~योगेन्द्र काउछा~
नयाँ वर्ष तिमीलाई
प्यारको स्पर्शले
आस्ते–आस्ते सुमसुम्याउन
तिम्रो नौलो जोशिलो
उत्साहमै रमाउन
सदाबहार झरी झै
रोइरहेका आँखाहरुलाई
हर्षका आवेगहरुमा चम्काउन
गरिबीका धारहरुमा
काटिएका अनि
अपमानमा जलिरहेका
गहिरा घाउहरुमा
मल्हमपट्टि लगाउन म कति आतुर थिएँ
आफू स्वयंलाई पनि
थाहा नै थिएन लाग्दथ्यो
जति पहिलो प्रेममा प्रेमीहरु अधैर्य रहन्छन्
त्यत्ति नै म पनि …….
तिम्रो आगमनको प्रतिक्षामा
तिमीलाई स्वागत गर्न
हातमा सप्तरंगी फूलहरुका
पुष्प गुच्छाहरु लिएर
म उभिएको थिएँ
नयाँ वर्ष, तिमी आयौ
तिमीसँगको यो मिलनमा
अतितका घाउहरु बल्झिरहेछन्
हृदयको प्यारो फूलबारीमा
हेर न
विषका विऊहरु उम्रिएर
फैलिरहेका छन्
ती अखन्ड अझैं
शान्त नेपाल जहाँ
विभाजन र विनासको
शोक धुन बजिरहेको छ
आज पनि
दास मानसिकताहरु
फलाकिरहेकै छन्–संघीयता
त्यसैको आवरणमा
तरबुजा जसरी नै देशमा
भावनात्मक सिमाहरु कोरिएको छ
थाहा नभए झैं
जन–जन भित्रै
एकता नै नरहे
बाँसुरी रहला कसरी
बाँस नै नरहे
त्यसैले,
नयाँ वर्ष अब
नयाँ संविधानसित
एकताको भाषा सिकेर
टुक्रिएका मुटुहरु सिएर
मित्रताको प्राण लिएर
सद्भाव अनि समानताको उद्घोष गर्नुछ
स्वाभिमानलाई ज्यूँदो राख्न
नयाँ वर्ष तिमी पनि
हरपल हरक्षण
जागरुक बन्नुछ ।
–गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २४ – April, 18, 2012 – २०६९ बैशाख ६ गते, बुधबार)