कविता : अन्तिम कविता

~बिनोद गौचन~

म कसको कविता लेखूँ ?
नाम्लोले थाप्लो खाएको
धादिङको भरियाको कविता लेखूँ कि

जमिन्दारबाट सताइएको
धनगढीको कमैयाको कविता लेखूँ ?

म कसको कविता लेखूँ ?
दैलेखमा ढुङ्गे पहरा फोर्ने
ज्यामीको कविता लेखूँ कि
कर्णाली वगरमा गिट्टी कुट्ने
सुत्केरी आमाको कविता लेखूँ ?

म कसको कविता लेखूँ ?
स्याङ्जा पुतलीबजारमा
सुन्तला बेच्ने विधुवाको कविता लेखूँ कि

जुम्ला खलङ्गामा माग्न बस्ने
टुहुराको कविता लेखूँ ?
म कसको कविता लेखूँ ?
मेरो कविताले कसैको दुःख बुझ्दैन भने
मेरो कविताले कसैको आँसु पुछ्दैन भने
व्यर्थै म किन कविता लेखूँ ?
म आफूमात्र अघाएर किन धोकाको कविता लेखूँ ?

आफूमात्र लगाएर
किन नाङ्गाका कविता लेखूँ ?
जेजति कविता लेखेँ, लाग्छ, अन्जानमै लेखेँ
जे जस्ता कविता लेखेँ, लाग्छ अज्ञानमै लेखेँ
अब उप्रान्त
म कविता लेख्दिनँ, यही नै हुनेछ मेरो अन्तिम कविता ।

– शिवालयचोक, पोखरा

(स्रोत : मधुपर्क २०६८ पुस)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.