~जीवन क्षेत्री~
पत्थरको चट्टानबीच
वसन्तको के खोजी गर्छौ
ए साथी हो ।
ढोंग नगर
पत्थरबीच फूल फुल्ने भए
शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो
शीत र हुस्सूबीच
मुनाहरू टुसाउने भए
पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो
साथी हो ।
नाटक नगर
बन्दुकले सधैँ सुरक्षा दिने भए
पर्खेर मात्र युग फेरिने भए
बोलेर मात्र काम बन्ने भए
आज केके भइसक्थ्यो
पलाँसको फूल भइसकेका छन.
झुसिल्किराका रौँ भइसकेका छन्
ती काल रात्रीका हतियारहरू
तर फेरि बज्रिरहेछन् हामीमाथि नै
ती अन्धकारका मतियारहरू
के घडीको सुई उल्टो घुम्न सक्छ ?
तर सिकिराख
ए साथीहरू हो ।
घडीलाई सुल्टो घुमाइराख्न पनि
कसैले योगदान दिनुपर्छ,
कसैले ध्यान त कसैले ज्यान दिनुपर्छ
तर किन रुझेको बिरालो जस्तै
पछितिर पाइला चालिरहेछौ,
ए साथहिरू हो ।
अन्धकारको तरबारबाट आफू बच्न
अरु सयौँलाई मार खान बाध्य पारिरहेछौ
एउटा अधमरो भ्रममा
बन्दुक र गोलीको घेराले जीवन बचाउला भनेर
कति झुकिन्छौ ए साथीहरू ।
ऐना हेर त ?
घडी सुल्टो घुमिरहेछ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)