सखारै एकाबिहानै
एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए
हाम्रै आँगनको डिलसम्म
र ब्युँझाए तिनले
मस्त निदाईरहेका स साना नानीहरुलाई ।
नानीहरु सुतिरहेथे
र सुति सुति सपना देख्दैथिए ।
सपनामा उभिएको थियो
एउटा अजंगको पहाड
र पहाडको टाकुरामा फुलिरहेथे
रंगी बिरंगी असंख्य सुन्दर फुलहरु ।
जब आए चराहरु
खैलाबैला मच्चाउदै आंगनमा
एक्कासी ब्युंझिए सपनाबाट
टाकुरामा फूल टिप्दै गरेका नानीहरु ।
अचम्मै भयो त्यसपछि
उधुमै भयो,
चराहरुले कांध थापे
र नानीहरु बसे चराका कांधहरुमा
र हेर्दाहेर्दै आंखै अघिबाट
तिनका स साना नानीहरु टिपेर
र्भूर……….. र्भूर………………
निकै टाढा टाढा उडेर गए चराहरु ।
आफ्नै मुटुका टुक्रा जस्ता नानीहरु
ममताको आंचलमा गुटुमुटु लुकाएर
रोक्न त खोजेकै थिइन आमाले
तर रोकिएनन्,
सपनाको पहाड चढ्न
र टाकुराको फुल टिप्न हिडेका
मुसाफिर जस्ता नानीहरु ।
धेरै धेरै पटक
प्रकृतिले बदलिरह्यो मौसम
पातहरु पलाए
र फेरी झरेर गए
पानीका मुलहरु रसाए
र फेरी सुकेर गए,
बसन्त आयो
र कोइलीले मिठो गीत सुनायो ।
एकदिन अचानक
चराहरु बिना नै एक्ला एक्लै
फर्किए नानीहरु ,
आमाले सोधिन
के टाकुराका फूल टिप्न सक्यौ ?
तर चुपचाप चुपचाप
उभिरहे नानीहरु ।।
अचेल आमा खोजिरहन्छिन्
खोज्दा खोज्दै गुमनाम भै हराएका
नानीहरुका सपनाहरु…………..।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)