~जीवन शाही~
नयाँ दिनको सपना साकार पार्नुछ
तुफानी वेग बनेर आउ
उर्लदो भेल बनेर आउ
सङ्ग्रामी ढोल ठोकेर आउ
विद्रोहको विगुल फुकेर आउ
निष्पट्ट यो निशा चिर्न
काला निला बादल फोर्न
रातो तारा बनेर आउ
बलिदानी भाव बोकेर आउ
दुखीका वस्तिमा
निर्धाको दैलोमा
न्यायको मसाल बालेर आउ
जीवन भर पसिना बगाई
माटोमा रगत मिलाई
भोकै छाक टार्ने मजदुरलाई
अन्यायको भुमरीमा छट्पटिएका
दुष्टका जालझेल दमनमा हेपिएका
संसार सिगार्ने वीरहरूलाई
गरिब किसानहरूलाई
वर्गसङ्र्घषको झन्डामा गोलबन्द गर्दै
अन्यायका किल्ला तोड्दै
वर्गीय मुक्तिको आँधी तुफान बनेर आउ
झुपडीको गीत गाउँदै
क्रान्तिको ध्वजा फहराउँदै
दुश्मनलाई हाँक दिँदै
विधवाको आँशु पुछ्दै
वर्गयुद्धको उद्घोष गरेर आउ
कुहिएका गलेका ऐजेरू फ्याँक्न
वर्गसङ्घर्षको गाथा कोर्न
सुनामी वेग बनेर आऊ
– सुर्खेत, २०६८÷१०÷१८
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १८ – March 7, 2012 – २०६८ फागुन २४ गते, बुधबार)