संस्मरण : स्मृति

~सीता अर्याल~

जुनेली रात, बन्द झ्यालको कन्चन शिसाबाट बाहिर नियाली रहेकी हुन्छु । निद्रा पटक्कै छैन । बाह्र बज्ने तरखरमा छ । विस्कन्सन डेल्सको एउटा रिशोर्ट– चुलाभिष्टा । नयाँ ठाउँ नयाँ अनुभव, मनभित्र सोचाईका भङ्गालाहरु पनि अनगिन्ती उर्लिरहेछन् ।

आआफ्ना आबस्यकता अनुसारका क्षमता भएका सुइट केही दिनका लागि रेन्टमा लिएर बस्न सकिँदोरहेछ । बिदा मनाउँनका लागि परिवार सहित होटलमा गै बस्दा पारिवारिक वातावरण नहुने मात्र नभै महङ्गो समेत हुँने हुँदा अत्यधिक मानिसहरुले खासगरी यस किसिमको वसाई मन पराउँदा रहेछन् । यही क्रममा हामी पनि एउटा सुविधा सम्पन्न सुइटमा रह्यौँ । त्यहाँको मुख्य विशेषताहरु मध्ये ईन्डोर वाटर पार्क एक हो । यो संसारका ठुला वाटर पार्कहरु मध्येमा नै पर्दो रहेछ । हिउँ पर्ने मौसम भएकोले आउट डोर वाटर पार्क भने सन्चालनमा थिएन । घना जङ्गलको बिचमा अबस्थित उक्तस्थान प्राकृतिक सौन्दर्यको अनुपम नमूना रहेछ । परिबारका अन्य सदस्यहरु पानीसँग खेल्ने शिप र जाँगर प्रसस्त भएकाले उनीहरु पानीमा नै ब्यस्त छँदैथिए । हामी दुई चाही लेजीवाटरमा त्यही पनि ट्युवको सहायताले रमाई रहेका थियौँ ।

थकानको अनुभूति तिब्र भैरहेको थियो । डिनर पश्चात भोली वाइनरी (वाईन कम्पनि) अवलोकनार्थ जाने निधो गरी निद्रा देवीको शरणमा गयौँ । तर मेरो स्वभाव भने अचम्मको छ । अत्यधिक थाकेको बेलामा निद्रा पर्न गाह्रो हुन्छ । ‘खालि दिमाग सैतानका घर’ भने जस्तै मन भरी धेरै किसिमका कुराहरु सलबलाई रहे । त्यसमध्ये बुबाआमालाई अमेरिका घुमाउँन ल्याउने प्रबल ईच्छाले नै केही समय अड्डा जमाई रह्यो । म उहि शिसाको झ्यालकाट बाहिर हेरिरहेकै थिएँ । निला आकाशबाट सललल तारा खसेको देखेँ । एउटी ईन्डियन मित्रले भन्थिन्– यसरी तारा धर्तीमा खसेको बेला चिताएको कुरा अवस्य पुग्छ रे । विश्वास त लाग्दैन तर एक्कासी बुबाआमालाई अमेरिका ल्याउन पाउँ भन्ने कुरा संझिई हालेँ । आशाबादी छु, हेरौँ पुगि पनि हाल्छकि । पानीको कुलोजस्तो यो अनियन्त्रित मन फड्को मारेर एक दशक भन्दा अगाडी पुग्यो । जुनबेला द्वन्द्वको चपेटामा देश रन्थनिईरहेको थियो ।

मेरो जन्मघर बन्दीपुर जाने प्रवल उत्कण्ठा केही महिनादेखि मनमा आश्रय जमाएर बसेको थियो । आइतबार पनि विदा परेकाले शुक्रबार मसक्क आँटेर लागेँ । करिब तिन घण्टा पहिलो बसको यात्रापछि अर्को बस चेन्ज गरी जानुपर्ने थियो । अन्यथा कम्मर कसेर दुई घण्टा जति नै ठाडो उकालो चढनु पर्ने हुन्छ । घरमा सामान्य कामकाजपछि स्कुलमा पढाउनु, घर फर्केपछि फेरि त्यही भात, भान्सा, केटाकेटी उही सामान्य दैनिकी । त्यसैले पनि होला त्यति धेरै खटेर परिश्रम गरी पैदल हिड्ने धैर्यता ममा थिएन । पहिलो बसबाट ओर्लेर उकालो चढ्नुपर्ला भनेर निकै तनाव भइरहेको थियो । मनमा अनेक कुराहरू खेलिरहेका थिए । ओर्लने ठाउँ आइसकेछ, कन्डक्टरले सम्झाउँदा पो झसङ्ग भएँ ।

बसबाट ओलेँ । मुटुको गति तीव्र थियो, डुम्रेदेखि बन्दीपुरसम्मको बस नपाइने पो हो कि भनेर । हिँडेर उकालो जानु परे त वनको बीचमा डरलाग्दो बाटो, मध्ये दिन भइसक्यो । साथी पाइने हो कि होइन ? एक मन त व्यर्थै आएको जस्तो पनि लाग्यो । एकजना परिचित मान्छेसँग माथि जाने बस छ ? भनेर सोधेँ । ती मानिसले ‘ल नानी, भर्खर पन्ध्र मिनेट भयो बस गएको । अलिकति ढिला भयो वा’ । मुटुमा ढ्याङ्ग्रो ठोक्किन थाल्यो अब एक्लै कसरी दुई घण्टा उकालो जाने ? म बडो द्विविधात्मक मोडमा पुगेँ । घरै फर्कु कि, माइत जाऊँ । वनको बाटो चोरले साह्रै दुःख दिएका छन् रे । एकमन त दिक्क पनि लाग्यो । मेरो भाग्यमा सजिलो र रमाइलो भन्ने कुरा कत्ति पनि छैन कि क्याहो । सायद विधाताले लेख्नै बिर्से छन् क्यारे ।

जे पर्लापर्ला जान्छु उकालो । कम्मर कसेँ । हात कानको गहना फुकाली झोलामा लुकाएँ । लागेँ उकालो । चढ्न सुरु गरे सिँढीहरू । उराठ लाग्दो गर्मीले तताइरहेको छ दिमाग । ढुङ्गाको खुडकिलो बाटो, तरर घाँटी र नाकको टुप्पाबाट चुहिएका नुनिला पसिना । नजानिँदो भयले बढ्दै गरेको श्वास–प्रश्वासको गतिको बाबजुद पनि दश मिनेटमा फेदीको चौतारोमा पुगिसकेछु । फेदीको चौतारोमा माथिबाट झर्नेहरू र तलबाट उक्लनेहरू सबै नै प्रायः केही क्षण सुस्ताउने गर्दछन् । साह्रै स्वादिलो हावा चल्छ र शीतल पनि भएकाले बन्दीपुरे साहु–महाजनहरूले आफ्ना दिवंगत बाबुआमाको नाउँमा पानीको धारा पनि राखिदिएका छन् । अत्यधिक राहत मिलेको छ त्यो पानीले बटुवाहरूलाई ।

पिपल चौतारोदेखि अलिकति दाहिनेतिर आँपको फेदबाट माथि उक्लने कोही साथी भेटिन्छ कि भनेर पुलुक्क हेरेँ । मनभित्र अनेकौं किसिमका त्रासहरू बोकेर पनि आफ्ना जन्मदाताको दर्शन गर्न हिंडेकी म, चौताराको छेउको दृश्य देखेर मुटुले ठाउँ छोडे जस्तो भयो । तलै फर्कु कि भन्ने लाग्यो । तर देखे, धेरै तल रातो चोलो–फरिया लगाएकी आइमाई सानी अन्दाजी एक वर्ष जतीकी छोरी बुइमा बोकेर आउँदै रहिछन् । केही राहत मिल्यो ।

पछाडिबाट दिदी भनेर कसैले बोलाएको आवाज मेरा कानमा अनायासै ठोक्किन आइपुग्यो । डराई डराई फर्केर हेरेँ । मेरो मुखाकृतिबाट उसले सबै कुरा बुझे जस्तो लाग्यो । म अचम्मित भएँ किन कि ऊ पनि चिरपरिचित मान्छे रहेछ । एउटै स्कुल पढेको तर एक वर्ष जुनियर भाइ । जसले अघि चौतारोको छेउमा साथीहरूसँगै बसेर बन्दुकको नाल पुछ्दै थियो । जुन दृष्यले मेरो होसहवास गुमेको थियो ।

तल देखिएकी रातो पहिरनकी दिदी पनि आइपुगिन् । ती त चिर–परिचित बेली दिदी पो रहिछन् । पितामाताको काम सघाउने, हर्दमकि सहयोगी । आधा डर त उनलाई देखेरै भाग्यो ।

हामी पनि माथि जान लागेका, तपाईं डराउनुपर्दैन, सँगै जाऊँ, त्यही जुनियर भाइले भन्यो । म किंकर्तव्यविमूढ भएँ । किन कि एकछिन अगाडिको बन्दुक उसको हातमा थिएन र उसका साथीहरू पनि त्यहाँ थिएनन् । उनीहरू त जङ्गलभित्र पो पसिसकेछन् । झन् डर थपिन थाल्यो । बेली दिदीले मेरो मुखतिर हेरेर ‘लौ नानी हिँड, तिनीहरू आफ्नै गाउँका दाजुभाइ त हुन् नि, सञ्जोगले भेट भए, आऊ–आऊँ’ भन्दै अगाडि लागिन् ।

घडी हेरेँ, अबेला भइसकेको थियो । घरै फर्कोै भने पनि बस पाउने सम्भावना साह्रै कम थियो । बीचमा बास बस्नुभन्दा त जे पर्ला–पर्ला भनेर लागेँ उकालो । स्याँ–स्याँ बढेको छ, ठाडै उकालो । मोटरबाटो बनेपछि त थोरै मान्छे मात्र यो बाटो हिँडछन् । जाँदा–आउँदाको भाडाले एउटा गर्जो टर्छ भन्नेहरू मात्र हुन्छन् होला सायद ।

गह्रुँगो मन, जिउलाई चाहिँ सकेसम्म हल्का बनाएर आफ्नो मार्गमा अगाडि बढ्नु थियो । अहिले मनमा एउटै मात्र प्रश्नले पूरै आश्रय जमाइरहेको छ । अघि चौतारामा बन्दुकको मोहरी पुछ्दै गरेका मानिसहरू कता गए होलान त ? किन होला मलाई झन् देखाई– देखाइकन पुछेका ? यी कौतहलताहरू मनमा बोकेर नै लुंगेलीमुनि आइपुगिसकेछु । अरू बेलामा ठाउँठाउँमा बस्नुपथ्र्यो, थकाइ पनि अत्यन्तै लाग्थ्यो । तर आज बाटो धेरै नै काटिसकिएछ । यहाँसम्म आइपुग्दा शारीरिक थकाइबाहेक अरू कुनै पनि किसिमको असुविधा भएको थिएन । जति–जति बाटो काटियो उति–उति मन हल्का हुँदै गएको थियो ।

“लौ नानी एक छिन त बस्नै प¥यो”, बेली दिदीले भनिन् । छोरीलाई बुइबाट ओरालिन् र आफ्नो दूध चुसाउन थालिन् । लुंगेलीमुनिको फराकिलो त्यो चौतारोमा पनि ती तिन जना केटाहरू फेरि देखिए । तर अचम्म, बन्दुकचाहिँ देखिएन । के नाटक हो यो ?

दिदी गोर्खाबाट आउनुभएको हो ? मलाई पो सोध्छ एउटाले । झन् छक्क परेँ । उसले बुझेछ क्यारे मेरो मुखाकृतिबाटै । हजुरले त हामीलाई टुँडिखेलको स्कुलमा पढाउनुभएको हो नि । “ए होला बाबु, ज्यादै ठूलो भएछौ, के काम गर्छौ नि ?” मैले सोधेँ । के गर्ने दिदी पढिसकेपछि जागिरको लागि धेरै कोसिस गरियो । आफ्ना नातापाता ठुला मान्छे कोही छैनन् । कसले दिने हामीलाई जागिर ? त्यसै भौंतारिई रहेछौँ । उनीहरूको बाध्यता र तिक्तता एकैपटक पोखियो । यसरी उनिहरुसँग आपसी बार्तालाप भै रहदा समेत अघिको बन्दुक खै भनेर सोध्ने हिम्मत मलाई भएन । सायद द्वन्द्वको भयाबह स्थितिको असरले हुन सक्छ ।

मेरा विद्यार्थी होलान् तर मैले उनीहरूको नाम ठेगाना बिर्सिसकेछु । चौथाइ बाटो काटिइसकेको थियो । अब त मानिसका बस्तीहरू पनि आउन थाले, अधिकांश डर पनि हराइसक्यो । गफ पग्रिन थाले । एउटा भाइले केही फलफूल लगेका रहेछन् । आधा झोलामा नै राखे, आधा हामीले बाँडेर खायौँ । उकालोमा आँतै रसिलो भयो । फेरि बाँकी उकालो चढ्न सुरु ग¥यौँ ।

दिदी हजुरहरू यहाँबाट त जान सक्नुहुन्छ ? बडो आत्मीयता देखाउँदै फेदीको चौताराबाट सँगै आउने जुनियर भाइले सोधे । किन, बाबुहरूको घर यतै हो र ? मैले प्रतिप्रश्न गरेँ । हामी बेलुका मात्र फर्कन्छाँै दिदी, हाम्रो काम यतै छ । हवस् त दिदी भनेर उनीहरू धारामा पानी पिउन थाले हामी गन्तव्यस्थलतिर लाग्यौँ ।

दस मिनेट जति उकालो लागेपछि अलि सम्म जस्तो ठाउँ आइपुग्यो । मलाई फेरि बस्न मन लाग्यो । थकाइले त होइन । तर त्यहाँबाट पश्चिमतिर ज्यादै नै मनोहर प्राकृतिक छटा देखिन्छ । चराचुरूङ्गीसँग पखेटा सापटी मागेर ती आकाशिएका श्रृंखलाहरूका टुप्पोमा बसी तलतिरका दृश्यहरू अवलोकन गर्ने इच्छा जाग्छ । तर मानिसका कतिपय आकांक्षाहरू खालि कल्पनामा नै सीमित भएर मृत्युवरण गर्छन् । कहिल्यै यथार्थमा परिणत हुँदैनन् । अवश्य मर्नेछन् यी मेरा इच्छाहरू पनि, किन कि मैले कुन चरासँग पखेटा सापटी मागेर ती लहरे श्रृङ्खलाहरूमा पाइला टेक्ने ? यो अनियन्त्रित मन सम्भव असम्भव जे पनि इच्छा राख्दछ ।

अठार बसन्त काटेको मातृभूमि, आफूले शिक्षा आर्जन गरेको स्कुलको फेदीमा पुगिसकिएछ । क्या मनमोहक दृश्य । पाखाभरि पहेँला प्याउली र पलाँस ढकमक्क फुलेका छन् । लालीगुराँसले त झन् बेग्लै सुन्दरता थपिरहेका थिए । चरीको काफल पाक्यो भन्ने सन्देश वनभरि गुञ्जायमान भइरहेछ । अतितका स्मृतिका पाना पल्टिन्छन् । श्रीस्वस्थानी देवीको पूजाको लागि हामी बालसखाहरू थुप्रै मिलेर यी फूलहरू टिप्न आएका थियौँ । त्यही पाखो, त्यही पँधेरो, सबै कुरा जस्ताको तस्तै छन् । तर मेरो भने अनुहारमा चाउरी पर्न थालिसक्यो । कता–कता ती मस्त वैशालु फूलहरूले मलाई उपहास गरेजस्तो लागिरहेछ ।

बाटोभन्दा अलि तल खोल्सामा अवस्थित पाहारपानी महादेवलाई जहिले पनि आउँदा–जाँदा नजिकैको बुटाको पाती टिपेर चढाउने र नमस्कार गर्ने बानीले होला स्वतःस्फूर्त पाती चढाइसकेछु मैले । “अझै सम्झना छ, नानी पाती चढाउनुपर्छ भन्ने कुरा ?” बेली दिदीले भनेपछि पो यथार्थ धरातलमा फर्केँ ।

मातृभूमिको गढुवा माया त अचम्मकै हुँदोरहेछ । पाहारपानी, पार्वतीले महादेव पति पाउँ भनी तपस्या गरेको पवित्र ठाउँ हो भन्ने किंवदन्ती रहेको छ । हरितालिकामा टाढा–टाढाबाट पनि पूजा अर्चना गर्न श्रद्धालु महिलाहरूको घुइँचो लाग्दछ । पाहारपानी महादेवको पूजा आजा पश्चात् माथि टुँडिखेलमा गएर नाचगान गर्दछन् र बेलुकातिर घर फर्किन्छन् महिलाहरू ।

कल्पनाको महासागरमा पौडिदा पौडिदै बन्दीपुर बजारको प्रसिध्द ठाउँ भगवती चोक आइसकेछ । चप्पल एकदम कस्सिएको महसुस भयो । तुना अलि खुकुलो पारेँ र परिचित अनुहारहरूसँग समाचार साटासाट गर्दै आफ्नो प्यारो जन्मघर, प्यारा जन्मदाताको सामीप्यमा पुगेँ । तर अहिले म चाहेको बेलामा यो सात समुद्र परबाट जान असमर्थ छु । वहाँहरुको न्यास्रोले अत्यन्त सताई रहेछ । क्षितिजमाथिबाट अझै जुन मुस्कुराई रहेका थिए ।

–सीता अर्याल,
गोरखा बजार
हालः विस्कन्सन, अमेरिका

अस्तु ।

(स्रोत : ज्ञानविन्दु पत्रिका)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.