~शीतल शर्मा~
“उइस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम” !
मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यहि शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरें र लेखें । सन्दर्भ त मेरै जन्मदिनको थियो¸ असोज सात गते । त्यस दिन मेसेज त आएको थियो¸ तर दिउँसोसम्म कुर्दा पनि उसको कल आएन । कुर्न त कुरिरहेकै थिएँ उसको कलको तर बेलुकासम्म पनि कल आउदै आएन । सट्टामा “आजको जन्मदिन राम्रै भयो होला¸ कोसँग मनायौ¸ बधाई छ” भनेर मोबाइलको मेसेज बक्समा लामो मेसेजले टिङ्गटिङ्ग आवाज दियो । मलाई त्यसको जवाफ दिनुपर्छ जस्तो लागेन किनभने मैले मेरो जन्मदिन ऊ बाहेक अरुसँग मनाउने गरेको नै थिइन¸ खासमा त सोचेको पनि थिइन र कसैसँग मनाइन पनि । मेरो जन्मदिनमा ऊ आउला र कतै टाढा गएर मनाउला भनेर आशा गरेर बसिरहेकी थिएँ¸ तर त्यस्तो भएन । किन हो भनेर मैले जान्न पनि खोजिन¸ किनभने उसले आजसम्म त्यस्तो गर्दै गर्दैनथ्यो । यसभन्दा पहिला रातीको बाह् बज्ने बित्तिकै उसले कल गरेर बर्थडे उइस गरिहाल्थ्यो¸ त्यो नै मेरा लागि ठूलो हुन्थ्यो । यसपटकको जन्मदिनमा के भयो¸ कि उसलाई थाहा होला कि भगवानलाई ! मलाई थाहा हुने त कुरै भएन । मलाई सम्झेर¸ नसुतिकन बाह् बज्नासाथ शुभकामना दिन पनि सानो कुरा थिएन¸ मेरो स्मरण ऊ सँधै गरिरहन्थ्यो । के उसको अरु काम नै हुन्थेनर ? मेरो मात्र सम्झना गर्नलाई ? शहरको ठूलो मान्छे¸ विद्धान हो¸ आफ्नो कर्तव्य पनि त पूरा गर्नु पर्यो नि उसलाई !
मेरो जन्मदिनको भोलिपल्ट मलाई फोन गर्यो –
“ए डल्ली हिजो किन मलाई फोन नगरेको म नहुँदा पनि जन्मदिन मनाउन आँट आयो होइन अब ? “
म झसङ्ग भएँ¸ अनि लाग्यो मैले नै फोन गरेको भए त भइहाल्थ्यो । मेरो शरीरको उचाइले धोका खाएर कम उचाइ भए पनि उसले ‘डल्ली’ भनेको असाध्यै मन पर्छ मलाई । उसको ‘डल्ली’ शब्दले मेरो सारा रिस शान्त भयो आफैले सरी भन्नु बाहेक बिकल्प देखिन । उसको भेट्ने आग्रहलाई नकार्न सकिन र फेरी उसले भनेको ठाउँमा भेट्न गएँ । सदा झैं त्यस दिन पनि हाम्रो भेट भयो । त्यस दिन बोल्न मन लागेन नबोली बसें¸ गुथुक्क परेर¸ बोल्नै मन लागेन कसरी बोलुँ ? एकछिनसम्म त ऊ पनि नबोली बस्यो । एकछिन पछि
“कति मख्ख परेर बसेको¸ नबोल्ने भए किन आको¸ जहिले पनि फुलेको फुल्यै ! मलाई तिम्रो यहि बानी मन पर्दैन । मान्छे त सँधै ह्याप्पी हुनुपर्छ¸ स्याड फेस बनाउनु हुंदैन ।”
उसको लामो भाषण सुन्दा सुन्दै मेरो रिस शान्त भैसकेको थियो । म पनि धेरै समय ऊसँग नबोली कहाँ बस्न सक्छु र ? फेरी कुराकानी शुरु भैहाल्यो । खाजा खायौं¸ घर जाने बेलामा
“तिमीलाई जन्म दिनको उपहार के दिऊँ¸ तिमी आफै भन¸ मलाई केही आउँदैन¸ तिमीले भनिनौं भने केही ल्याइदिन्न पछि रिसाउन पनि पाइदैन ।”
उसले एकै सासमा भन्यो । जन्मदिनमा मलाई यो उपहार लेऊ भनेर के भन्ने ? कहिल्यै केही भनेको थिइन तै पनि उसले बेलाबेलामा नदिएको होइन । भारतमा रहेको विश्व प्रसिद्ध प्रेमको प्रतीक भनेर चिनिने ताजमहलको सानो उपहार पनि नल्याइदिएको पनि होइन । मलाई कसरी भनुँ¸ के भनुँ¸ भन्ने भैरह्यो । फेरी आँटै गरेर उसलाई सोधें
“तिमी साँच्चै मलाई जन्मदिनको उपहार दिन चाहन्छौ त ? नाई भन्न पाइदैन नि ।”
उसले हुन्छ भनेर प्रमिस गर्यो ।
“तिमीले उपहार दिन चाहन्छौ भने मलाई औंठी लगाइदेऊ¸ अनि मात्रै तिमीले मलाई सम्झीरहन्छौ” मैले आँट गरेर भनें ।
“हवस”
उसको जवाफमा खुशी भएँ । अनि हामी आ-आफ्नो घर गयौं ।
समय बित्दै जादै थियो उसले गरेका हरेक फोनमा त्यो “उपहार” को सन्दर्भ जोडिएको हुन्थ्यो । एउटा राम्रो दिनमा उसको उपहार लिने इच्छा सँगै एक दिन फोन गरें¸ ऊ मलाई लिन आयो¸ अनि औंठी किन्न दुबै जना मिलेर गयौं ।
“अब यो मैले नै लगाइदिने होला होइन त ? कुन औंलामा लगाउने हो ? “
उसले यति सोधिसके पछि मैले दाहिने साँहिली औंला दिएँ¸ उसले लगाइदियो । मैले धन्यवाद भनेर आभार व्यक्त गरें । म निकै खुशी पनि भएँ¸ लाग्यो उसले मलाई सँधै यसरी नै माया गरिरहने छ । त्यस दिन दुबै जनाले खाजा खाएर आ-आफ्नो घरतिर गइयो । उसले मलाई घरसम्म छेड्न पनि गएको थियो ।
दिनहरु बित्दै गइरहेको थियो¸ अर्को दिन भेट्ने निश्चित गरेर फोनमा कुरा टुंग्याउथ्यौ । फेरी एक दिन खाजा सँगै खाउँ भनेर उसैले फोन गर्यो¸ म गएँ सदा झैं उही ठाउँमा । उसले लगाइदिएको औंठी लगाएरै गएको थिएँ । कुरै कुरामा उसले सोध्यो “औंठी लगाए पछि धेरै माया पाए जस्तो लागिराछ हो ? ” मैले सहजै जवाफ दिएँ “एस” । त्यसपछि उसको भाषण शुरु भयो¸ “तिमीले दिएको उपहार मैले नलगाउँदैमा माया कम हुने अनि मैले लगाइदिएको औंठी तिमीले नलगाउदैमा तिमीले मलाई नसम्झने हुन्छ र ? म त तिमीलाई तेतिकै पनि सम्झिरहन्छु त¸ अनि फेरी जुन समय पनि तिमीलाई सम्झेर बसिरहन सकिन्छ त ? आज उसले अनौठो कुरा गरिरहेको देखेर म अवाक भइरहेको थिएँ । खासै बोल्न मन लागेन ऊसँग¸ मसँग कुरा नै नभए जस्तो लाग्यो । कुरा त उसको बेठिक होइन तर के यस्ता व्यवहारले मायालाई दीगो राख्ला त ? यिनै प्रश्नहरु मनमा खेलाउँदै घर गएँ । बेलुका हुँदासम्म पनि कुरा खेल्न छाडेन¸ सोचें यो औंठी लगाउदिन¸ तत्कालै औंठी खोलेर ब्यागमा राखे ।
“टिङ्गटिङ्ग टिङ्गटिङ्ग टिङ्गटिङ्ग टिङ्गटिङ्ग ” फोनको घण्टी बज्यो उसैको रहेछ । “भेट्ने होइन ? “
हो¸ मैले जवाफ दिएँ र उसलाई भेट्न गएँ । त्यसदिन मैले कफी मात्रै पिएँ¸ गफगाफ भयो बीचबीचमा व्यवहारिक गफ पनि हुने गर्थ्यो हामीबीच ।
“देख्यौ त तिमीले आज त्यो औंठी लगाएकी छैनौ तर मलाई पनि त बिर्सिएकी छैनौ¸ मैले पनि तिमीलाई बिर्सेको छैन ।”
उसले त्यही कुरा कोट्याए पछि मलाई झन बोल्न मन लागेन¸ बोल्ने दिल नै खुलेन । उसलाई थाहा थियो कि थिएन मैले त्यो औंठी किन नलगाएको भनेर । मैले भन्न पनि चाहिन । त्यसदिन त्यतिकै घरतिर लागियो । घरमा पुगें मनमा नानाथरी कुरा खेल्न थाले । सोचें अब यो औंठी लगाउदिन¸ जे भनोस भनोस उसले । अब यो औंठी घरमै राख्छु भनेर ब्यागबाट औंठी झिक्न लाग्दा थाहा भयो कि औंठी त हराइसकेछ । कतिबेला¸ कहाँ¸ के गर्दा हरायो थाहा नै पाइन । उसलाई भन्न पनि डर लागिरहेको थियो¸ जे भए पनि मेरो मन राख्न नै भए पनि उसले मलाई माया गरेर लगाइदिएको थियो¸ भुल्न सकिन । चिटचिट पसिना छुट्यो¸ हातगोडा फतक्क गले¸ मनमा डर पस्यो कतै औंठीसँगै उसको माया पनि हराउँछ कि भनेर ।
मनमा जे सोच्यो तेहि हुन्छ भन्थे नभन्दै त्यहि हुन गयो । त्यसदिन देखि उसले फोन गर्ने समय घटाउँदै गयो¸ कहिलेकाँहि मात्र गर्थ्यो फोन पनि । फोन गरिहाले पनि औपचारिकता पूरा गर्न मात्र र आजसम्म पनि त्यसै गर्दैछ¸ भेट्ने कुरा त कता हो कता । त्यस्तो औंठी जसको मलाई धेरै रहर थियो उसैको हातबाट लगाउने¸ आज त्यसैका कारण हाई डल्ली भन्ने आवाज हराएको छ¸ मेरो माया हराएको छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )