संस्मरण : दुर्योधनको नियति

~निर्मोही व्यास~Nirmohi Vyas

२०५८ सालको पहिलो साताको प्रारम्भमा म पीएच.डी.को प्रवेशपरीक्षामा सफल भएको खबर पाएर भर्ना हुनका लागि काठमाडौं आएको थिएँ । विद्यावारिधिको अध्ययन गर्ने वर्षौंअघिदेखिको आफ्नो बलियो धोको पूरा हुने साइत जुरेकोमा खुसीले झुसी थिएँ । काठमाडौं टेकेको भोलिपल्ट दस बजे नै कीर्तिपुर गएर त्रि.वि मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नामाङ्कन गराएँ । शोधनिर्देशक चयनका लागि आवेदनपत्र भरेर बुझाएँ । परिचयपत्र बनाएँ र समयको ठयाम्मै दुइ दशक लामो अन्तरालपछि फेरि विद्यार्थी बनेर आफ्नो पचास वर्षो उमेर स्वाट्टै पच्चीस वर्षा झरेको रोमाञ्चक अनुभूति सँगालेर मख्ख पर्दै त्यहाँबाट बाहिरिएर आफ्ना अन्य व्यावहारिक अल्झाहरूलाई सुल्झाउनतिर व्यस्त भएँ केही दिन ।

वात्सल्यका प्रतिमूर्ति मेरा पिताजीपछि मलाई पुत्रवत् मायाँ गर्ने अर्का वात्सल्यका प्रतिमूर्ति प्रा.डा.केशवप्रसाद उपाध्याय जो मेरा निम्ति उमेरका दृष्टिले पितातुल्य, शैक्षिक दृष्टिले परमादरणीय गुरुवर, व्यावहारिक दृष्टिले सहकर्मी र मित्र अनि सम्बोधनका दृष्टिले चाहिं ‘केशवदाजु’ हुनुहुन्छ मेरो बाल्यकालदेखि नै, उहाँलाई नै मैले विद्यावारिधिका शोधनिर्देशक तुल्याउने सौभाग्य पाएँ । मेरो एकै गाउँठाउँ र छरछिमेकका बासिन्दा रहेका केशवदाजु कलैयाबाट बसाइँ सरी २०४९ सालदेखि काठमाडौंमा बस्न थालेपछि म कलैयाबाट कामविशेषले दुइ-चार दिनका लागि काठमाडौं आएका बेला प्रायः चाबेल सरस्वतीनगरस्थित केशवदाजुकै घरमा बस्ने गरेको थिएँ । र त्यस ताका पनि उहाँकहाँ नै बस्न पुगेको थिएँ । त्यस ताका दाजु उमेरको हदका कारणले त्रि.वि.सेवाबाट निवृत्त भइसक्नु भएको थियो र अब नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्यका रूपमा सेवारत हुनुहुन्थ्यो ।

अँ त, साउन १० गतेका दिन बिहान खानपिनपछि उहाँलाई लिन प्रज्ञा प्रतिष्ठानको मोटर आउँदा म पनि उहाँसितै निस्कें घरबाट । पुतलीसडक नाघेर कमलादीतिर मोडिएपछि म गाडीबाट ओर्लें र कमलपोखरीको कृष्ण पाउरोटी चोकतिर सोझिएँ । त्यस चोकछेउको एउटा पसलमा काम गर्ने आफ्ना एक आत्मीय जनलाई भेट्नका लागि उनले तोकेको समयअनुसार त्यहाँ जान भनेर । कृष्ण पाउरोटी चोकदेखि पश्चिमपट्टि त्यस ताका ओम् नर्सिङ् होम बसेको भवनको छेउमै उत्तरतिर सडकपारि थियो मेरो गन्तव्य बनेको त्यो पसल रहेको भव्य भवन, जहाँ अचेल ‘गुडविल कम्प्लेक्स’ नाउँको उस्तै भव्य पसल थापिएको छ । अँ त, त्यस पसलको ढोका पूर्व फर्केको थियो । पसलको पूर्वी र दक्षिणी भाग पूरै हृवाङ्ङ थियो यहाँदेखि उहींसम्मै । चोकबाट पश्चिम लागी ढोका घचेडेर म पसलभित्र पसें र काउन्टरमा गई आफ्ना ती आत्मीय जनको नाउँ लिएर आफू उनलाई भेट्न आएको कुरा गरें । काउन्टरमा बसेका कामदारबाट थाहा भयो मेरा ती आत्मीय व्यक्ति त्यहाँ आइपुगेकै छैनन् र आउने समय बितिसकेको हँुदा अब उनलाई त्यहाँ भेट्ने सम्भावनाको अन्त्य पनि भइसकेको छ ।

अहिलेजस्तो छयास्छयास्ती मोबाइल फोनको सुविधा भएको जुग थिएन त्यो । त्यसैले न उनलाई म ‘हेलो’ गरेर आफ्नो कुरा भन्न सक्थें न त उनी नै मलाई भन्न सक्थे । त्यति मात्र होइन, उनको डेरामा पनि ल्यान्ड लाइन फोनको सुविधा थिएन त्यसैले त्यहाँ उनीसित साक्षात्कार त के फोन-सम्वादसम्म पनि ठयाम्मै हुन सकेन । त्यसपछि भोलि ठीक दश बजे आए भेट्न सकिने सल्लाह कामदारहरूबाट पाएर म उनीहरूलाई धन्यवाद दिई त्यहाँबाट बिदा भएँ । नजिकै दक्षिण-पूर्व दुवैतिर मोटर,मोटरसाइकल र असङ्ख्य यात्रुजन दोहोरीलत्ता आउजाउ गरिरहेका थिए । उत्तर-दक्षिण सोझिएको पूर्वपट्टिको सडक केही मीटर पर भए पनि पूर्व-पश्चिम सोझिएको दक्षिणतर्फो सडक त्यस भवनसित टाँसिएकै थियो ।

पसलको पूर्व र दक्षिणतर्फा सटरहरू सबै खुला थिए, त्यसैले बाहिरको दुवैतर्फा बाहिरी दृश्यहरू पूरै छयाङ्ङ देखिइरहेका थिए । त्यसो हुँदा म पसलबाट बाहिरिएर छेउकोे सडकमा निस्कन दक्षिणतिर हुर्रिएँ तर सडकमा पुग्नु त कता हो कता खै केमा हो कुनि डयाम्म पर्ुर्पुरोको देब्रे भागमा आँखीभुइँदेखि लिएर निधारसम्मै ठोकिएर रगताम्य हुँदै भित्रपट्टिकै मझेरीमा साफसित पछारिएँ । बर्खामासमा पानीको मूल फुटेझैं रगत भल्भलाएर छिनको छिनमै अचानक त्यहाँ रगतको आहाल जम्न पुग्यो । मलाई अचम्म लाग्यो । त्यस पसल र सामुन्नेको सडकका बीचमा त कुनै छेकबार भएजस्तो लाग्दै लागेको थिएन ।

त्यस्तो केही पनि देखिएकै थिएन । बरु अघिल्तिरको फराकिलो पीच सडक र त्यसमाथि आवागमन गरिरहेका मान्छे् र सवारीसाधन छयाङ्ङै देखिंदै थिए अघि पनि र अहिले पनि, भने केमा चाहिं त्यसरी छिनको छिनमै डयाम्म बज्रेर घाइते भयो त मेरो पुर्पुरो । म ठयाम्मै बुझनै सकिरहेको थिइन । यसरी नितान्त अप्रत्याशित रूपमा आइलागेको दुर्घटनाबाट म घनघोरसित घाइते भएर रगतको आहालमा डुब्न पुगें । त्यसमाथि पसलको काउन्टरमा बसेका अघि मसित मीठो वार्तालाप गर्ने कामदारहरू र त्यस पसलका अन्य कामदारहरू समेत अब मसित आगो भएर झोक्किए- “कस्तो मान्छे रैछ, बाटो एकातिर छ, त्यत्तिकै अर्कातिर दौडिने । अहिले यो सीसा फुटेको भए कसले तिथ्र्यो -” भन्दै । अब बल्ल मलाई त्यस दुर्घटनाको कारण बारे प्रस्ट रूपमा स्थितिबोध भयो- ए, सामुन्ने बाहिर पूर्व र दक्षिणतर्फा सडकहरूको दृश्य छयाङ्ङै देखिएको त बीचमा बार हुँदै नभएर होइन, बरु सबैतिर टम्म मोटो सीसाको बार भएर पो रहेछ त भन्ने ।

अत्यधिक रक्तस्रावका कारणले भनन्न रिङटा लागेर अर्ध अन्ध र अर्ध मूच्छिर्त अवस्थामा पुगें म । मेरो चेतनाले काम गर्न साह्रै गाह्रो परेको भए पनि एकातिर अप्रत्याशित रूपले हुन गएको आफ्नो त्यस्तो मर्मान्तक अवस्था अनि अर्कातिर त्यहाँका कामदारहरूको त्यस्तो क्रूर र हेपाहा बोलीवचन, यसरी एकसाथको दोहोरो पीडाले म रन्थनिनसम्म रन्थनिएँ । र ” म तिरिहाल्थें नि भाइहरू सीसा फुटेको भए, मेरो टाउको फुटयो र पो !” भन्दै बडो सकसका साथ बल्लतल्ल उठें । रिसले रन्कनसम्म रन्के पनि ती केटाहरूले तै तै रगत पुछ्नका लागि बीस-पच्चीसवटा नेप्किन र उपचारका लागि त्यही सीसाको पर्खालपारिको ओम् नर्सिङ होममा जाने सल्लाह दिंदै त्यहाँबाट बाहिरिन पूर्वपट्टि रहेको सीसाकै ढोका देखाइदिए । म आफ्ना दुवै हातले पहिले उनीहरूले दिएका हातपुछुवा कागत -नेप्किन) ले र ती नेप्किन सकिएपछि आफ्नो प्यान्टको खल्तीमा रहेका दुइवटा हाते रुमाल झिकेर भ्याइनभ्याइ गरी रगत पुछ्ने असफल प्रयास गर्दै र तर्तरी रगतको धारो छुटाउँदै हुरी भएर सबभन्दा नजिकको उपचारकेन्द्र त्यही ओम् नर्सिङ होमको आकस्मिक कक्षमा पसें ।

पालोमा रहेका डाक्टर र नर्सहरूले मेरो अवस्था देखेर आत्तिंदै हतारहतार मलाई शय्यामा लगेर सुताए र सोधे-” तपाईंको साथी को छ हँ – ल ल ल ल एक जनालाई त नल्याई भएन, औषधी र सामान किनिहाल्नु पर्‍यो बाहिरबाट ।” मैले आफू एक्लै आएको जानकारी गराएँ र उपचारका लागि पुग्ने जति रुपियाँ आफूसित खल्तीमा भएकाले खर्चको चिन्ता नगरीकन उपचार गरिदिन अनुरोध गरें । आवश्यक सामान अस्पतालकै कर्मचारीमार्फर्र्मगाउन समेत अनुरोध गरें । अझै आनेकाने गर्दै थिए उनीहरू । त्यसपछि अब मलाई आफैं पनि अर्को डर लाग्न थाल्यो । ए बाबा, यस्तरी रगत बगिराखेको छ, एक्लै आएको छु उपचार गराउन । खल्तीमा पन्ध्र हजार चानचुन रुपियाँ छ । उपचारका क्रममा कथं कदाचित् बेहोसै पो भइहालेछु भने म बेवारिसे बिरामीको के हबिगत होला – खल्तीको पन्ध्र हजार रुपियाँ के होला – भन्ने पीरले अब मलाई नराम्ररी गाँज्यो । त्यसपछि एक्कासी शय्याबाट जुरुक्क उठें र उसैगरी तर्तरी रगतको धारो छुटाउँदै हुर्रिएर प्रज्ञा भवनमा केशवदाजुको कोठामा पुगें । आधा घण्टाअघि मात्र आफूसित छुट्टिएको मान्छे अहिले हिन्दी फिलिम ‘लैलामजनूं’ को नायक ‘मजनूं’ को जस्तो रगतपच्छे र हुप्प परेको अनुहार लिएर आफ्नो सामुन्ने आइपुगेको देखेर छक्क पर्नुभयो र निकै अत्तालिनु पनि भयो उहाँ ।

मैले उहाँलाई सारा घटना बेलीबिस्तार लगाएँ । तर जतिसुकै अत्तालिए पनि वयोवृद्ध अवस्थाका उहाँले आफ्नो कम्जोर शारीरिक स्थितिका कारणले मलाई अस्पताल जान साथ दिन सक्ने कुरै थिएन । उपचारको लागि आवश्यक खर्चपानी मसितै थियो । मलाई त खालि भरपर्दा व्यक्तिको साथ मात्र चाहिएको थियो । त्यसपछि म रन्थनिंदै त्यहाँबाट भर्‍याङ ओर्लेर रगतको धारो लगाउँदै र आलो रगतले लफक्क भिजेका खल्तीका तिनै दर्ुइवटा हाते रुमाललाई पालैपालो निचोर्दै र पुर्पुरो पुछ्तै अर्धबेहोसी स्थितिमा खै कता कताको बाटो गरी नयाँसडकको विशालबजारको बीच तलामा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा पुगेर त्यस ताका त्यहाँ कार्यरत अन्तरङ्ग मित्र राजवजीको कोठामा पसें । कुन चेतनाले म त्यहाँ पुगें मलाई आफैं पनि थाहा छैन । त्यस कोठामा त्यति बेला राजवजीलाई भेट्न आएका मेरा अर्का हार्दिक मित्र कवि श्यामलजी पनि बसिराख्नु भएको रहेछ राजवजीसित कुराकानी गर्दै । मैले हुर्रिंदै कोठामा पसेर उहाँहरूलाई नमस्कार गरें । यतिन्जेलसम्म पनि मेरो अनुहारमा रगतको धारो लागिरहेकै थियो । साथै निधारभरि रगत कट्कटिएको समेत थियो र हृवाङ्हृवाङ्ती गहिरो प्वाल परेर सम्बन्धित भाग फट्टिएको पनि थियो । अनि निकै सुन्निंदै गएर अनुहारको हुलिया नै बिरूप भइसकेको थियो चिन्नै गाह्रो पर्ने गरी ।

मेरो यस्तो रूप-रङ्ग देखेर दुवै मित्र एकदमै आत्तिनुभयो । त्यसपछि लगत्तै श्यामलजी मलाई लिएर निस्कनुभयो डाक्टरकहाँ लैजाने कार्यालयीय व्यस्तताका कारणले राजवजी चाहिं जान सक्नु भएन । नयाँसडकदेखि इन्द्रचोकतिर जाने बाटैबाटो विशालबजारको क्षेत्र नाघेपछि इन्द्रचोक नपुग्दै सडकको पूर्वपट्टि विशालबजारकै लाइनमा एउटा भव्य भवनको बीचको तलामा देखियो हरिनारायण साह नाम गरेका डाक्टरको क्लिनिक । श्यामलजीले मलाई भर्‍याङ् उकालेर त्यहीं लैजानुभयो । डाक्टरसाहेबले र्ससर्ती जाँचेर टाँका लगाउनका लागि आफ्ना एक जना सहायक युवकलाई अह्राए र आफू अर्का रोगीको परीक्षणमा व्यस्त भए । मेरो घाइते अङ्गमा टाँका लगाउन खटिएका कम्पाउन्डरसाहेब भने मेरो घाइते अङ्ग देखेर आफैं आत्तिए र उनले डाक्टरलाई त्यसको जानकारी गराउँदै आफूबाट त्यो काम सम्भव नहुने बताए ।

त्यसपछि केही छिन कुराएर डाक्टर आफैं मेरो उपचारमा अघि सरे । घाउ उनले सोचेजस्तो लर्तरो नभएर डेढ इन्च गहिरो र दुइ इन्च लामो रहेछ । उनी स्वयं छक्क परे र बडो सावधानीपुर्वक मेरो पुर्पुरोमा छवटा टाँका लगाई औषधी राखेर टाउकामा टोपीको घेरो जस्तो गरी सेतो पट्टी बाँधिदिए साथै दिनमा तीनपल्ट खाने औषधीका सेता चक्की पनि दिए उनले सात दिनका लागि अनि एक सातापछि फेरि भेट्ने भाका दिएर बिदा गरे मलाई । यसरी मेरो काठमाडौं बसाइको अवधि एक साता अरू लम्बियो अब । तोकेको दिन म फेरि गएँ र टाँका कटाएर केही दिनका लागि मलम औषधी समेत लिएर घर फर्कें म ।

अँ त, म त्यस दिन थाहा न पत्तोसित एकाएक महाभारतका विशिष्ट पात्र दुर्योधनको नियति भोग्न बाध्य भएँ । खाण्डवप्रस्थमा पाण्डवहरूको भव्य दरवारमा युधिष्ठिरद्वारा आयोजित राजसूय यज्ञमा सहभागी हुन गएको ताका यज्ञको समापनपश्चात् अन्य अतिथि, राजा र विशिष्ट पुरुषहरू आ-आफ्नो घरतर्फफर्केपछि हस्तिनापुरका राजा दुर्योधन मामा शकुनिका साथ पाण्डवहरूको आतिथ्य स्वीकार गर्दै उनीहरूको सभाभवनमा अरू केही दिन बसे । त्यहाँ पाण्डवहरूको दरबारको अपूर्व वैभवपूर्ण संरचना र उनीहरूको समृद्धि देखेर दुर्योधन आर्श्चर्यचकित भए । एक दिन उनी सभाभवनमा घुमघाम गर्दै स्फटिक-मणिमय स्थलमा पुगेर त्यो ठाउँ जलमय भएको आशङ्काले उनले आफ्नो वस्त्र माथि उचाले । यस प्रकार बुद्धिमोह हुनाका कारणले उनको मन उदास भयो र उनी त्यस ठाउँबाट फर्केर सभाभवनमा अर्कोतर्फघुम्न थाले ।

त्यसपछि उनी स्थलमा नै लड्न पुगे । त्यस घटनाबाट उनी मनमनै लज्जित भए र त्यहाँबाट हटेर लामो सास फेर्दै सद्भवनमा घुम्न थाले । त्यसपछि स्फटिकमणि समान स्वच्छ जलले भरिएको र उस्तै स्फटिकमय कमलहरूले शोभायमान तलाउलाई स्थल ठानेर त्यहाँ त्यतिकै हिंड्दा वस्त्रसहितै जलमा खसे र उनलाई त्यसरी जलमा खसेको देखेर भीम हाँस्न थाले । साथै भीमका सेवकहरूले पनि दुर्योधनको घनघोर उपहार गरे तथा राजा युधिष्ठिरको आज्ञाले दुर्योधनलाई फेर्न राम्रा वस्त्रहरू दिए । दुर्योधनको त्यस्तो अवस्था देखेर भीमसेन, अर्जुन,नकुल, सहदेव सबै नै त्यस बेला जोडजोडले हाँस्न थाले । दुर्योधन स्वभावैले इखालु र्रर् इष्र्यालु थिए । त्यसैले उनले पाण्डवहरूको त्यो उपहास सहन सकेनन् । उनी आफ्नो अनुहारको भावलाई लुकाइराख्नका लागि तिनीहरूतर्फहेर्दै हर्ेर्दैनथे । फेरि स्थलमा नै जलको भ्रम भइहाल्नाले उनी वस्त्र उचालेर त्यसरी हिंड्न थाले मानौं पौडी खेल्ने तयारी गर्न लागेका होउन् ।

यस प्रकार जब उनी माथि चढे तब सबै जना उनको त्यस्तो भ्रान्तिमा हाँस्न लागे । त्यसपछि दुर्योधनले एउटा स्फटिकमणिबाटै निर्मित अर्को ढोका देखे जुन यथार्थतः बन्द थियो तर पनि खुला जस्तो देखिन्थ्यो । त्यसमा पस्न खोज्नासाथै उनको शिर साफसित ठोकियो र उनलाई भनन्न रिंगटा लाग्यो । त्यसपछि हिंड्दै जाँदा फेरि ठीक त्यस्तै प्रकारको अर्को ढोका फेला पर्‍यो जसमा स्फटिकमणिका ठूल्ठूला खापा जडिएका थिए । त्यसो त त्यो ढोका खुलै थियो तर दुर्योधनले त्यसलाई बन्द ठानेर दुबै हातले घचेड्न खोजे किन्तु उनी आफैं घचेडिएर द्वारको बाहिरपट्टि निस्की लड्न पुगे । त्यहाँबाट अघि बढेपछि उनलाई एउटा निकै ठूलो ढोका फेला पर्‍यो तर पछिल्ला ढोकाहरूमा जस्तै यहाँ पनि कुनै नरमाइलो घटना हुने हो कि भन्ने भयले अगाडि बढ्न आँट नआएर उनी त्यस ढोकाको वारिबाटै फरक्क फर्केर आए । यस प्रकार बारम्बार धोका खाएपछि राजा दुर्योधन राजसूय महायज्ञमा पाण्डवहरूका पासमा आएको अद्भुत समृद्धिमाथि दृष्टिपात गरी युधिष्ठिरसित आज्ञा लिएर अप्रसन्न मनले हस्तिनापुर फर्किए ।

महषिर् वेदव्यासले प्रणयन गरेको महान् ग्रन्थ महाभारतको सभापर्वअर्न्तगत द्यूत -जूवा) पर्वमा वर्णन गरिएको खाण्डवप्रस्थमा पाण्डवहरूको सभाभवनपरिसरका विभिन्न भागमा जडित र निर्मित खुला रहेकोमा बन्दको र बन्द रहेकोमा खुलाको भ्रान्ति दिने मयदानवद्वारा निर्मित स्फटिकमणिमय अनेक ढोका र जलमा स्थलको एवं स्थलमा जलको भ्रान्ति उत्पन्न गर्ने जलाशय र स्थलको संरचना-शिल्पगत विचित्रता र विशिष्टताका कारणले जतासुकै भ्रमैभ्रम भएर ठक्करैठक्कर तथा धोकैधोका खाने दुर्योधनको दुर्नियति जस्तै माथि वर्णन गरिएको कमलपोखरी कृष्ण पाउरोटी चोकछेउको पसलमा पर्खालको रूपमा जडित मोटो पारदर्शी सीसालाई पनि शून्य ठानेर हुर्रिंदै पसलपारितिरको सडकमा निस्कन खोज्दा त्यस मायावी सीसाको वज्रतुल्य बारमा साफसित बजारिएर मेरो पुर्पुरो गम्भीर रूपमा घाइते हुनु र मैले त्यसरी दुर्योधनको नियति भोग्न पर्नु दुवै काटीकुटी एकै प्रकारका घटना लागे मलाई । मेरो यो दुर्घटना २०५८ साल साउनमा घटित भएको थियो भनेर मैले माथि नै उल्लेख भइसकेको छ । दुर्योधनले पाण्डवहरूको त्यस सभाभवन परिसरमा बारम्बार धोका खाएझैं मैले पनि ठीक त्यस्तै गरी फेरि पनि धोका खानुपर्‍यो सीसाको ढोका र पर्खालले धोका दिएर । अघिल्लो प्रसङ्ग काठमाडौंको थियो भने पछिल्लो चाहिं वीरगन्जको र मिति २०६७ साल मङ्सीर १५ गतेको ।

अन्तर केवल ठाउँ र मितिको ।

अँ, पोहोर अर्थात् २०६७ सालको मङ्सीर १४ गतेका दिन म आफ्नो पाँच पुस्तादेखि बसोबास गर्दै आएको र ४ वर्षघि मैले राजधानी काठमाडौंमा बसोबास गर्न थालेपछि लगभग बेवारिसे पारामा रहँदै आएको बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिका वडा नं. २ अर्न्तर्गत भवानीपुरटोलमा रहेको घरबारी बेचबिखन गर्नका लागि वीरगन्ज गएको थिएँ । ४ वर्षघि झिटीझाम्टा लिएर काठमाडौं पसेको बेलादेखि कलैयामा मैले फेरि बिर्सेपनि पाइला हालेको थिइन, अहिलेसम्म हालेको छैन र केही त्यस्तै नपरी सम्भवतः भविष्यमा पनि हाल्ने छैन । त्यस थलोप्रति हृदयभरि माया-मोहको महासागर नै उर्लिरहेको भए पनि देशको परिस्थितिगत विडम्बनाले गर्दा मन मारेर आफ्नो निर्मोही उपनामलाई त्यस सर्न्दर्भमा मैले पूरै र्सार्थक तुल्याएको हुँदा म घर-जग्गा बेच्नका लागि समेत त्यहाँ जानै चाहिन र वीरगन्जबाटै रजिस्ट्रेसन पास गर्ने व्यवस्था मिलाएँ मैले जेठा छोरा शरद उपाध्याय न्यौपाने र सम्धी विनोद पुडासैनीज्यूमार्फ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार र कुमारी बैङ्कको सुर्खेत शाखाको शाखा प्रबन्धकको दायित्व वहन गरिरहेको शरद सपरिवार सुर्खेतबाट र म काठमाडौंबाट प्रस्थान गरी १४ गतेका दिन हामी वीरगन्ज पुग्यौं । भोलिपल्ट शरदले कलैयाबाट सम्बन्धित ग्राहक र मालपोत कार्यालयको डोर बोलाएर ल्याए र वीरगन्जको आदर्शनगर टोलमा अवस्थित कर्पोरेट बैङ्कको केन्द्रीय कार्यालयमा सबै जना जम्मा भई त्यहीं बसेर हामी बाबुछोराले मेरो नाममा रहेको आफ्नो घरबारी बेचेको रजिस्ट्रेसन कागतमा सहीछाप गरिदियौं । बारा जिल्लाकै थरोट इलाकाका एक जना चौधरीजीलाई ।

दुइतर्फी काम सम्पन्न गर्‍यौं । यसरी अब हामी त्यहीं नै जुनीजुनी बिताउने अठोटले ठयाम्मै पाँच पुस्तादेखि बडो प्रेमले बसोबास गर्दै आएको अढाई कट्ठा -पौने दुइ रोपनी) जग्गाको कम्पाउन्डसहितको फराकिला कोठाहरू भएको र आधुनिक सुविधाले सम्पन्न डेढतले पक्की घर बेचेर त्यस पुर्खौली थातथलोबाट सदासदाका लागि छुट्टियौं र छिनको छिनमै घरबारविहीन सुकुम्बासी भएर घरधनीको हैसियतबाट डेरावालको हैसियतमा झरी अन्यत्र गुँडको निर्माणको सपना बुन्न थाल्यौं । हाम्रा महाकवि देवकोटाले गरीव कवितामा ‘जगत् छ मेरो घरबार सुन्दर’ भनेका छन् । उनले त्यो भौतिक रूपमा नभएर भावनात्क रूपमा भनेका हुन् । म भने अब भौतिक रूपमै ‘जगत् छ मेरो घरबार सुन्दर’को अनुभूतिले गाँजिएको अवस्थामा पुगें ।आफ्नो चार वर्षघिदेखिको पारिवारिक अठोटअनुसार नै त्यसो गरेको भए पनि सहीछापको बेलादेखि साह्रै नराम्रो गरी रन्थनियो मेरो मानसिकता ।

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.