~गोविन्दप्रसाद आचार्य~
लक्ष्यका लहरा सुक्दा दुःखी छन् मनका भावना
दुःखको ओखती छैन के दिउँ शुभकामना
आशा जम्मै खरानीमा डढेले दन्किएपछि
सपना डरका हुन् कि परका बज्रिएपछि
आशामा असिना पर्दा अशुभ सूचना भयो
रिसको बिषवृक्षसँग मित लाएमा अशुभै भयो
कामनाका मुना सुक्दा कसरी शुभकामना
चिसा मानिसको राज कसरी बग्छ भावना
खाएर परको मानो मन साना हुँदै गयो
ननिख्रेको निराशाले जिन्दगी नमिठो भयो
मेरो आशा थियो खेती होला राम्रो जतै पनि
मेरो आशा थियो देश होला हाम्रो जतै पनि
म मेरो देशमा छैन जिन्दगानी धरापमा
लुटेराहरूको न्याय सतिको यो सरापमा
असति सत्तामा भए घुसमा पल्किएपछि
दशाले डस्छ यो देश डढेलो सल्किएपछि
जनै भोका सुकेका छन् दुःख जागि दशातिर
सुनेको छ र खै आज थोपरिएका पिरैपिर
ससाना कमिला हेर हात्ती भन्दा बडा तिनै
देशको कस्तुरी भयो पराई चितुवा धनी
न गाना सुखले गायो के दिउँ शुभकामना
जहाँ सुक्खा भयो पानी के दिउँ शुभकामना
जिन्दगी गतिमा छैन हारेको पात झार्दिनँ
सिर्जना सीपको दिन्छु माटोमा घात गर्दिनँ
रातका हात बाँधेर हस्तक्षेप हटाउँछु
लखेट्न मेट्न यो दिन्न देशभित्र अटाउँछु
झरेको कसरी हेर्छु मेरो काफलका फल
अखन्ड खन्ड माग्दैछन् मगन्ते परका दल
बेथिति ब्युझिएको छ के दिउँ शुभकामना
साँघुरोमा म पर्दैछु के दिउँ शुभकामना
गुराँस फुलले भन्छ रक्षाका हात बाँधिए
अखन्ड खन्डका दोषी सिमा र संघ बाँधिए
मेलमा झगडा झिक्छन् ओरालो जानुको मति
झगडा झमझमाएको दुःखको खोई त ओखती
आनन्द अन्त्य झैं लाग्छ के दिउँ शुभकामना
स्वतन्त्र जानुपर्ने हो उन्नतितिर भावना
असिना पग्लिनैपर्छ तातोको शुभकामना
प्रातको रक्तलालीमा सूर्यको शुभकामना
ज्यान दे, न दे भन्छु अँध्यारोतिर भावना
मान्छे धर्ती र मुक्तिको रातो शुभकामना
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २५ – April 25, 2012 – २०६९ बैशाख १३ गते, बुधबार)