेको हुन्छ, त्यसै बेलामा ड्रम बाजाको तालमा हामी परेड खेल्नुपर्छ । जति भाषणको स्वर चर्किन्छ त्यति नै हाम्रा्े बटालियनको बाजा बजाउने टोलीलाई झन चर्को स्वरमा बाजा बजाउने आदेश टोली प्रमुखले दिन्छ । बाजा अलि मन्द भएको मौका छोपेर एक दिन अमरेले नेताको भाषणतिर अलिकति कान के दिएको थियो अमदारले परेड खेल्दै गरेको उसको खुट्टै भाँचिनेझैँ गरी हिर्काइदियो । त्यसरी उसले भाषणतिर कान दिँदा भने हाम्रो हिँडाइको दायाँबायाँ नै खज्मजिन पुगेको थियो । त्यस दिनदेखि हाम्रो टोलीको कुनै पनि सिपाहीले भाषणतिर कान लगाउनु त के नेता वा मन्त्रीको अनुहार कस्तो हुन्छ भनेर चासो राख्न पनि छोड्यो ।

जुलुस अझै अघि बढिरहेको थियो । यसै बिच अचानक एकोहोरो शङ्ख फुकेको आवाज जुलुसतिरबाट आयो । कुनै मानिसको मृत्युमा शङ्ख फुकेर लास घाटतिर लैजाने संस्कारमा हुर्केका हामी एकछिन झस्कियौँ । हामी सबैले विस्फारित आँखाले जुलुसतिर हे¥यौँ । एउटा लास जस्तोलाई दुईतिरबाट दुईजनाले बोकेका थिए र लाग्थ्यो ती बोक्नेहरू पनि कर्मचारीहरू नै थिए । नजिक आइसकेपछि देखियो त्यस लासलाई एउटा पहेँलो च्यादरले ढाकिएको थियो र त्यस च्यादरमा ठूला – ठूला अक्षरमा लेखिएको थियो – ‘भ्रष्टाचार मुर्दावाद !’ र पछाडि हिँडेको जुलुसले नारा लाइरहेको थियो – ‘रामनाम सत्य हो, भ्रष्टाचारको अन्त्य हो ।

मलाई ‘भ्रष्टाचार’ भन्ने शब्दको वास्तविक अर्थ थाहा थिएन वा अझ भनुँ भने यतिवेर पनि थाहा छैन । केटौले उमेरमा सेनामा भर्ती भएकोले र एउटा सिपाहीभन्दा माथिको नभएकाले मेरो बोधो मस्तिष्कले अझै पनि भ्रष्टाचारको वास्तविक रूप ठम्याउन सकिरहेको छैन । अफिसरको आज्ञामा निर्दिष्ट ठाउँमा पुग, निर्दिष्ट काम गर र निर्दिष्ट ठाउँमा फर्केर आऊ । त्यसभन्दा बढी एउटा साधारण सिपाहीले केही पनि बुझ्न सकेको हुँदैन । करसाब र जरसाबहरूका घर आदि बनाउने काममा लागिपर्नु एउटा सिपाहीकै उत्तरदायित्व हो भन्ने मात्र मलाई थाहा छ । सिमेन्ट, इँटा र फलामहरू सकीनसकी बोकेर भए पनि हाकिमप्रति बफादार बन्नुपर्छ भन्ने मात्र मैले बुझेको छु । सरकारको आर्थिक सहयोगमा आर्मीको लागि बन्ने सडक, पुल र भवन निर्माणका कुराहरू त झन आफ्नै काम नै भए । रात – साँझ पनि नभनी काममा लागि पर्ने हामीलाई साबहरूबाट त्यस्ता समयमा भनिने ‘स्याबास् ठिटा हो !’ जस्ता शब्दहरूमा नै हाम्रो छाती निकै चौडा भइदिन्छ ।

हामीसँग सिपाहीमा भर्ती भएको सन्तबहादुर गएको महिनामा सिपाहीबाट लेसनायकमा बढुवा भएको थियो । ऊ छाती फुलाएर भन्छ – “बुझ्यौ केटा हो, पर्मोसन भन्ने कुरा अफिसरलाई रिझाएर मात्र पाइने हो । लाग … खुब लाग… साबहरूको गोडा मालिस गर … साबको बुटमा अनुहार देखिने गरी पालिस गर … परिआएमा साबनीको पेटीकोट समेत धोइदिनुपर्छ … । त्यसै पाइन्छ पर्मोसन !

त्यसपछि मात्र मैले बुझेँ साबहरूको घरमा काम गर्न किन तँछाडमछाड गर्दा रहेछन् सिपाहीहरू । सन्ते लेसनायक नहुँदासम्म हामीलाई ‘साथी’ भन्थ्यो तर अब उसले ‘केटा हो !’ भन्न थालेको छ र उसको रोब – रवाफको अगाडि हामीले झुक्नै पर्छ ।

“हो, तिमी हामीले गर्ने कुरा दुईटै छन् – कि गर, कि मर । भोलि लडाइँ पर्दा गर्नुपर्ने कुरा पनि त्यही हो । त्यसैका लागि प्राक्टिस हो यो !”

सन्तेमा अब हामीलाई उपदेश दिने आँट पनि भइसकेको थियो । ‘तिमी’ शब्दले उसलाई हामीलाई पनि हाराहारीमा राखेको कुराले ममा पनि केही सन्तुष्टिले छोएको थियो र म सन्तेले भनेझैँ पर्मोसनको लागि साबहरूको सेवा गर्ने सोचाइमा मोडिन लागेको थिएँ ।
मलाई विद्यार्थी छँदाको जुलुसको सम्झनाले बरोबर कोट्याइरह्यो । तर म विद्यार्थी छँदा जस्तो सामथ्र्य छैन र त्यो स्वतन्त्रता र जोस पनि ममा छैन । मेरा बाध्यताहरू छन् – स्वास्नी र एउटा छोरो । दुवै मेरो बाटो हेरिरहेका छन्, मेलै सम्झिएँ । सोचेँ – ती कर्मचारीका पनि स्वास्नी र छोराछोरी होलान् नि ! तर मैले तत्काल आफूलाई उनीहरूबाट छुट्याएँ – उनीहरू कर्मचारी अनि म सिपाही ।

सिपाही – जुलुस – सिपाही । हामी एउटा दिशातिर अघि बढिरहेका थियौँ – दायाँबायाँको तालबद्ध गतिमा अनि जुलुस हाम्रो विपरीत दिशातिर जाँदै थियो, अनियन्त्रित भीड बनेर । जुलुस भाषण पिउँदै थियो, नारा चवाइरहेको थियो र प्लेकार्ड र ब्यानरको बर्दीमा सजिएको थियो ।

जुलुस सकिएर हामी सुनसान सडकमा हिँड्न थालेको पनि केही समय भइसकेछ भन्ने मलाई त्यसबेला मात्र थाहा भयो जब मेरै आडको साथीले झस्कायो – “खड्गे… केही बोल्दैनस् नि !” त्यतिबेलासम्म पनि त्यही जुलुसकै आसपासमा छु भन्ने जस्तो भ्रममा म थिएँ । त्यतिबेलासम्म पनि म मेरो आँखामा तिनै प्लेकार्ड, व्यानर र व्यङ्ग्यचित्रहरू नाचिरहेका थिए र कानमा तिनै आकाश छेड्ने नाराहरू घन्किरहेका थिए ।

‘ए, आउनै लागेछ नि ब्यारेक पनि …’ मैले त्यति मात्र भनेँ । मेरो मनभित्र भने केही चल्मलाइरहेको थियो र बारम्बार कसैले सोधिरहेको थियो – “तँ जुलुस बन्न सक्दैनस् ?”

मेसमा साँझको खाना खायौँ । मलाई मभित्रकाले फेरि सोध्यो – “तँ जुलुस बन्न सक्दैनस् ?” मैले उत्तर दिन सकिनँ । खाना खाएर विश्राम गर्न लाग्दा मेरो सबभन्दा आत्मीय साथी अमृतलाई त्यही प्रश्न सोधेँ – “तँ जुलुस बन्न सक्दैनस् ?”

अमृतले भन्यो “एक पटक हाम्रो मेजर साबले भन्नु भाथ्यो “हामी पनि सरकार बन्न सक्छौँ रे …संसारका कुनै – कुनै मुलुकमा त मिल्टरीका सरकार पनि बनेका छन् रे …तँ जुलुस बन्ने कुरा गर्छस्, सरकार बन्न सक्नेले पनि जुलुस बन्न मिल्छ ? साबले भनेझैँ हामी सरकार बन्यौँ भने … ?”

“बनिस् सरकार … सरकार बन्ने त करसाब र जरसाबहरू मात्रै हो, तँ हामी त जुलुसै त हो नि ! अहिले जनताको सरकार भनेको बेलामा पनि देखिनस् आजको भिड ?”

उसले मलाई सावधान गरायो – ‘यस्ता कुरा गरिस् भने त ठोक्छन् गोली तँ हामीलाई नै । लडाइँ पर्खनै पर्दैन … सानो मुखले ठूलो कुरा गर्नु हुँदैन … हामी सिपाही …उनीहरू कर्मचारी …धेरै फरक छ …”

“तर भित्र त दुखेको छ नि तँलाई, मलाई र हामीजस्ता धेरै सिपाहीहरूलाई …”

“दुख्न दे …यस्तो दुःख कति भोगियो कति … हाम्रो त दुःख भोग्नलाई नै जन्मेको … कर्मै यस्तो । सुख पाउने भए त अफिसर जन्माउने कोखमा जन्म लिन पुगिन्थ्यो …”

“भैगो, कुरा छोडौँ … तँ, यो ब्यारेकको मेरो सबभन्दा हित्तचित्तको साथी सम्झेर पो यति भनेको …”

यति भन्दा मेरो मुटुमा डरले घरजम गरिसकेको थियो – यही आत्मीय भनेकै साथीले यी कुरा अर्को कसैसँग गरोस् । मलाई कता – कता हीनताबोधले डस्न पुग्यो – ‘यस्तो कमजोर हृदयले पनि जुलुस बन्न सक्छ ?’ त्यसपछि मैले जुलुस बन्ने कुरा बलैसँग बिर्सन खोजेँ, भनौँ बिर्सि नै दिएँ ।

अचानक ठूलो भीड देखाप¥यो । त्यस भीडमा अमृत, किस्ने, रने, तेजबहादुर आदि सबै थिए र हाम्रो बटालियन नै जुलुसमा परिणत भएको थियो । व्यङ्ग्य चित्र, प्लेकार्ड र ब्यानरहरू सबै थिए त्यहाँ । हामी सबै सिबिल कपडामा थियौँ । म आकाशै थर्किने गरी नारा चिच्याइरहेको थिएँ – जिन्दावाद … ! मुर्दावाद … ! हाम्रो माग पूरा गर … ! आदि ।

म ब्यूँझिएँ । अझ भनौँ – मलाई ब्युँझायो कसैले । आँखा खोलेर हेरेँ । नजिकैको बिछौनामा सुतिरहेको किस्ने मलाई घच्घच्याउँदै भन्दै थियो – “खड्गे, किन त्यसरी चिच्याएको हँ निद्रामा ?”

म आँखा मिच्दै उठेर बसेँ । मेरो हृदयले केही हलुङ्गोपनको अनुभव गरेको थियो । भर्खरै सपनामा देखिएका प्लेकार्ड, व्यङ्ग्यचित्र र भीड कुनै त्यहाँ थिएनन् । लहरै सुतिरहेका सिपाही साथीहरू दिउँसोको थकाइले गर्दा गाढा निद्रामा देखिन्थे । उनीहरू कसैले पनि सायद जुलुसको सपना देखिरहेका थिएनन् ।

म भने त्यस दिनदेखि फेरि त्यस्तो सपना मात्रै भए पनि देख्ने आशा लिएर पर्खिरहेछु । तर मलाई त्यसपछि यता आएर फेरि त्यस्तो जुलुसको सपना देख्ने अवसर पनि मिलेको छैन । सायद विपनाको छायाँ नै सपना रहेछ क्यार !

(२००५)

०००

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.