~पूर्ण ओली~
“ए.. ए.. ए.. यसमा नचड् । यो बस कइँ जाँदैन भन्या, काँ जान्चस् ? “
“कइँ पनि हैन ।”
“स्साला ! यो तेरा बाउको सम्पत्ति हो ? उस्सै कोच्चिन खोज्छ । खुरुक्क निक्लीजा बाइर ।”
म एउटा नगरबसको बायाँपट्टिको अगाडिबाट प्रथम सिटमा बसेर यो तमासा हेरिरहेको छु । गोँगबू नयाँबसपार्कबाट चक्रपथ परिक्रमाको लागि बिहान १० बजे छुट्ने यो नगरबसको लागि म नै पहिलो यात्री हुँ ।
“ए दाइ, तपाईँ पछाडिको सिटमा जानुस् त । के लेखेको छ यता पढ्नु भएन ?”
गाडी चढ्दा आरक्षित सिट हो कि होइन हेरेर मात्र सिटमा बस्नुपर्ने हो तर मन अन्तै विचरण गरिरहेको बखत यतातिर ध्यान नै पुग्दैन । सिटको माथि हेरेजस्तै गर्छुः ‘असक्त’ लेखिएको अक्षर मेटिएर “स क्न” भएको छ । पछिल्लो सिट जेष्ठ नागरिकको हो । ‘जेष्ठ नागरिक’ मेटिएर ‘जठ न ग र’ मात्र बाँकी छ । दायाँपट्टिका पहिलो र दोस्रो लहरको माथिपट्टि लेखिएको अक्षर ‘महिला’ मेटिएर ‘म हल’ मात्र बाँकी छ । मलाई पछि सर्न आदेश दिने यात्रुलाई हेर्छु सभ्य र शिक्षित महिला लाग्छिन् । टाइट सर्टपाइन्टभित्र आफ्नो पुष्ट शरीर खाँदेकी छिन् । छालाको असली रङलाई कृतिम रङले पुरपार पारेको प्रष्टै देखिन्छ । बेरेर गुजुल्टो पारिएको कपालमाथि चश्मा ठड्याएकी छिन् र शरीरमा छर्किएको पर्फ्युमले पुरै बसलाई धुवाँर्ने क्षमता राख्छिन् जस्तो लाग्छ । उनी महिला सिटमा नबसेर मलाई पछि सर्न किन आदेश दिन्छिन् म बुझ्दैन र उनको बुझाइमा म कसरी जेष्ठ नागरिक सिटमा बस्न लायक हुँ त्यो पनि केही अड्कल गर्न सक्दैन । म अलमलमा परेको देखेर उनी कड्किन्छिन्, “सुन्नुभएन ? पछाडिको सिटमा जानुस् भनेको ।”
म खुरुक्क पछिल्लो सिट सरिदिन्छु । मेरो ध्यान ती महिलाबाट फुत्केर पुनः बाहिरतिर खिचिन्छ ।
बसको ढोकाको छेउतिर अघिदेखि नै दुईवटा सानै उमेरका फुच्चेहरु कुस्ताकुस्ती गरिरहेका छन् । हेर्दा लवाइखवाइमा झिनो फरक छुट्याउन पनि मुश्किल छ । दुवैको आङ ढाक्ने लुगाहरु मयलले गर्दा रङ छुट्टिँदैनन् टाँक फुटेर वा झरेर सर्ट आधा ढोका ढप्काएको जस्तो देखिन्छ । उस्तैउस्तै ठाउँमा नभए पनि दुवैले उस्तैउस्तै गरी च्यातिएका लुगा भिरेका छन् । मैले बुझिसकेको छु कि ती दुईमध्ये एउटाले बसको खलासीको भूमिका निभाइरहेको छ भने अर्को यात्रीको भूमिकामा छ । सामान्यतः खलासीको भूमिका यात्रीहरुलाई खेरखार पारी आफ्नो बसमा चढाउनु भए पनि अर्को फुच्चे यात्रीलाई बसमा चढ्न नदिन खलासीले आफ्नो भएभरको बुता प्रयोग गरिरहेको छ भने ढोकाबाट पटकपटक घचेटीमाग्दा पनि फुच्चे यात्री बस चढ्न मरिहत्ते गरिरहेको छ । यो द्वन्द्व बढेर मुक्कामुक्कीको स्थितिमा पुगिसकेको छ ।
अरु यात्रीहरु पनि फाट्टफुट्ट यो बसमा चढ्न थालिसकेका छन् ।
“ए गधा, मान्छे बोला, मान्छे । तेरा आँखा फुटेका छन् ? हेर अर्कोतिर लागिसके तिनीहरु । खातेहरुसँग कुस्ती खेल्दैमा ठीक्क छ” ड्राइभरले सातो खाएपछि उसलाई त्यत्तिकै छाडी खलासी हत्तरपत्तर “माराजगन्….., चाबील… गौसला… कुटेसोर । कुटेसोर.. कुटेसोर, आउनोस् आउनोस्, जाँगए पनि पन्द्र रुप्या मात्रै” भन्दै कराउन थाल्छ । यही मौकामा त्यो फुच्चे अरु मान्छेहरुको आडमा पछाडिको ढोकाबाट लुसुक्क भित्र छिरेर खाली सिटमा नबसी ढोकाको आडमा लुकिसकेको छ । बिस्तारै बसका खाली सिटहरु भरिएर बीचको खाली भागमा पनि अटेसमटेस भइ मान्छे उभिन थालिसकेका छन् । मेरो छेउमा एकजना बिरामीजस्तो देखिने व्यक्ति बसको डण्डी समातेर उभिइरहेका रहेछन् । उनले मलाई केही नभन्दै “यता बस्नुस्” भन्दै सिट छोडिदिन्छु र उनको उभिने साविक स्थान मैले ग्रहण गर्दछु । मेरा हातमा रहेका झोलाहरु उनले पकडिदिन्छन् । ड्राइभरले बसलाई स्टार्टको मोडमा छोडिदिएर जहाँको तहीँ अड्याएको धेरै मिनेट बितिसकेको छ । पछिल्लो गाडीले हामी चढेको अघिल्लो गाडीलाई एकनाश “प्याँ.. प्याँ.. प्याँ.. प्याँ..” को हर्नले हप्काउन थालेपछि हामी चढेको बस हामी यात्रुहरुको समय, आकांक्षा, गन्तव्य र दूरीलाई सँगसँगै लतार्दै बिस्तारै अगाडि बढ्छ र विभिन्न दिशालाई गन्तव्य बनाई कतै हानिइरहका गाडीको थुप्रोमा मिसिनपुग्छ । बसको सरुवा शुरु भएकोमा भित्रैदेखि उम्लिएको बेचैनी हल्का भएको छ ।
************************************************************************
मेरा दुवै हातमा दुईतीन थरी फलफूलले भरिएका गह्रुँगा दुई झोलाहरुको साथै भरखर आफ्नै ठानिएको सिटको भार ती अपरिचित व्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा अलिकति मुक्तिको स्वास फेर्छु । श्रीमतीले बलजफ्ती मेरो हात लगाइदिएकी हुन् यी फलफूल । श्रीमतीजीको अविश्वासले यी फलफूलका कान भरिएको जस्तो ठान्छु म । यी फलफूलले मलाई नै एकोहोरो हेरेर गिज्याइरहेका छन् र भनिरहेका छन्: “तँ हाम्रो भार थाम्न सक्तैनस् । आफ्नै परिवारको लागि पनि त तँ पारिवारिक बोझ होस् । सबैको लागि निकम्मा वस्तु होस् । तँ नामर्द होस्, हुतिहारा होस् । तँसँगै समानस्तरमा जागिर खाएकाहरुले सातपुस्ता सपारीसके । तैँले भने छोराछोरीको बिचल्ली पारिरहेको छस् । उनीहरुको लागि सिन्को भाँच्ने कामसम्म गर्दैनस् । अब हामी फलफूलकै बारेमा केही लेख्न सोच्दै होलास् । तेरो कथा कसले पढिदिन्छ ? कविता कसले सुनिदिन्छ ? थुइक्क आवारा । तेरै कामको चियो गर्न आज हामी पछिपछि लागेर आएका छौँ ।”
तसर्थ अर्कैले बोकिदिए पनि आफैलाई झनझन गह्रौँ भान भइरहेको छ फलफूलका झोलाहरु ।
फलफूलको यो खिसिट्युरी सुनेर मेरो भित्री खल्तीमा बिराजमान अर्को चिजले अट्टहास गरिरहेको छ । फलफूलको जम्माजम्मी वजनभन्दा पनि गह्रुँगो चिज छ मेरो खल्तीमा । त्यो हो एउटा उच्चस्तरीय भोजको निमन्त्रणाकार्ड । मसम्म कसरी यो आइपुग्यो भनी आफैलाई विश्वास लागिरहेको छैन । निमन्त्रणाकार्डको बाहिरी खाममा लेखिएको “नासु कृष्णप्रसाद” अरुको नाम पनि त होइन ।
यो कार्ड पठाउने व्यक्ति हुन् मेरै अफिसका हाकिमसाब् । तीनसयभन्दा बढी कर्मचारी भएको एउटा अफिसमा म उनको लागि अपरिचित कारिन्दाजस्तै हुँ । मेरो दैनिक बिहानीको नमस्कारसम्म फर्काउँदैनन् उनी । म त्यस कार्यालयको सेवाग्राही हुँ कि सेवाप्रदायक छुट्ट्याउने झञ्झट छैन उनलाई । शुरुशुरुमा त लाग्थ्यो भर्खरै आएका छन् रहँदाबस्दा चिनिहाल्छन् नि । तर उनी र मबीचको परिचय सधैँ नौलो नै रह्यो । अब उनी बढुवा पाएर अर्को अफिसमा जाने भैसकेका छन् । अरु कर्मचारीहरु लेब्रो तान्दै खासखासखुसखुस गर्छन्, ‘कति भाग्यमानी हुन् बूढा ! बढुवा पनि हुनु, शुरुमै गरिबी मन्त्रालय पनि पाउनु, यस्तो अवसर त कमैलाई जुट्छ । अब गरिबीबाट एकैपटक अर्थमा पुग्छन् । आपूर्तितिर छिर्नेहरुको जस्तो हुँदैन अब यिनलाई जो रिङरोडजस्तै आपूर्ति वाणिज्य वातावरण आदिआदि हुँदै आपूर्तिमै टुङ्गिन्छन् ।’
त्यही बढुवा र पदस्थापनको खुशियालीमा भोज दिइरहेका छन् आज ।
मेरो नाममा पनि निमन्त्रणा आएपछि खुशीले आल्हादित हुँदै हाकिमसाबलाई फोन लगाएको थिएँ एकाबिहानै, “बधाइ छ, हाकिमसाब्, बढुवा हुनुभएकोमा, म सुब्बा पूर्णप्रसाद ।”
उताबाट जवाफ आएको थियो “चिनेँ, चिनेँ । नाम भनिराख्नैपर्दैन नि, तपाईँको मोबाइल नम्बर, तपाईँको स्वरले पनि चिनिहाल्छु नि म ।”
मैले हाकिमसाबका यिनै शब्दहरु हुबहु सुनाएको थिएँ श्रीमतीजीलाई पनि । कहिल्यै खुशी नहुने अनुहार यस समाचारले खुशीले चम्किएको थियोः “ल उसोभए मौका यही हो । भोज पनि खानू र कोसेली पनि टक्राउनू । नभए म पनि तपाईँसँगै जान्छु ।”
“पर्दैन, पर्दैन तिमी जान । सपरिवार निम्तो भनेको भए पो तिमी पनि जानू । अफिसका कर्मचारीहरुलाई मात्र होला । अरुका श्रीमती गएनन् भने मेरो मात्र जाँदा मलाई लाज हुँदैन कि क्या हो !”
“उसोभए तपाईँ मात्रै जानुहोस् । तर रित्तै नजानुहोला । केही मिठाइ वा फलफूल पनि लानुहोला ।”
“आ, लान्न म केइ । मलाई कोसेलीसोसेली लान झ्याउ लाग्छ । अरुले नलगेर मैले मात्रै लगे के भन्लान् अरुले । हामीले लाने कोसेलीको मूल्य नै के हुन्छ र ? उसै त त्यो श्यामप्रसादले बढी चाकडी गर्छस् भनेर कति हेप्छ मलाई ।”
“चाकडी गर्न नसकेर वा नजानेर त पछि परेकापरेइ छौ नि तिमी । त्यो श्यामप्रसादकी स्वास्नीको कति फूर्ति छ देखेका छौ ? हप्तैपिच्छे नयाँनयाँ सामानहरु भित्रिरहेका छन् त्यसको घरमा । बालबच्चालाई त्यति महंगो स्कूलमा भर्ना गरिदिएकी छ । तिमीहरु दुवैजना उस्तै सुब्बा हैनौ ? हाम्रो भने यस्तो हविगत छ, तिम्रै कमजोरीको फल हो यो ।”
“आजपर्यन्त यत्रो समयसम्म उहाँलाई केही कोसेली चढाइएन । अब बढुवा भएर अन्त जानेलाई किन चाहियो नि कोसेली ? भो पर्दैन ।”
“मान्छे हो, कतिखेर को काम लाग्छ भन्नै सकिँदैन ।”
“जो मान्छे सात सय तीस दिनसम्म काम लागेन । पछिका दिनहरुमा काम लाग्छ भनेर कसरी विश्वास गरुँ म ?”
“नकराऊ तिमी । तिमीले जागिरी खान अझै अठाह्र वर्ष बाँकी छ । त्यो अठाह्र वर्षसम्म कम्तीमा ९ पटक त फेरि तिम्रै हाकिम हुने सम्भावना छ यिनी । तिम्रै हाकिम नभए पनि त्यसबेलासम्म मालदार अड्डामा सरुवाको लागि भनसुनको लागि सामान्य प्रशासन सचिव हुने यिनै हुन् । तलब नपुग्दा बढाउने अर्थ सचिव हुने यिनै हुन् । तिमीलाई सुरक्षा चाहिएको बेला सुरक्षा सचिव हुने यिनै हुन् । केही दायाँबायाँ गर्न सक्यौ भने अख्तियारका पदाधिकारी हुने यिनै हुन् । प्रशासन सुधार आयोगका सदस्य हुने यिनै हुन् । अन्याय पीरमर्का परेको खण्डमा मानवअधिकारका सदस्य हुने यिनै हुन् । काम लाग्दैनन् भनेर किन अविश्वास गर्छौ अहिल्यै ?”
“अनि ती काम पाएनन् रे, हलो जोत्न वा गाई पाल्न थाले भने नि ?”
“तिमी पनि त रिटायर भयौ भने गर्ने त्यही त हो नि । त्यसबेला हाम्रा असल छिमेकी बन्न सक्छन् यिनी । तसर्थ गुण लगाउने काममा कहिल्यै पछि पर्नुहुन्न ।”
“भो भो तिम्रा अर्तिउपदेश चाहिएको छैन मलाई । मेरो यही जीवन ठीक्क छ मलाई ।” भने पनि मन चसक्क घोचिसकेको छ आफूलाई आदरार्थी शब्द प्रयोग गर्दागर्दै श्रीमतीजीले समानार्थी तिमी शब्द प्रयोग गर्न थालेकोले होइन कि उसले मेरा कमजोरीका लुगाहरु उतार्न शुरु गरेकोले । लुगा उतार्दै जाँदा म सर्वाङ्ग नाङ्गेझार हुन्छु । उसको आदरार्थी ‘तपाईँ’बाट ‘तिमी’ हुँदै ‘तँ’ सम्म पुग्नु मेरो लागि सामान्य भैसकेको छ ।
मलाई व्यक्ति श्यामप्रसाद त मन पर्छ तर श्यामप्रसाद र म पूर्णप्रसादबीचको भेद मलाई मन पर्दैन । यो भेद कसले सिर्जना गरेको हो भनिराख्नै पर्दैन । श्यामप्रसादका चलाखीहरु सम्झना भयो कि मनै अमिलो भएर आउँछ । ऊ प्रशासनको सुब्बा, म योजनाको सुब्बा । तर उसको शानशौकत मेरोभन्दा कता हो कता उच्च छ ।
उसको र मेरो फाँटको कार्यप्रकृति फरक हुँदाहुँदै पनि मेरै कामको बढी चासो किन राख्छ मलाई थाहा छैन । मैले गरेका कामहरु हाकिमसाबको अगाडि नै घरि यो मिलेन भन्छ, घरि ऊ मिलेन भन्छ । ‘यस्ता निम्छरा कारिन्दाहरु चुहिने भाँडाहरु हुन् तसर्थ पूरै भान्सा बिगार्न सक्छन्’ भन्दै हाकिमलाई चुक्ली लगाएको बारम्बार सुनेको छु मैले । सुविधाहरुमा पनि उसको प्रतिस्पर्धी म होइन । अफिसियल चिया खाने सुविधाहरुदेखि लिएर वैदेशिक भ्रमणसम्मका अवसरहरुको पहिलो भागिदार ऊ नै हुन्छ । उसैको चुक्लीको विश्वास गर्छन् हाकिम । तर पनि मेरो खनिखेदो किन गर्छ उसले ?
श्यामप्रसादले नमस्कार गरेको हाकिमसाबले हार्दिकताका साथ फर्काउँछन् । हात नै मिलाउन पुग्छन् उसँग । हुन पनि प्रशासनका शाखा अधिकृत रमण भए पनि हरेक काममा हाकिमछेउ रमणभन्दा अघि ऊ नै पुग्छ । योजनाका शाखा अधिकृत भगवति छन् । उनले लाएअह्राएको काम मात्र गर्छु म । त्योभन्दा दायाँबायाँ मलाई आउँदैन । दायाँबायाँ गर्न नजान्ने कर्मचारीहरु हाकिमका लागि केही कामका पनि हुँदैनन् । उसको बारेमा मेरी स्वास्नीले भनेको कुरा शतप्रतिशत यथार्थ हो तैपनि म सजिलै स्वीकार्न तैयार छैन ।
आज पनि श्यामप्रसाद हाकिमको भोज खान अफिसको गाडीमा जाँदैछ म भने त्यही भोज खान सार्वजनिक बसमा यात्रा गर्दैछु ।
***************************************************************************
“ए दाइ, कहाँसम्म पुग्ने हो ? भाडा दिनुस् ।” कसैले मलाई पछाडिबाट छुन्छ । म तन्द्राबाट ब्यूँझिएर पछाडितिर फर्किन्छु । त्यही फुच्चेकेटो मसँगै लेपास्सिएको छ उधमण्टो लाएर । उतापट्टि एउटी आइमाइ रुमालले नाक छोप्दै “छ्या ! कस्तो गन्हाको !” भन्दै मलाई वक्र दृष्टिले हानिरहेकी छिन् । उनले मलाई नै छेडिन् कि भनी म तर्सन्छु र अलिकति पछि सर्छु । केटो पनि मसँगै पछि सर्छ । उसले मलाई नै लुक्ने आधार किन बनाएको छ म केही बुझ्दैन । सायद अरु सबैले छ्या-छ्या र दूर्-दूर् गरिरहेको अवस्थामा मैले केही चाल नगरेको हुनाले हुनसक्छ । म जहाँ अचानोको रुपमा थापिइरहेको छु त्यहाँ त चाल गर्दिन औसत यात्रीको रुपमा चाल गर्ने झन् कुरै भएन । बरु सोध्छु, “के हो बाबु तेरो नाम ?”
ऊ केही बोल्दैन । फेरि उसलाई कोट्याएर सोध्छु, “नाम के हो भनेको ?”
“केइ हैना ।”
“नाम के नाम ? नाम नै छैन ?”
“केइ हैना ।”
मेरो दिमागी शब्दकोषका पानाहरु छिटोछिटो पल्टाएर केइ-हैना शब्दको अर्थ खोज्छु भेट्टाउँदिन । म निश्कर्षमा पुग्छु उसले भनेको यो केइ-हैना कुनै व्यक्तिको नाम नै हुनुपर्छ । केइ-हैना कुनै चाइनिज, जापानीज, रुसी वा अमेरिकी नाम पनि त हुन सक्छ । अरु कुनै भाषामा ‘केइ’ शुद्ध नाम हुनसक्छ र ‘हैना’ वंश बुझाउने पुच्छर वा ‘केइ’ले वंश बुझाउँदो हो र ‘हैना’ले नाम । यही देशको नाम रहेछ भने पनि हैना र छैनाले गरिबी मन्त्रालय अन्तर्गतका लक्षित वर्गको वंश बुझाउँदो हो ।
“केइ हैना नै हो त तेरो नाम ?” म स्पष्टीकरण माग्छु । ऊ वर्षौँदेखि बिर्सेको मुस्कान बलजफ्ती ओठमा उतार्दै स्वीकृतिसूचक मण्टो हल्लाइदिन्छ ।
“यता दाइ, यता । भाडा दिनुस् छिटो” अर्को फुच्चे खलासीले भाडा उठाइरहेको छ अगाडिपट्टिबाट ।
“कति हो कोटेश्वरसम्मको ?” मैले पन्ध्र रुप्या उसको हातमा थमाइदिन्छु ।
“कोटेश्वरसम्म त पच्चीस रुप्या हो दाइ । काँ पन्द्रमात्र दिनुहुन्छ ?”
“जाँ पुगे पनि पन्द्र भनेको होइन अघि ?”
“त्यति नभने त कहाँ मान्छे हाल्न सकिन्छ र दाइ ! कम्ती बाठा छन् मान्छेहरु” उसँग वादविवाद गर्नपट्टि नलागी म दश रुपैयाँ थपिदिन्छु ।
“ऐ भाडा दे सुटुक्क, काँ जान्चस् ?” खलासीले मेरो पछाडि उभिएको फुच्चेलाई हकार्छ ।
“कइँ हैना ।”
खलासीले फुच्चे केटोलाई हिर्काउँछ, “बिना पैँसा गाडी चड्न तेरो बाउको सम्पत्ति हो यो ? अगाडि नै नचड् भनेको होइन मैले” पहिलेकै सवाल दोहोर्यााउँछ ऊ । यो कसको बाउको सम्पत्ति होला रनभुल्ल हुन्छु म ।
फुच्चे यात्रीले गोजीबाट पचास रुप्या तान्छ र उसको हात पार्छ । खलासीको मुख उज्यालिन्छ र अर्कोतिर भाडा उठाउन थाल्छ । दुवै हरेक कोणबाट उस्तैउस्तै हुँदाहुँदै पनि एउटा चण्डाल बाठो छ, अर्को घोगे लाटो छ, मेरो एउटा दृष्टिकोण बन्छ । यो लाटो फुच्चे मेरो सर्टको एउटा फेर समातेर अझै अल्झिरहेको छ र यो देखेर नाक खुम्च्याउने यात्री प्रशस्तै छन् यो बसमा ।
यो बसमा जो जेसुकै चढे पनि निम्नवर्गीयका आसपासका नै हुनुपर्छ । उनीहरुको गन्तव्य चक्रपथ वरिपरिकै छ । चक्रपथ बाहिर जानलाई लामो रुटको बस समात्नुपर्छ ।
“मेरो बाँकी पैंसा फिर्ता दे,” केइ-हैना फुच्चेको बक् फुट्छ ।
“काँसम्म जाने भनेकै छैनस् कहाँसम्मको काटूँ म भाडा ? खुद्रा भएपछि दिइहाल्छु नि । तेरो पैँसा खाएर भाग्छु र म थोरै । आफै हेर्दा चोर जस्तो छ कहीँको !”
“तैँ छस् चोर जस्तो त ।” केइ-हैनाले जवाफ फर्काउन नपाउँदै खलासीले लात्तीले हानिहाल्छ । केइ-हैना पनि खलासीलाई चिथोर्न पुग्छ । कुस्ताकुस्ती पर्न थालेपछि ड्राइभर र यात्रीहरु कराउँछन् ।
“अरे.. अरे…”
“अरे.. अरे…” थुप्रै यात्रीहरुको विस्मयादिबोधक “अरे अरे”हरुले बस गुन्जायमान हुन्छ ।
“अरे.. अरे..” मेरो पनि साविकको ती दुई फुच्चेहरुप्रतिको दृष्टिकोण बदलिन्छ ।
“निकाल्दे त्यसलाई । खसालिदे न ढोकाबाट बजियालाई !” ड्राइभर चिच्याउँछ । उसको आदेश पाउने बित्तिकै खलासीले केइ-हैनालाई लतार्दै ढोकासम्म पुर्याोउँछ । मसँगै उभिएको विद्यार्थीझैँ लाग्ने एउटा यात्री कराउँछ: “ए, ए, त्यो के गरेको ? त्यो बिचराले पचास रुपैँया दिइसकेको छ । बाँकी पैँसासमेत फिर्ता पाएको छैन । भाडा पनि उठाउने, उसले यात्रा पनि गर्न नपाउने ? गर्न पायो भन्दैमा अति त गर्नु हुँदैन नि यार् ।”
ड्राइभर र खलासीले त्यो विद्यार्थीलाई आँखा तर्छन् । यात्रीहरुको ध्यान त्यतातिर खिँचिएपछि खलासी हच्किन्छ र उसलाई त्यत्तिकै छोडिदिन्छ । अब फुच्चे केइ-हैना निर्धक्क अगाडिको ढोकाको डण्डी समातेर ढोकानेरै उभिनसकेको छ । उसको मुखबाट मन्दमन्द ध्वनि गुन्जित केही शब्दहरु उच्चारित भइरहेका छन्: ‘समाखुशी.. समाखुशी.. समाखुशी.. बसुन्धरा… बसुन्धरा.. बसुन्धरा… । माराजगन्.. माराजगन्… माराजगन्.. ।’
हामी महाराजगञ्जको चोकमा आइपुगेका छौँ यतिखेर । बस जाममा छ । बाहिरको खितखिताहटले मेरो ध्यान तानिन्छ । हामी चढेको बसको दायाँपट्टि हाम्रै अफिसको गाडी रोकिएको छ । अगाडिको सिटमा प्रशासन महाशाखा प्रमुख छन् । उनको पछाडि प्रशासन उपसचिव छन् । उनको दायाँपट्टि रमण सर छन् रमणको उतापट्टि भगवति सर छन् भगवतिको उतापट्टि श्यामप्रसाद छन् र श्यामप्रसादको अगाडि ड्राइभर छ । एकप्रकारको वृत्त बनेको छ उनीहरुको बसाइमा पनि । गाडीभित्र रमाइलो हाँसोठट्टा चलेको छ । उनीहरुले नदेखून् भनी जाम नखुलुन्जेल म निहुरिएर केइहैनाको पछाडिपट्टि आफ्नो टाउको लुकाउँछु । अच्चम्म मानेको दृष्टिले हेर्छ मलाई उसले ।
महाराजगञ्ज । कुनै महाराजाको नामबाट बनेको छ यो स्टेशनको नाम । चक्रपथका अन्य स्टेशनको तुलनामा यो स्टेशन निवर्तमान राजदरबारबाट नजिकै पर्छ । राजाको शासन काल थियो कुनै बखत । ‘राजतन्त्र छुटिसक्यौ है, ल लोकतन्त्र आइपुग्यो, लोकतन्त्रमा झर्नेहरु झर्नुस्, गणतन्त्रमा पुग्नेहरु सिटमा बसिराख्नुस्’ भन्दै कराइरहेको जस्तो लाग्छ यहाँ पुग्दा । राज्यव्यवस्थाका खलासीहरुले जनतालाई कहाँबाट चढाउने र कहाँनेर झार्ने भनी सूचना जारी गरिरहनुपर्छ बेलाबखत ।
घामले चरक्क पोलेपछि सूर्यतिर हेर्छु । सूर्य पनि एकदमै नजिक लाग्छ । मलाई सूर्य नजिक लागे पनि पृथ्वी सूर्यको नजिक पुगेको अवस्था हो रे यो । मैले पढेको विज्ञानले यही भन्छ । भोलि मेरा सन्तानहरुले पढ्ने विज्ञानले अर्कै पनि भन्न सक्ला । तर मैले जाने अनुसार पृथ्वीले सूर्यलाई घुम्ने कक्ष लम्बवृत्ताकार भएकोले कहिले सूर्य टाढा र कहिले नजिक हुँदा विभिन्न ऋतुहरु परिवर्तन भइरहन्छन् रे । परिवर्तन हुँदाहुँदै पुनरावृत्ति पनि भैरहन्छ ऋतुहरुको । बुध, शुक्र, मंगल ग्रहहरुले नजिकैबाट सूर्यलाई परिक्रमा गर्दैछन् भने यम, बरुण ग्रहहरु धेरै टाढाबाट घुम्दैछन् । गति र दिशाको साथसाथै कक्ष पनि सबैको फरक फरक छ ।
“सुकेधारा.. चाबील.. गौसला.. कुटेसोर.. ग्वार्कू.. ।” अरे यो स्वर त अर्कै छ त । खलासी चिच्याउँछः “सुकेधारा.. चाबील.. गौसला.. कुटेसोर.. ग्वार्कू.. ।” केइ-हैना पनि ऊसँगै कराउँदोरहेछ: “सुकेधारा.. चाबील.. गौसला.. कुटेसोर.. ग्वार्कू.. ।” एउटा अर्को स्टेशन थपिएको छ खलासीको मुखमा ।
चिल्ने साँपले झैँ हेर्छ खलासीले केइहैनालाई, “तँ नकरा !”
“मैले कराएर तँलाई घाटा लाग्छ ?”
“तैँले कराएर मलाई नाफा पनि त हुँदैन ।”
गललल हाँस्छन् यात्रीहरु । कोही बोल्छः “किन नाफा हुँदैन ? अलिकति दिमाग हुनुपर्यो नि । तँ पैँसा उठाइराख्, मुफतमा ऊ कराइराख्छ र यात्री खेरिराख्छ । जति बढी यात्रीलाई आकर्षित गर्योग उति बढी भाडा उठ्छ । जति बढी भाडा उठ्यो उति बढी तेरो ज्याला बढ्छ ।”
ड्राइभर पनि सन्तुष्टीको हाँसो हाँस्छ ।
नाफा कसलाई ? खलासीलाई ? ड्राइभरलाई ? गाडी साहुलाई ? राजनेतालाई ? राज्यलाई ? वा अरु कसैलाई ?
**************************************************************************
यस्ता खालका गरीबहरु छन् र पो गरीबी मन्त्रालयको महत्त्व बढिरहेको छ अनि त्योभन्दा बढी अर्थ मन्त्रालयको महत्त्व बढेको होला ।
दुई वर्ष अगाडिको कुरा हो यी हाकिमको भव्य स्वागत गरेको थियो अफिस व्यवस्थापनले । नवआगन्तुकलाई विभिन्न विशिष्टीकृत अलङ्कारहरु पहिराइदिएर परिचय गराइदिएको थियो श्यामप्रसादले । त्यही स्वागत कार्यक्रममा नै यस अफिसमा भ्रष्टाचारलाई निर्मुल पारेर धेरै सुधारहरु थाल्ने कबुल गरेका थिए यी हाकिमले । दुई वर्ष बितेको पत्तै भएन । अब भोज पश्चात् लगत्तै विदाइको कार्यक्रम पनि आयोजना हुँदा आम कर्मचारीहरुलाई सुनाउनको लागि हाकिमले गरेका सुधारका कामको फेहरिस्त पनि तयार पारिसकेको होला श्यामप्रसादले । भोजकै सिलसिलामा आफूले तयार गरेको प्रगति विवरण मिल्यो मिलेन देखाउन चुक्दैन होला ऊ ।
****************************************************************************
मेरो सोचमग्नता जहाँको तहीँ भए पनि बस भने सुकेधारा, चाबहिल, गौशाला कटेर बाग्मती नदीको पुलमाथि पुगिसकेको रहेछ ।
पुल देख्नेबित्तिकै भक्कानिन्छ केइहैना र डाँको छोडेर रुन थाल्छ । खलासी हाँस्छ, ड्राइभर पनि हाँस्छ । अनि आधाआधी यात्रीहरु पनि हाँस्छन् । केइ-हैना झनै स्वर मच्चाएर रुनथाल्छ हिक्का छोडी छोडी ।
हँसाइमा पनि जिन्दगीको परिभाषा छ । रुवाइमा पनि जिन्दगीको बेग्लै परिभाषा छ ।
“बिचराले आफ्ना आमा बाबु यतै गुमायो होला र त्यो बिछोड सम्झेर रोइरहेको होला । मुटु नहुनेहरु भने हाँसिरहका छन् ।” मसँगै उभिने यात्री अहिले केइ-हैनाको नजिक रहेर विरोधाभाषको विरोध प्रकट गर्छ । म त्यस समझदार विद्यार्थीको मौन समर्थन गर्ने हेतुले फलफूलको झोलातिर इशारा गर्दै भन्छु, “स्याउ खान्छस् कि ?” उसले इन्कारीको संकेत गर्दै टाउको हल्लाउँछ ।
पटकपटक असहाय लाग्ने केइ-हैनाको पक्षबाट बोलिरहेको छ त्यो विद्यार्थी । ऊबाहेक अरु कोही छैनन् असहाय फुच्चेको लागि बोलिदिने । किन बोल्दैनन् अरु ? कोही अरु पनि त बोल । किन बोल्दैनौ तिमीहरु ? तर म आफै बोलिरहेको छैन । म नै बोलिन भने कसरी बोल्छन् अरुहरु ? त्यही विद्यार्थीको आड पाएर ऊ यात्रा गरिरहेको छ निर्धक्क । सायद उसलाई खुवाउन खोज्नेभन्दा उसको लागि बोलिदिने मान्छेहरुको खाँचो छ उसलाई ।
त्यस विद्यार्थीले केइहैनालाई नचिनेर पनि किन चिनिरहेको छ । त्यहाँ चारजना बीच मात्र बढ्ता परिचय देखिएको छ । ड्राइभर, खलासी, फुच्चे र त्यो विद्यार्थी । चिन्न त खलासीले चिन्नैपर्छ ‘को कहाँबाट चढ्यो ?’ भनेर । विद्यार्थीले पनि खलासी र ड्राइभरलाई ‘धोकेवाज’ र फुच्चेलाई ‘असहाय’को रुपमा चिनेको होला । ड्राइभरले वा खलासीले विद्यार्थीलाई नै धोखेबाजको रुपमा चिनिरहेको होला किनकि त्यस फुच्चेको पैँसा दिलाउन बिनसित्ति थापिइरहेको छ । ड्राइभरले प्रत्येक मोड दोबाटो चिन्नैपर्छ । तर सबैको साझा परिचय बससँग छ । ड्राइभरले आफ्नै बस भन्छ । खलासीले आफ्नै ठान्छ । नओर्लँदासम्म प्रत्येक यात्रुले पनि त्यो बसलाई आफ्नै ठान्छ । कुनै अमुक गाडीधनीको बसमा यात्रा गर्दा सबैले आफ्नै ठान्दछन् ।
केइहैना प्रत्येक स्टेशनमा बस रोकिने बित्तिकै भनिहाल्छ, “मेरो बाँकी पैँसा फिर्ता दे !”
“दिइहाल्छु नि, खाएर भाग्छु थोरै ?” जवाफ दिन्छ खलासी, तर फिर्ता चाँहि दिँदैन ।
*****************************************************************************
जति जति कोटेश्वर नजिकिँदै जान्छ उतिउति मेरो मन भारी भएर आइरहेको छ । जबरजस्ती भिडाइदिएकी छ मलाई कोसेली श्रीमतीले । अरुले नल्याएको भए के भन्लान् अरुहरुले ? आ यहीँ छोड्दिन्छु कोसेलीसोसेली र रित्तै जान्छु भोज खान । तर सबैले कोसेली ल्याएको भए ? आफूले मात्र नलैँजाँदा के होला नि ? के ठान्लान् हाकिमले ? ‘फेरि खाली हात आयो मख्खीचुस’ भन्ठान्लान् । चिटचिट पसिना आइरहेको छ । के गर्ने, के गर्ने !
“कोटेश्वर झर्नेहरु अगाडि आउनोस् है सबै ।” मेरो छेउको विद्यार्थी उठ्छ र अगाडि खलासी उभिएतिर गई खलासीलाई भन्छ “त्यस फुच्चेको पैँसा सुटुक्क फिर्ता दे ।”
“दाइ पनि कति करकर गरेको होला ! म दिइहाल्छु नि ! तपाईँको साख्खै हो कि क्या हो ? ह्याँ झर्नेहरुलाई फिर्ता दिन पुग्दैन यतिले त । अलि टाढा पुग्नेलाई पछि दिइहाल्छु नि । ऊ अहिल्यै झर्दैन केरे” तर्क प्रस्तुत गर्छ खलासी ।
त्यो विद्यार्थी फर्केर आउँछ र मलाई भन्छ, “ए दाइ, त्यो फुच्चेको पैँसा फिर्ता दिलाइदिनुहोला है । यिनीहरुले त ठगिदिन्छन् । बिचराले आधा पैँसा फिर्ता पाए पनि दुइटा रोटी त खान पाउला ।” उसले यसरी भन्यो कि म उसको साख्खै आफन्त हुँ । मेरो झनक्क रिस उठ्छ, ‘मेरो को हो र त्यो मैले उसको लागि खलासीसँग बाझ्नै पर्ने ? सक्छस् भने पैँसा दिएर जा न फुच्चेलाई ।’ तर प्रकटमा भन्छुः “म पनि त कोटेश्वरमै ओर्लिने हो नि भाइ ।”
“कोटेश्वर त आइसक्यो झर्नुस् न त ।” कोटेश्वरको स्टेशनमा बस रोकिइसकेको छ ।
“म पारिपट्टि झर्छु ।”
त्यो विद्यार्थी ओर्लँदा खलासीलाई फेरि भन्छ, “उसको पैंसा फिर्ता दिनू नि फेरि । मैले गाडीको नम्बर टिपेको छु बुझिस्” उसले त्यस फुच्चेलाई पनि भन्छः “पैंसा फिर्ता माग्न बिर्सेलास् ।” बर्र आँशु झार्छ त्यो फुच्चे । आफ्नो अहिलेसम्मको आधार गुमेर हो कि ।
त्यस विद्यार्थीको मानवीयता देखेर छक्क पर्छु म । गाडी त्यताबाट अगाडि बढ्छ र पारिपट्टि गएर रोकिन्छ ।
“कहाँ पुग्नुभयो ?” श्रीमतीले खोजीनिति गर्छिन् मलाई, “कोटेश्वर पुग्न एक स्टेशन बाँकी छ”, ढाँटिदिन्छु म । फलफूलको दुईभारी मलाई नै सुम्पिएर झर्छन् ती मैले सिट छोडिदिएका यात्री । मलाई झन् गह्रौँ लाग्छ त्यो भारी । मन नलागी नलागी उनले छोडिदिएको सिटमा म बस्छु । सिट पाउँदा पनि मलाई कुनै सन्तुष्टि छैन ।
म सिटबाट एक्कासी जुरुक्क उठ्छु र फलफूलको भारी लतार्दै बाहिर निस्कन्छु । हाकिमसाबको घर पुग्न कताबाट जानुपर्छ मलाई थाहा छैन । कसैलाई फोन लगाएर बाटोको सोधखोज गर्न पनि उत्साहित छैन म । उता सबै आइसके होलान् । घडी हेर्छु साढे बाह्र बजिसकेको छ । निमन्त्रणाकार्ड हेर्छु “प्रवेश समय एघार बजेभित्रै” अङ्कित छ । मन बेसरी अत्तालिन्छ, रिस उठ्छ यस बसको गतिदेखि । कति यात्रीहरुको समय आकांक्षा र जरुरी कामलाई धुलो चटाइदिएको होला यस नगर बसले, मेरो मात्र हो र ! यसको सरुवा र बढुवाको चक्र यस्तै छ त मेरो के लाग्छ ?
बस जहाँको तहीँ छ मानौँ मलाई नै कुरेर बसिरहेको छ । महाराजगञ्ज, गौशाला, कोटेश्वर आदि यस्ता स्टेशनहरु हुन् जहाँ धेरै यात्रुहरु चढ्छन् र चक्रपथको परिक्रमाको आधाआधी नाफा यिनै स्टेशनहरुबाट मात्र हुन्छ ड्राइभरलाई । अरु स्टेशनमा नगरबसको भन्दा ट्याक्सीकै माग बढी हुँदो हो कि ।
गाडीमा केही छुटेजस्तै लाग्छ र फर्कन्छु रोकिरहेको साविकको त्यही गाडीमा । त्यो फुच्चे यात्री निन्याउरो मुख लगाएर मलाई नै हेरिरहेको छ । म चढेपछि मात्र गाडी अगाडि बढ्छ, मैले पख् पख् म यहीँ झर्नुछ भन्न सक्दिन । अहिले आकांक्षा शून्य छु म । आज दिनभरिको लागि पालितपोषित एउटा मात्र आकांक्षा पनि धुलिसात् भैसकेको छ । शेष समयले अर्को आकांक्षा जन्माइसेकेको छैन । तसर्थ घर्किजाने समयसित कुनै गुनासो बाँकी छैन मेरो ।
केइहैना टोलाएको देखेर ड्राइभर कराउँछ, “ए फुच्चे किन कराइनस् ? के भो फेरि ?”
“केइ हैना ।” ऊ अलिकति उज्यालिन्छ ।
यात्रुहरुमध्ये कसैले लख काट्छ, “अगाडिको स्टेशनको नाम नै थाहा छैन होला नि ।”
“ग्वार्को, सातदोबाटो, एकान्तकुना भन् न मूला । मूलालाई कहाँ पुग्ने थाहा नै छैन ।”
“ग्वार्को.., सातदोबाटो.., एकान्तकुना… ग्वार्को…, सातदोबाटो…, एकान्तकुना… ग्वार्को…, सातदोबाटो…, एकान्तकुना…. ।” कराउँछ फुच्चे यात्री
“निकालिदिउँ गुरुजी ?” बल पाउँछ खलासीले ।
“भो छोड्दे !” ड्राइभरले गरेको उन्मुक्तिको सिफारिश मैले आफैले गरे झैँ लाग्छ । शान्तिको श्वास फेर्छु म । तर त्यो खलासी डाहाले भित्रभित्रै जलेको प्रष्ट देख्छु ।
खलासीमा पहिले भाडा तिर्दैन भन्ने अविश्वास थियो । त्यसपछि भाडा फिर्ता माग्ला कि भन्ने अविश्वास भयो । अब जागिर नै खुस्क्याइदेला भन्ने अविश्वास बढेको छ खलासीलाई । घरिघरि निहुँ खोजिरहेको छ । पहिले हेपेर बोल्यो । अहिले रिसले मुर्मुरिएर व्यवहार गरिरहेको छ ।
“यहाँसम्म आएको चालीस हो । ला फिर्ता दश रुप्या । झर् अब । मेरो कान नखा ।” खलासीले केइ-हैनालाई फकाउँछ । उसले पैँसा फिर्ता लिन मान्दैन । खलासीले फुच्चेको ढाडमा बेसरी चिमोटिदिन्छ ।
“ए दाइ तपाईँले कोटेश्वर झर्ने भनेको होइन ? सातदोबाटो आइसक्यो । अब त पन्ध्र रुप्या थप्नुपर्छ बाइ ।” मलाई सतर्क गराउँछ खलासी ।
म पन्ध्र रुप्या निकालेर उसको हातमा थमाइदिन्छु ।
अब हामी काठमाण्डूको मुटु रत्नपार्कदेखि सिधा दक्षिणमा छौँ ।
“ए आज कुन तिथि हो ?” पण्डितले पात्रो हेर्न थाल्छ । हाम्रा पण्डितहरुलाई आफू कहाँ आइपुग्यौँ भन्ने पनि पात्रो हेर्नुपर्छ । यी भन्दा त खलासी नै बढी जानकार छन् । कम्तीमा उनीहरुलाई प्रत्येक ठाउँको नाम त थाहा छ । हामी हिन्दू भनाउँदाहरुलाई बजारमा पशुपन्छीको मासुको न्यूनता देखेपछि मात्र एकादशी वा औँशी परेको बोध हुन्छ ।
“ए दाइ फोन आइरहेको छ तपाईँको, सुन्नुभा छैन ?” कराउँछ खलासी ।
यो घण्टी मेरै श्रीमतीको हुनुपर्छ । अरु कसैको हुन सक्दैन यो फोन । मलाई अरु कसले फोन गर्छ र । उठाएर पनि के भन्ने ? कति पछि लाग्नुपरेको होला यसलाई ? श्यामप्रसादको भने बाह्रै घण्टा मोबाइल कानमा झुन्डिरहेको हुन्छ । कम्तीमा आधा फोन त हाकिमकै बाट आउँछ होला । उसले हाकिमसाबलाई भेटिसक्यो होला अहिले । मलाई आउने हो कि हैन भनी एकवचन ऊ सोध्दै सोध्दैन । मैले पनि त सोध्दैन उसलाई । मेरो पालो झनक्क रिस उठ्छ र फोन नै स्वीच अफ गरिदिन्छु ।
प्रत्येक स्टेशनमा पैँसा थप्दा थप्दा मेरो सय रुपैँया पुग्न थालिसकेको छ । पन्ध्र रुपैयाँबाट शुरु भएको यात्रा सय रुपैँयासम्म पुग्नु आफैमा एउटा उपलब्धि हो कि होइन म ठम्याउन सक्दिन ।
“खुस्केट ।” मतिर आँखा तर्छ खलासी ।
फुच्चेको मुखमा जितको हाँसो उम्रन्छ । उसले मलाई पछ्याएदेखि नै घरिघरि फलफूलको झोलातिर दृष्टि फ्याँकिरहेको मैले देखेको छु । ताजा रसिला स्याउको दृश्यले उसको मुखमा र्यालल उम्रिदो हो । “खा !” भन्दा भने इन्कार गर्छ । अहिले त भोकायो होला भनी, “खा न, खा..” भन्दै उसकै च्यातिएको गोजीमा स्याउ कोचिदिन खोज्छु ऊ लिन मान्दै मान्दैन ।
स्वयम्भू आइपुगेपछि करिबकरिब गाडी खालि हुन्छ । फुच्चे मेरो छेउमा आएर बस्न खोज्छ । “ए, ए, त्यहाँ किन बसेको ? कोही चढ्यो भने खाली सिट खोज्नेलाई बसाल्नुपर्छ ।” कराउँछ ड्राइभर । ऊ फेरि ढोकातिरको डण्डी समातेर उभिन्छ ।
म सोध्छु फुच्चे यात्रीलाई “किन उही ठाउँमा फर्केर आइस् नि ?” उसले पनि प्रतिप्रश्न गर्न सक्छ ‘तपाईँ पनि त उही ठाउँमा फर्केर आउनुभयो नि ।’ भन्नुको सट्टा उसले भन्छः “मलाई यो रुटको सबै ठाउँको नाम थाहा नभएको भनी हिजोको ड्राइभरले निकालिदियो । ठाउँको नाम कण्ठ गर्नैको लागि यो गाडीमा चढेको हुँ । कसैले पनि मलाई सितिमिति बस चढ्न दिएनन् । हिजोको ड्राइभरले पचास रुप्या दियो र आज यो काम सिक्न खोज्दैछु । म पनि खलासी बन्छु ।”
“खलासीपछि के बन्ने बिचार छ त ?”
“कन्ट्याक्टर !”
“कन्डक्टर पछि नि ?”
ऊ लजाउँछ र पुनः भन्छ, “केइ हैना ।”
“ड्राइभर बन्छु भन् न ।” सिकाउँछ खलासीले ।
फेरि सोध्छु “आमा बाबु छैनन् ?”
“थिए । मेरो आमा बिरामी भएकोले उपचारको लागि सिन्धुपाल्चोकबाट बाबुसँगै पन्ध्र दिन जति पहिले यहाँ आएका हौँ । आमाको उपचार गर्दागर्दै बाबु नै बित्यो । एकदिन बिरामी आमा पनि हरायो । कहाँ गयो थाहा छैन । मैले बाबु बित्दा आमालाई सम्झाएको थिएँ नरोऊ आमा खलासी भएरै पनि तिमीलाई म उपचार गर्नेछु ।…. ” उसको गला अवरुद्ध भएर आयो । उसले भन्न खोजेको बाँकी कुरा मैले नै अर्थ्याएँ: “..पेट पाल्ने र आमालाई खोज्न सकिने सजिलो उपाय खलासी हुनु नै देखेँ । आमा जिउँदै भए यतै चक्कर लगाउँदालगाउँदै कुनै दिन आमालाई भेट्न सक्छु कि ?….”
म पश्चात्तापले गल्छु । एउटा मान्छे हातमुख जोड्नको लागि भएपनि सिक्ने कुराबाट विमुख भएको छैन । म भने जागिरीको नामले धेरै सिक्ने चाहनाहरुबाट आफैलाई विमुख बनाइरहेको छु । थुक्क जिन्दगी !
बालाजू आइपुगेपछि चलिरहेकै हामीलाई चकित र एक्लो पार्दै बसबाट एक्कासी फुत्त झर्छ केइहैना र चोकतिर उर्लिरहेको मान्छेको भीडमा बिलाउनपुग्छ । मलाई पनि ऊसँगै झरुँ झरुँ र ऊसँगै बिलाऊँ बिलाऊँ लाग्छ । ऊ झरेपछि एकखालको खल्लोपना एक खालको नियास्रोपना उब्रिएको छ मनमा । बस उही ठाउँमा पुग्नलाई अब एक स्टेशन त बाँकी थियो नि किन झरेको होला पहिल्यै त्यो । खलासीको मुख भने अब उज्यालिएको छ । आफ्नो सम्भावित प्रतिस्पर्धी छुटेको अनुभूति गरिरहेको होला ऊ, कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिएझैँ ।
यस नगर बसको ड्राइभर खलासी र म तीनजनाले काठमाण्डौलाई एकचक्कर लगाएर हामी अब शुरुकै बस स्टेशनमा आइपुगेका छौँ । बस नरोकिँदै खलासीले ड्राइभरलाई भाडा उठाएको खुद्रा पैँसाको बिटो बुझाउँछ, हजार रुपैँयाभन्दा माथि नै पुगेको होला । बस रोकेर ड्राइभरले खलासीको पैंसा लुकायो कि भनेर सबै पाकेट खानतलासी लिन्छ । अनि पचास रुप्या खलासीलाई दिएर ड्राइभरले बाँकी पैँसा आफ्नै पर्समा खाँद्छ ।
फोनको स्वीच अन गर्नेबित्तिकै श्रीमतीको घण्टी आइहाल्छ । म मन नलागी नलागी उठाउँछु उताबाट केरकारको सट्टा सूचना मात्र जारी हुन्छः “सुन्यौ ? श्यामप्रसादकी स्वास्नीले भनेकी । उसको लोग्नेको पनि गरिबी मन्त्रालयमै सरुवा भयो रे नि त ! उसलाई पनि बधाइ दिन नभुल्नू नि !”
मैले फोन काटेर हत्त न पत्त श्यामप्रसादलाई फोन लगाउँछु, “तिम्रो पनि सरुवा भएको हो र ?”
“केइ हैना !” भन्ने मात्र जवाफ दिएर उसको फोन काटिन्छ ।
हो पनि भन्दैन, हैन पनि स्पष्ट भन्दैन ऊ । म वास्तविक सूचनाबाट वञ्चित हुन्छु । उसको पनि सरुवाको खबरले मलाई फेरि अर्को प्रकारको नियास्रोले सताउँछ । सरुवा हुन कति हतार भएको होला यो मान्छेलाई पनि ।
म रोकिएर स्टार्ट बन्द भैसकेको बसबाट झर्छु र आफ्नो बाटो समात्छु ।
अहिले म कोटेश्वरबाट सबभन्दा टाढाको स्टेशनमा आइपुगेको छु । तसर्थ मेरो मनमा शिशिर ऋतुले कब्जा जमाइसकेको छ । कोटेश्वरमा अहिले भोजको गृष्म चलिरहेको होला । श्यामप्रसाद पनि हाकिमसाबसँगै घुमाउरो नाच नाचिरहेको होला यतिखेर बढुवाको खुशी साट्दै । आफै बढुवा भएको जस्तै ठानिरहेको होला ऊ । जिन्दगी नाच्ने कक्ष पनि फरकफरक छ सबैको । कसैको पृथ्वीको जस्तै सन्निकट, घुमाउरो र बाङ्गोटिङ्गो छ त कसैको सिधा हो कि घुमाउरो नै पत्ता नलाग्ने टाढाको टाढा ।
हात निरन्तरको भारवहनले गलिसकेका छन् भने हाकिमलाई टक्राउनको निम्ति किनिएका फलफूल हातमा अझै ताजै तुर्लुङ्ग झुन्डिरहेका छन् । यत्तिकै फ्याँकिहाल्न वा खाइहाल्न पनि सक्दिन म । मैले फेरि धेरै कुराहरु ढाँट्नुपर्ने भएको छ श्रीमतीसमक्ष । यी फलफूल देख्नेबित्तिकै श्रीमतीले आफैले किनेको भनी शंका गर्न बेर लगाउनेछैन । मैले जिद्दी गर्नुपर्नेछः ‘त्यो त हाकिमलाई टक्राएर भोज समेत खाइवरी आइसकेँ । फलफूल लगिदिएकोमा औधी गुण मानेका छन् हाकिमले । उनले अब मलाई राम्रोसँग चिनिसकेका छन् । यो त त्यही खुशीयालीमा तिम्रो लागि भनेर मैले नै किनेर ल्याइदिएको हो ।’ तर भोकले पेटमा मुसा दगुर्न थालिसकेका छन् । भोक लागे पनि मैले ‘खानै मन छैन, पेट टन्नै छ’ भन्ने बहानाबाजी गर्नुपर्नेछ र यो रात भोकै सुत्नुपर्नेछ ।’ यस्तै कुरा सोच्दै जाँदाजाँदै बीचबाटोमै कसैको केरकारमिश्रित चर्को ध्वनिसँग ठोक्किन पुग्छु ।
“के हो यो ?”
म खङ्ग्रङ्ग हुन्छु, प्रश्नकर्ता अरु कोही नभई मेरै श्रीमती नै हुन्छे ।
धेरै कुराहरु ढाँट्न शुरुवात गर्नुको साटो अनायास भन्नपुग्छु “केइ हैना ।” ऊ वाल्ल परेर क्रोध र अश्रुमिश्रित नजरले मलाई र फलफूलका झोलालाई पालैपालो हेरिरहन्छे ।
बल्ल मलाई बोध हुन्छ केइ-हैना कुनै व्यक्तिको नाम नभएर अज्ञानता, बाध्यता र अकर्मण्यताबीचको संवाद पो रहेछ भन्ने ।
२०७४।०१।०२
काठमाण्डौँ
रचनाकारको ब्लग : www.purnaoli.com.np
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )