~भूमीश्वर पौडेल~
बिहान ५ बजे
जेठ महिना
पशुपतिनाथ मन्दिरको दक्षिण गेटअघि उभिएको छु । पछिल्तिरबाट ओम् नमः शिवायको मन्त्र गुञ्जिएको छ । मानिसहरू त्यही मन्त्रको धुनमा आफ्ना पदचाप मिलाउँदै छन् ।
कतै खुट्टाहरूको दौड त भइरहेछैन पशुपतिमा ? मान्छेहरू जीवनलाई नै दौड सम्झिरहेजस्ता देखिन्छन् ।
बिहानको चिसोचिसो हावाले ज्यानमा स्फुर्ति दिलायो । मन चंगा भयो ।
त्यहि चंगा मन माग्दै गरेकी एक वृद्धा आमातर्फ मोडियो ।
शरीर पूरै ढाक्ने गरी पछ्यौरी ओढेकी, अनुहार हेर्न खोजे मात्र देखिन्छ, नत्र देखिँदैन । मन्दिरको पेटीमा बसेर केही बेर हेरेँ । मान्छेहरू आइरहे, गइरहे । कसैले ती आमालाई केही दिएन । उनले मागिनन् पनि ।
सधैंजसो देखिने माग्नेहरू मान्छेसँग टाढा नपुगुन्जेल मागिरहन्छन् दिएनी नदिएनी। मानौं, माग्नु उनीहरूको नियति हो । यी आमामा भने मैले त्यस्तो कुनै छनक पाइनँ । यसले मलाई अझ बढी उत्सुक बनायो । केही दिन मन लाग्यो । सोचेँ, यी आमैले नलिने पो हुन् कि ?
नमाग्नेले लिन्छ नै भन्नेमा के विश्वास ?
मन दह्रो बनाएर २० रूपैयाँको नोट आमैलाई दिएँ । लिइन् । हाँसिन् आधामात्रै ! सोध्न मन लाग्यो, यिनले आफ्नो जिन्दगीमा पूरा हाँसेकी छन् कि छैनन्? सोध्न मन लाग्यो, यिनले जिन्दगीमा पूरा पेट खाएकी छन् कि छैनन् ? सोध्न मन लाग्यो, यिनले जिन्दगीमा मानिसको पूरा साथ पाएकी छन् कि छैनन् ?
दुइटा गोडा मात्र अटाउने ढुंगामा बसिरहेकी छन् । लाग्यो, उनका आफ्ना मानिस पनि त्यही ढुंगाजस्तै कठोर छन्, जसले उनलाई सुखदुःखमा त्यो ढुंगाले दिने सहाराजति पनि दिएनन् ।
सोधेँ, ‘आमै, सन्चै हुनुहुन्छ ?’
‘छैन, माग्ने पनि कैं सन्चै हुन्चन् ?’ कड्किइन् उनी ।
साहस बटुलेर फेरि सोधें, ‘कहाँ बस्नुहुन्छ ?’
‘देखेनौ ? यही ढुंगाँ त बसिछु नि’ त्यही ढुंगाजस्तो मन गरेर भनेझैँ लाग्यो ।
‘कति वर्षकी हुनुभो ?’
‘किन चाइयो, अर्काको उमेर तिम्लाई ?, यै वीसको नोट देको हो, यतिका कुरा सोध्न लौ…?’ उनले पैसा फिर्ता दिइन् ।
मलाई त केवल बुझ्नु थियो, उनका जीवनका उकाली र ओराली । तर, यी सबै जान्न ममा त्यस्तो कुनै अधिकार थिएन । त्यसैले अरुप्रश्न गर्ने आँट गरिनँ ।
‘त्यत्तिकै सोधेको, जान्न मन लागेर ?,’ म स्वाभाविक रूपमा बोलेँ ।
‘खै, चार बीस भन्चन्, था छैन,’ उनले भनिन् ।
असी वसन्त पूरा गरेको मान्छे यति कठोर देखिनु अस्वाभाविक लागिरह्यो । उनीप्रतिका जिज्ञासा भने अझ बढ्दै थिए ।
मनले उनलाई अनेक प्रश्न सोधिरह्यो, मनमनै उनलार्ई ५० ओटा प्रश्न गरेँ ।
उनका आफ्ना दुःखहरू, पीडाहरू, अनुभूतिहरू, व्यवहारहरू, संघर्षहरू, भोगाइहरू सबैलाई एकमुष्ट त्यही अनुहारमा लेखिएकै त थिए ।
उनीसँग बोल्दा यस्तो लाग्थ्यो, दया, माया हराइसकेकी छिन यीनले !
अझै उनलाई पढ्न मन लाग्यो, दोहोर्याई तेहेर्याई ।
‘घरमा कोको हुनुहुन्छ आमै ?’
‘घरै नभको मान्छेको घराँ को हुन्चन् ? सबै मरिसके ।’
स्तब्ध भएँ ।
त्यसपछि उनी सहज देखिइनन् ।
अहिलेसम्म उनले मलाई नहेरी उत्तर फर्काएकी थिइन् । तर, अहिले मलाई शिरदेखि पाउसम्म हेरिन् । हेरिरहिन् ।
अरू प्रश्न सोध्ने साहस गरिनँ ।
गहु्रङ्गो मन लिएर घर फर्किएँ ।
हेर्दै गरेको फिल्म आधा हुँदा–नहुँदै छाडेर हिँड्नुपरेजस्तो, मेरो मन त्यहीँ रह्यो, शरीर मात्र घर गयो । के पुगेन के पुगेनजस्तो भयो ।
मन अशान्त छ । तर्दै गरेको खोला, चढ्दै गरेको रूख बीचमा पुग्दानपुग्दै फर्किनुपरेजस्तो, झर्नुपरेजस्तो ।
अर्को दिन
उही समय
उही स्थान
परिवर्तित परिस्थिति
आकाश धमिलिएको छ, पानी फिसफिसाइरहेको छ । मान्छेहरू फुर्तिला देखिन्छन् । पर पार्कमा आसन, व्यायाम गर्नेहरूको ठूलो हुल छ । केही मानिस फूलअक्षता लिई मन्दिर जाँदै छन्, केही फर्किंदै छन् । मन्दिरको घण्टले मान्छेहरूलाई बोलाइरहेछ, पठाइरहेछ पनि ।
मान्छेहरू उसैगरी दौडमै छन्, हिजोजस्तो, अस्तिजस्तो ।
वृद्धा आमा उही अवस्थामै छिन् । लाग्छ, उनी हिजोदेखि विनाहलचल त्यहीँ बसिरहिछन्, कुनै योगीको तपस्याजस्तो, मानौं उनको पनि यो तपस्या नै हो ।
आज के सोध्ने, के भन्ने, अलमलिएँ ।
मनले सोध भनिरह्यो । एकैपटक अनेकौं प्रश्नहरू तेर्सिएँ ।
‘नमस्ते आमा’
‘हँ ?’ उनले मेरो आवाज सुनिन्, नमस्ते सुनिनन् सायद ।
‘सन्चै हुनुहुन्छ ?’ हिजोकै प्रश्न दोहोर्याएँ ।
‘को तिमी ?’ सोधिन् ।
‘म हिजो आएको भाइ’ मैले आफूलाई बचाएँ ।
ती वृद्धा आमालाई हर्लिक्सको बट्टा लगिदिएको थिएँ । दिएँ, लिन केही संकोच मानिन् ।
‘केही होइन आमा, लिनुस्, अप्ठेरो मान्नुपर्दैन’ डरमिश्रित भावमा बोलेँ ।
फिस्स हाँसिन् । उही आधा हाँसो । मेरो मनमा उसरी नै प्रश्नहरू उब्जिरहे । हिजोजस्तै, अघिजस्तै ।
आज हिजोजस्तो असहज लागेन । केही सोध्न सक्छु भन्ने आँट आयो । फुरुङ्ग भएँ । वृद्धा आमैले पनि पराया व्यवहार गरिनन् ।
…
वृद्धा आमैले भनिन् –
‘सय मुरी धान फल्ने खेत, सम्झँदा मन सयपटक फुरुङ्ग हुन्थ्यो । जागीरे श्रीमान्, त्यो पनि भन्सारमा । खानलाउनको पिर थिएन । मनमौजी थियो ।
गाउँघरमा गाह्रोसाह्रो पर्दा कुनै चिजको अभाव हुँदैनथ्यो । लाग्थ्यो, जिन्दगी सधैं जितेरै बित्ने भो । कहिल्यै हार्नुपर्दैन अब । कहाँ हुँदोरैछ र सोचेजस्तो, देखेजस्तो ।
सबै कुरा झूटो रैछ, ईश्वरको खेला ।
उनका आँखा टिल्पिलाए । ओढिरहेको पछ्यौरीले चाउरी परेको गालाको खोल्साबाट बगिरहेको आँसु आधा पुछिन् । आधा त्यहीँ टल्कियो, कर्कलाको पानीमा परेको शीतको थोपाजस्तै ।
उनको आँसु मिसिएको आवाज सुन्न खोजे मात्र सुनिन्छ ।
भन्दै गइन्,
दुई सन्तान । एक छोरा, एक छोरी । जेठी छोरी, त्यसपछि छोरो । दुई सन्तान ईश्वरको वरदान भनेजस्तै थियो ।
घरमा दुई हल गोरु । तीनओटा भैंसी, एउटा भैंसीको दूधले त नअघाइनेजस्तो । काम गर्ने तीनजना ।
०४६ सालको आन्दोलनमा अगुवाका रूपमा कांग्रेसका तर्फबाट आन्दोलनमा लाग्नुभएका श्रीमान् । तर, पुलिस दमनका क्रममा उहाँलाई बन्दुकको छर्राले लागेर पछि प्यारालाइसिस भयो । त्यसैले, लग्यो उहाँलाई । उहाँलाई के भनूँ, मलाई नै लगेजस्तै भइरहेछ । बाँच्नुको केही अर्थ छैन।’
चिउँडाबाट तल झर्दै गरेको आँसु पुछिन् । केही त्यहीँ रह्यो । उनका प्रत्येक क्रियाकलाप आधा मात्र पूरा भएजस्तो लाग्यो – जस्तो कि, उनको जिन्दगी आधाजस्तो अपूरो भयो । श्रीमान् अल्पायुमै बिते, पूरा हुन पाएन । त्यसैले, उनले प्रत्येक काम पूरा गर्दिनन्, आधा मात्रै गर्छिन् । आँसु पनि आधा मात्र पुच्छिन्, बोली पनि आधा मात्र बुझिने गरी बोल्छिन् । सुन्न पनि आधा मात्र सुन्छिन् । पूरा सुनेजस्तो गर्दिनन् ।
‘छोरीको बिहे भइसकेको थियो । मेरो सहारा त्यही छोरा मात्र थियो । छोरीको जात कहिलेकाहीँ न आउने हो, छोरा भनेको छोरा हो भन्ने लाउँथ्यो । तर, मेरो जीवनमा छोरा मोरा भयो ।
यति भनिन् र लामो सास फेरिन् ।
जहान स्वर्गे भएको दुई वर्षपछि भएको केही पैसाले छोराको बिहे गरिदिएँ ।
छोराको बिहेले मैले भने बाउको बिहे देख्नुपर्यो ।
सुरुसुरुमा बुहारी कुशल छे भन्ने लाग्यो । केही समयपछि आधा कुशल छे भन्ने लाग्यो । त्यसको केही समयपछि पूरा खराब छे भन्ने लाग्यो ।
मान्छेहरू भन्छन्, दुई पाइला सँगै हिँडेपछि मान्छेको मन बुझ्न सकिन्छ, बेहोरा बुझ्न सकिन्छ । तर, मैले त्यो बुहारीसँग २ सय २२ दिनभन्दा बढी सँगै व्यवहार गरेँ, मन बुझ्न सकिनँ । उसको बेहोरा बुझ्न सकिनँ ।
छोरा त आफ्नो हो भन्ने लाउँथ्यो । त्यो पनि भ्रम रैछ । सबै भ्रम !
बाबु, यो संसारै भ्रम हो भन्छन् । तर, हामी भने यसैलाई समातेर बसिरहेछौं ।
मेरा प्रत्येक काम उनीहरू (छोराबुहारी)लाई मन नपर्ने । उनीहरूका काम मलाई मन नपर्ने । कस्तो, अचम्म । अचम्मै अचम्म भयो ।
घर बस्न नसक्ने भएँ । अति भएपछि मन पनि मर्दो रहेछ । अरु केही देखिनँ । देख्दै देखिनँ ! सय मुरी धान फल्ने खेत पनि आफ्नो लागेन । आफन्त पनि आफ्ना लागेनन् । भगवान् मात्र आफ्ना लागे । किनभने, उहाँ (श्रीमान्)लाई भगवान्ले लगे । आफ्नो मान्छेलाई लैजाने पनि आफ्नो लाग्दोर’छ ।
उहाँ भगवान्को धाम जानुभयो । मलाई पनि भगवान्को धाम जान मन लाग्यो, के गर्नु नमरी भगवान्को धाम जान पाइँदो रहेनछ ।
तर, म नमरी भगवान्को धाममा आएँ । कति भाग्यमानी !
…
पशुपति आएँ । पशुपतिमा मेरा आफन्त भगवान् भएका छन् । कहिलेकाहीँ त भगवान्का पूजारी पनि पराइ हुँदारहेछन् । हामीलाई त मान्छै नगन्ने !
२० वर्ष भयो, धाममा आएको । बीस वर्षमा तीन ठाउँमा बसाइँ सरेँ । सुरुमा ऊ पर पशुपतिनाथको पश्चिम गेटतर्फ (औंलाले देखाउँदै) बस्थेँ । त्यहाँ पनि दुष्टहरूले बसीखान दिएनन् । सात वर्ष बसेँ । सात वर्षमा साढेसातीको दशा लागेजस्तै गरी खेदे उनीहरूले । बस्न मन लागेन ।
त्यसपछि ऊ त्यहाँ (पर, माग्दै गरेका केही मान्छेतर्फ लक्षित गर्दै) आएँ । त्यहाँ पनि दुःखले ७ वर्ष काटेँ । माग्नेका माग्ने त साथी होलान् भनेकी थिएँ, तर तिनै बढी बेसाथी हुँदारहेछन्, पण्डितका पण्डित साथी कम भएजस्तो ।
त्यसपछि यहाँ आएँ । यहाँ आएको पनि अहिले ६ वर्ष भयो । यहाँ कोही छैनन् मेरो बिगार्ने । यही ढुंगा छ, सहारा । बरु यही ढुंगो मेरो साथी भएको छ । धेरै कुरा यसले मलाई सिकाएको छ त्यही भएर म आजकाल रुखि भएकी छु । ढुंगा मेरो गुरु भएको छ अहिले । लाग्छ, अब मैले यो ढुंगा छाड्ने बेलामा मेरो शरीर पनि ढुंगा नै हुन्छ ।’
भन्दै गइन् –
जे कुराले पनि सहेसम्म बस्ने न हो । घरमा श्रीमान्ले सहेका थिए । राम्रो थियो । तर, श्रीमान्लाई भगवान्ले यो धरतीमा बसेको सहेनन्, लगिदिए । मलाई छोराबुहारीले सहेनन्, मैले पनि उनीहरूलाई सहिनँ । धाममा आएँ । माग्ने साथीहरूले सहेनन्, मैले पनि उनीहरूलाई सहिनँ । अहिले यो ढुंगाले मलार्ई सहेको छ । मैले पनि यसलाई सहेकी छु । हामी साथीसाथी भएका छौं ।
भगवान्ले पनि कहिले मलाई यो ढुंगामा बसेको सहन्नन्, म पनि संसारका लागि नसहने बन्न सक्छु । जान्छु ।
‘आमा सुखदुःख भन्ने चिज के हो ?’ उनले आफ्नो इतिवृत्त भन्दै गर्दा बीचमै सोधेँ ।
गम्भीर भएर एकटकले मलाई हेरिरहिन् । केही भन्न खोजेजस्तो गरिन् ।
अनि भनिन् –
पुसको समय, मान्छेहरूलाई नै बरफ बनाउला जस्तो जाडो थियो ।
जाडोले यहाँका माग्ने साथीहरू बिरामी हुने, सन्चो हुने क्रम थियो । म पनि बिरामी नै थिएँ । यहाँ कसले वास्ता गर्ने ? कसैले एकसरो कपडा दिएको थिएन । प्रत्येक रात अनिदोमै बिताउनुपथ्र्यो । कति रात त जाडो काट्न घाटमा मरेका मान्छे जलाएका दाउरा बटुलेर आगो बालेर त्यत्तिकै बिते । त्यही आगो ताप्न त कहाँ दिन्थे र सैतानहरूले ?
हामी निशाचर भएका थियौं । रातिमा ब्यूँझिने, दिउँसो सुत्ने।’
…
एक दिन बिहान करीब ४ बजेको थियो । आगो तापिसकेपछि अब सुत्नुपर्छ भनेर म यहीँ यही बर्को ओछ्याएर अनि ओढेर सुतेकी थिएँ । तन्द्रामा थिएँ । लामो थकाइपछिको निँदमा । सुखको भन्दा दुःखको निँद प्यारो हुने …।
निँद के लाग्न आँटेको थियो, कसले हो कसले ब्यूँझायो ।
‘आमै, आमै, आमै,’ कसैको मप्रति लक्षित आवाज तीनपटक कानमा ठोक्कियो ।
कतिखेरदेखि बोलाएका रहेछन्, थाहा भएन । तर मैले, तीनपटक मात्र सुनेँ ।
उठेँ ।
मन नलाग्दानलाग्दै आँखा खोलेँ ।
एक अधबैंसेले बोलाएका रहेछन् । आवाज कतै सुनेको जस्तो लाग्यो आफन्तको जस्तो ! मान्छेचाहिँ आफन्त होलान् कि नहोलान्, विचार गरिनँ ।
‘सन्चै हुनुहुन्छ ?’ उनले सोधे ।
टाउको हल्लाएँ, दुईपटक। अनिदोका कारण बोल्न सक्ने अवस्था थिएन ।
उनले एउटा बाक्लो बर्को ल्याइदिएका रहेछन्, भिटामिनको बट्टा, कम्बल र तातो ऊलनको स्वीटर पनि । जम्मै दिए । लिन अप्ठ्यारो लाग्यो । मलाई जोकोहीले दिएको झट्टै लिइहाल्न मन लाग्दैन, तर पनि माग्न बस्छु । अरू माग्ने साथीलाई मेरो यही बानी बढी मन पर्दैन । उनीहरू लिइहाल्छन्, म विचार गर्छु ।
त्यसैले उनीहरू भन्छन्, ‘माग्ने भएर नि बढ्ता हुन्छे,’
म उनीहरूलाई गन्दिनँ, उनीहरू मलाई गन्दैनन् । यस्तै छ ।
यति धेरै वस्तु एकैपटक मलाई कसैले दिएको थिएन । त्यसैले, सजिलै स्वीकार गर्न सकिनँ ।
कर गरे, बढी कर गरेपछि, लिएँ । गह्रौं मन लगाएर ।
मनको एक कुनामा कताकता खुसी सल्क्यो, फुरुङ्ग भएँ । विस्तारै शरीरभरि खुशी भरियो । यति धेरै ठन्डीका वस्तु ल्याइदिने यी पक्कै राम्रा व्यक्ति हुन् । सुखमा भन्दा दुःखको यो बेलामा बढी हस्किएँ । लाग्यो, संसारै जितेँ । अरूअरूले जे गरेर संसार जितून्, तर मैले पक्कै मेरो मनको संसार जितेँ । मनको एउटा संसार छर्लंग भयो, सुखको संसार ।
उनले दिएका सबै चिज लगाएँ । तातो ऊलनको स्वीटर लगाएँ । कम्बल आधा पट्याएर ओछ्याएँ, त्यसमै सुतेँ, पछ्यौरी ओढेँ । मलाई नयाँ संसारको अनुभूति भयो ।
कल्पनाको संसारमा विचरण गरेँ । म स्वर्गकी अप्सरा नै भएँ ।
सोध्न मन लाग्यो, मलाई यति धेरै वस्तु ल्याइदिने को होलान् ?
सोधेँ, थाहा भयो, उनी त मेरो आफ्नै छोरा रहेछन् ।
त्यसपछि संसार फनफनी घुम्यो । टाउको भारी भयो । ती अघि दिएका सबै वस्तु बेकार लागे । मैले आफूलाई संसारमा सबैभन्दा बढी असफल ठानेँ । भित्रैदेखि घृणा पलायो । छिनछिनमा मेरो चेत खुल्ने, बन्द हुने भयो ।
अचेत भएँ ।
‘भन त बाबु सुखदुःख के रहेछ ?,’ वृद्धा आमाले उल्टै मलाई प्रश्न गरिन् । म अनुत्तरित भएँ…।