~प्रणिका कोयु~
कसले भन्यो म मान्छे हुँ ?
तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने
हुन्छ भनें घरधन्दा सिकें
गाईवस्तुलाई झैं गोठ सारिदियौ
म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर
उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा लिए
हो त भनें र छायाँ बनें नतमस्तक
सम्हाल्दै उसलाई सशरीर हराएँ
म वंश बढाउने जैविक यन्त्र बनें
उनीहरू भन्छन् तपाईं हाम्री आमा हो – म झस्कन्छु
के भन्दैछन् यिनीहरू?
आ……..मा…….. तपाईं हाम्री आमा हो आमा!
मेरो आँखामा हेर्दै जब दोहोर्याए यि शब्द तिनले
म बहुलाएँ
हो हजुर, म बहुलाएँ त्यही दिन
कसरी भन्नु मैले
म जन्मँदा
नासो जन्में सन्तान हैन
म हुर्कें गर्भाशय बन्न
म बाँचे बिलाउन उज्यालो सँसारमा
अनि जब आज भन्छन्
तपाईं हाम्री आमा हो – हाम्रो जीवनको सत्य
भन्न सकिन मैले
‘होइन, होइन म तिमीहरूकी आमा”
हजारौं शुक्रकिटलाई हराएर जन्मेकी
एक डिम्बा मात्र हुँ म
जन्मदर बढाउने वैधानिक यौनदासी हुँ म
कसरी हुन सक्छु म आमा कसैको
जब हजुरले नै मलाई होइनस् तँ कदापि भन्नुहुन्छ
आमाको नामबाट नागरिकता दिन सधैं डराउनुहुन्छ
हजुरलेनै अब भनिदिइबक्स्योस् प्रभू
म सिर्फ एउटा गर्भाशय हुँ
म उनीहरूकी आमा हैन
उनीहरू मेरा सन्तान हैनन्
भनिदिइबक्स्योस् ख्वामित कि उपरान्त मलाई आमा नभनियोस्
नत्र यहाँ पगलीहरूको सँख्या बढ्नेछ
हजूरलाई अवश्य ज्ञान छ के हुन्छ यहाँ पागलवस्तीहरूमा!
मर्जी गरिबक्स्योस् हे सर्वशक्तिमान
कि छैनन् कोही यहाँ आमा
कि कदापी हैन म कसैकी आमा!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)