~रामचन्द्र कार्की~
आउँछु आमा म आउँछु,
आफ्नै खेतबारी
अनि बनपाखामा धाउँछु ।
यहाँ त, बाँच्न नै रुनु परेको छ,
आँशुले मुहार धुनु परेको छ ।
प्रजातन्त्र आयो भन्छन्,
गणतन्त्र आयो भन्छन्,
राजा प्रजा भए भन्छन्।
तर
प्रजातन्त्र पर?जातन्त्र भयो,
गणतन्त्र गन?तन्त्र भयो,
अनि सवल सबै राजा भए।
नयाँ नेपालको आवाज धेरै आए,
नयाँ नेपाल त यस्तो पो रहेछ,
लोडसेडिङ्गमा डुबेको नेपाल,
महङ्गीमा डुबेको नेपाल,
भ्रष्टचारमा डुबेको नेपाल,
हत्या र हिंसाले चुमेको नेपाल,
आहा ! हाम्रो नेपाल नयाँ नेपाल।
आमा,
शिक्षित बेरोजगारहरू भौँतारिइरहेछन्,
उद्योगधन्दाहरू दिनानुदिन बन्द भएछन्,
हामी त मकै भित्रका घुन न रह्छौ,
मकै सँगसँगै पिधिएका छौ।
धारामा पानी छैन,
रातदिन अन्धकारमा छौ लोडसेडिङ्गको,
तर पानी र बत्तीको मिटर घुमिरहन्छ।
धुवा धुलो प्रदुषणले,
गाउँको चिसो हावा नै बिर्से मैले,
सभ्यरुपि कोलाहल शहरको बासले,
हरियाली शान्त गाउ नै बर्से मैले।
आमा,
तपाईले हाडीमा भुट्ने मकै भट्ट संझेको छु मैले,
अनि लाटी भैसीको दुध र मोहि संझेको छु।
गिठ्ठा भ्याकुर अनि तरुलको यादमा छु,
ऐसेलु र काफलको तृष्णामा छु,
तर म बाध्य छु मम र चाउमिन मै भुल्न।
आमा नयाँ नेपाल बनाउने नाउमा,
संबिधान सभाको चुनाव भयो,
तर दुई बर्ष बितेर नी के के भयो भयो,
जाला जस्तो छ संबिधान न आउनेगरी,
अहँ, पटक्कै सुरसार छैन।
संबिधान बनाउने नेताहरू
उद्घघाटनर उत्सवमा नै रमाईरहेछन्।
अनि बादल बनेर गर्जन्छन्,
तर, कुहिरो बनेर तर्कन्छन्।
बिश्व आर्थिक मन्दिले छटपट्टिएछ,
हामी महामन्दिले छटपट्टिएका छौ।
आमा,
यहाँ त माया भन्ने मान्छेको नाम मात्र रहेछ,
माया त हात्तीको देखाउने दात भएछ।
म तपाईको मायामा रोईरहेछु।
त्यसैल,
आमा, म छिट्टै आउँछु,
हलो काट्न भनिदिन ,
जुवा काट्न भनिदिनु बालाई।
अनि ऋण नै काडेर भएपनि
गोरु किन्न भनिदिनु बालाई।
म छिट्टै आउँछु,
अनि
बाझो बारी जोत्छु,
हरियाली बनाउछु,
ताजा सास फेर्छु
अनि फलफूल र अन्न पनि ………………………
December 7, 2011
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)