~प्रतिमा श्रेष्ठ~
चारैतिर अन्धकार छाएको छ
कसको आकृति कस्तो छ
ठम्याउन गाह्रो भो, त्यसैले
मन सशङ्कित छ
मन भयभीत छ,
कसलाई आफ्नो ठान्ने ?
कसलाई पराइ मान्ने ?
चिन्नै गाह्रो भो, त्यसैले
मन त्रसित छ मन भयभीत छ
चारैतिर दलदल छ
भासिने डर सधैँ छ
कहाँ टेक्ने, कता नटेक्ने ?
त्यसैले मनको बिजोग छ
मन बैरागिएको छ
कुन बाटो पुग्ने कहाँ ?
त्यसैले मन अन्यौलमा छ
मन रनभुल्ल छ
छामे ढुकढुकी भेटिन्छ
जिउँदो छु जस्तो लाग्छ
तर यी अन्यौलहरूले,
सशङ्कित छु,
त्यसैले मन बतासिएको छ
मन अन्यौलमा छ
मन रनभुल्ल छ
र, मन हतासिएको पनि छ ।
(स्रोत : हिमाल खबर)