~अनिल नेम्बाङ~
बाटोमा फोहोरको थुप्रो छ
हाक्किमले चिल्लो कारमा चढेर छल्छन्
साहेबले बाइकमा हुइकिएर छल्छन्
महाजनले नाक थुनेर बाटो काट्छन्
उसले त्यहि फोहोर पन्छाएर बेलुकिको छाक जुटाउनु पर्छ
अहँ उसलाई त फोहोर गन्हाउदैन
किनकि उ मान्छे होइन।
टन्टलापुर घाम छ
हाक्किम कुलरमा बसेर छल्छन्
साहेब पेप्सि पिएर छल्छन्
महाजन घरमा लुकेर छल्छन्
उसले त्यहि घाममा नाम्लो बोकेर छाक जुटाउनु पर्छ
उसलाई त घामले पोल्दैन
किनकि उ मान्छे होइन।
पुसको चिसो सिरेटो छ
हाक्किम हिटर तापेर टार्छन्
साहेब भोड्का पिएर टार्छन्
महाजन लोकल पिएर टार्छन्
उसले त्यहि चिसो तापेर टन्न अघाएको सपना देख्नुपर्छ
उसलाई त जाडो पटक्कै हुँदैन
किनकि उ मान्छे होइन।
उसलाई त भोकै लाग्दैन
उसलाई त निन्द्रै लाग्दैन
उसलाई मरिन्जेल ज्वरो आएपनि थर्थरि काँप्दैन
उ त खुट्टै भाँचिए पनि हिड्न सक्छ
दम लागे पनि स्वास फेर्न सक्छ
जस्तै रोग लागे पनि घरमै निको हुन्छ
किनकि उ मान्छे होइन।
अँ! उ त मजदुर पो हो त।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)