~राकेश कार्की~
एक साल अघि हामी बढ्यौँ
कैयौँ साथी बाटोमा छोड्यौँ
पुरा जीवन बाँच्ने अधिकार पाउन
नवीन कामना बोकी नववर्ष आउन
घर आँगन सुनसान गाउँ
कसोरी भुलुँ जन्मेको ठाउँ
हत्या असुरक्षा कसको दोष
सदा शुभ यो नयाँ वर्ष होस्
जनमत बहुमत पार्टी फोड्ने
पदलुप्त बेईमान राजश्व चोर्ने
भत्कायौँ बिगार्यौँ देश कंगाल
रक्षा गर मंगलमय नयाँ साल
स्कूल किताब कता हो कुनी
बन्द हडताल भेँडोको जुनी
मज्जासँग पढ्छौँ फुकाउ बन्धन
हे नववर्ष तिमीलाई अभिनन्दन
सब बन्द भए पूजा अर्चना
आफ्नो संस्कृति विवेक चेतना
नेपाल र नेपाली आउ जोगाउ
ब्यथित मनभित्र नववर्ष आउ
हर्ने थुन्ने अह्राउने हप्काउने
अझ कति चेली विधवा बनाउने
भाईभाईमा ल्याउ प्रेम उत्कर्ष
घर घरमा खुशी फर्काउ नववर्ष
डुबाउँदै वंश रगतको सुनामी
छातिमा हिरोशिमा दु:खेको भूमी
वर्ण जाती क्षेत्र जताततै संघर्ष
शान्ति मार्ने हतियार नल्याउ नववर्ष
एउटै नवकल्पना भयो साकार
विधुवाको साहस तिन्लाई सत्कार
इन्द्रेणी रड्गमा सिड्गारिदाको हर्ष
आमा-दीदी-बैनीलाई रंगीन नववर्ष
विन्डसर विश्वविद्यालय, क्यानाडा
(स्रोत: तन्नेरी डट कम)