~आर.एम्. डंगोल~
एकजना जँड्याहाले मेरो हातबाट
मेरो कविताको एउटा शिर्षक खोस्यो
र, ठूलो स्वरले पढ्यो-
दसगजावारि …
र, थप्यो एक हरफ-
‘कालापानीपारि’
म झस्किएँ
मेरो अधुरो कविताको शिर्षक
र उसको संवेदनशील मस्तिष्क
सम्भवतः ऊ जाँड खाएको अभिनय गर्दै छ
मैले बुभेँ
उसले जाँड खाए पनि नखाए पनि
ऊ पनि एक नेपाली नै हो
त्यसपछि मैले सुरु गरेँ…
दसगजावारि
हामी मेलम्चीको बिम्बले तिर्खाएका मानिस
हामी कारगिलको बिम्बले आतङ्कित बस्ती
आफ्ना घाउको डिलमा उभिएर
बेवारिस नदीमा डुबुल्की मारिरहेका
हामी, हाम्रो बाँकी दुनियाँसँग बेखबर
धेरै टाढा छौँ जस्तो लाग्छ
तर सुदूर अर्को किनाराको घाउ
हामीलाई नै किन दुख्छ हँ ?
किन कोसोभोको घाउले हामीलाई नै चहर्याउँछ –
अभावको यो हीनग्रन्थि पालेर
हाम्रा खुकुरीको धारबाट
स्वार्थको नदी बगिरहेको बेला
हामीलाई हाम्रो आकाश हेर्ने फुर्सद छैन
सत्ताक्रीडाको यी आकाशे पुलहरूमाथिबाट
हामीभन्दा माथि देखिने
ती विदेशी हार्मोनले अग्लिएका झैँ देखिने सगरमाथाहरू
‘कामसूत्र’ विज्ञापनबोर्ड बोकेर
हामीमाथि लादिएका ती स्वयम्भू डा“डाहरू
यी हल्लाका हावा
यी खान्दानी सा“झ
रगतमा हार्मोनको कमीले पहेँलिएका
हाम्रो शिरमाथिको अस्ताउँदो घाम
हामी प्रौढावस्थामा झैँ घाम ताप्दै छौँ
दसगजावारि
पीडा र व्यथाका यी मट्टितेल लाइनहरूमा
खै हाम्रा पाइतालाहरू कहाँ छन् !
हाम्रा लहराजस्ता सपनाहरू
टेको लगाउने ती थाँक्राहरू कहाँ छन् !
थाहा छैन
हाम्रा जराहरू दसगजावारि छन् कि पारि छन्
सत्ताक्रीडाको यो अगम्य जङ्गलबाट
वर्षौँ अघिदेखिको उही पुरानै नालायक नारा
हामी भीमसेन थापाको काँधमाथि
सत्ताक्रीडाको भर्याङ चढिरहेछौँ
दसगजावारि, कालापानीपारि
खै हामी कहाँ छौँ ?
मेरो कविता अझै अधुरो छ,
त्यो जँड्याहाको हातमा पर्यो भने
मेरो यो कवितामा अझ धेरै कुरा थपिनेछन्
म उसैलाई पर्खिरहेछु ।