~महेश पौड्याल~
पहाडकी नानी, क्या राम्रो बानी, नहाँसी नबोल्ने
हिउँ गोरो जिउमा, चौबन्दी चोली, क्या राम्रो सुहाउने ।
सलल बग्ने कोसीको पानी आँखामा झलझली,
हिमाली हावा श्वासमा तिम्रो, गाउँदछ सुसेली ।
चौबन्दी तुना, मखमली फू्ल, बाबरी केशमा ,
नेपालकी छोरी, नेपाली गोरी, नेपाली भेषमा ।
तिमीले हाँसे झर्दछ मोती फुरुरु हिउँ सरी
तिमीले रोए यो देश रुन्छ पीरले धरधरी ।
धरतीको माया, दुःखको भारी, छातीमा सजाउने
कलिला पाउमा पाउजेब बाँधी, संसारै हसाँउने ।
(स्रोत : केटाकेटीअनलाईन डट कम)