~दिनेश अधिकारी~
कहाँनेर खुकुलिन्छ
र, कहाँनेर कसिन्छ भनेर
हेर्नेले छुट्याउनै नसक्ने
पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा
मैले त्यसलाई
मात लागेको रातमा पनि भोगेको छु
घात प्रतिघातका माझमा पनि भोगेको छु
अथवा यसो पनि भन्न सकिन्छ यस सम्बन्धलाई –
मेरा आँसु पिएर ऊ बाँचेकी छे भने
मैले पनि त अहिले सम्म
उसकै रगत पिएर सास धान्दै आएको छु
म त छुट्याउनै सक्तिन उसलाई आफूबाट
सुख दुखका प्रसङ्गहरुमा
प्रप्ति समाप्तिका सर्न्दर्भहरुमा
ऊ मसँग –
फूलमा सुवासजस्तै बिछिएकी छ
ऊ मसँग –
बत्तीमा ज्योतिजस्तै मिसिएकी छ
कहिलेकाहीँ आजित भएर
जब जब म आफूभित्रको “लोग्ने” लाई
स्वास्नीबाट टाढा
एउटा अलग्गै शिविरमा उभ्याउने विचार गर्छु
निमेषमै भत्कन्छ मेरो तारको घर
र, लाग्छ –
नदीको प्रवाहलाई
व्यर्थै म लठ्ठीले हानेर टुक््रयाउने प्रयास गरिरहेको छु
छिः के भएको मेरो सुद्धी ?
म त उसकै सिन्दुरे विश्वासमा पो
अहिलेसम्म आफूलाई जिउँदो पाइरहेको छु ।