कथा : वास्तु मिलेको घर

~माधवप्रसाद दाहाल~

मंसिरको महिना लगनको महिना पनि भएकोले दोस्रो सातातिर छोरी नाता पर्नेको बिहेमा सहभागी हुने मौका जु¥यो । विवाहको दिन बिहानसम्म निमन्त्रणा नपाएका अंकलहरुलाई मैले नै घरमै गएर छिटो खबर गरिदिने जिम्मेवारी समेत पाएपछि अंकलजीको घर पुग्नुपर्ने भयो ।

निमन्त्रणा खबर लिएर अंकलको घरमा गएको त इजारवाला लामो कट्टु र वनियान मात्र लगाएर अंकलले घरकै छेऊमा भएको ट्वाइलेटका इँट्टा झिक्दै भुइँमा गर्न थालेका ।

कार्डबिनाको निमन्त्रणा खबर दिएपछि अंकललाई सोधें, ‘अंकल ट्वाइलेट किन भत्काउन लाग्नु भो त ?’

जवाफमा अंकलले भन्नुभयो, ‘हेर बाबु, यो ट्वाइलेटको वास्तु मिलेको रैनछ, घरको पूर्व उत्तर कुनामा ट्वाइलेट बनायो भने अशुभ पो हुँदो रै’छ ।’

एउटा बनिसकेको पक्की ट्वाइलेट वास्तु नमिलेको कारणले भत्काउने अवस्थासम्म पुगेको देख्दा मलाई अचम्म लाग्यो र हाम्रो कुराकानी विवाहको निमन्त्रणाबाट वास्तुशास्त्रतर्फ मोडियो । ट्वाइलेट मात्र नभई घरका अन्य कोठाहरु समेत तोडफोड गरेर वास्तु मिलाउनुपर्ने योजना अंकलले सुनाएपछि मलाई झनै आश्चर्य लाग्यो र केही प्रश्न गर्न मन लाग्यो ।

मेरो पहिलो जिज्ञासा यो रह्यो कि वास्तुशास्त्रले बताएअनुसार नबनेका घरहरुमा बस्ने सदस्यलाई के अशुभ हुन्छ त ? मेरो प्रश्नमा अंकलले उदाहरण दिएर बताउनुभयो कि उहाँको छिमेकीको कुवा घरको दक्षिण कुनामा भएकोले त्यो घरका मूलीको तुरुन्तै मृत्यु भयो रे । अंकलको यस्तो जवाफबाट मैले यो बुझें कि उहाँमा वास्तुशास्त्रको भूत नराम्रोसँग चढिसकेको रहेछ । वास्तुशास्त्र नपढेको मैले उहाँको मनस्थितिलाई बदल्न नसक्ने निष्कर्षमा पुगेपछि चुपचाप उहाँका वास्तु टिप्स सुनिरहन विवश भएँ ।

विवाह समारोहमा सहभागी हुँदा पनि अंकलले छेउछाऊका सहभागीहरुसँग वास्तु गफ गरिरहेको सुन्न सकिन्थ्यो । विवाहको तीन महिनापछि अंकलको घरमा पुगेको बेला अंकलको घरका सबै कोठाहरु वास्तुशास्त्रले बताएअनुसार नै सुसज्जित थिए । उहाँको बेडरुम पूर्व उत्तरतर्फ फर्केको थियो । दक्षिणतर्फ फर्केको किचेन सेटिङ उत्तरतर्फ फर्काइएको थियो । वास्तुशास्त्रले तोकेबमोजिमको रङ लगाइएको थियो । पूर्वी भागको भ¥याङ भत्काएर पश्चिमतर्फ सारिएको थियो ।

जेहोस्, वास्तुशास्त्रले शुभ मान्ने ढाँचाको घर बनाएकोमा अंकल सन्तुष्ट हुनुहुन्थ्यो । उता अन्टीले भने सबै तोडफोड एवम् मर्मत सम्भारमा १० लाख अनावश्यक खर्च गरेको भन्दै मसँग अंकलको जिद्दीवाल बानीको गुनासो गर्दै हुनुहुन्थ्यो । १० लाख खर्चको कारण अब घरमा शुभै–शुभ हुने दावीका साथ अंकल गर्व गर्नु हुँदै थियो ।

त्यसै साल भारतमा सि.ए. पढिरहेको अंकलको छोराले अर्थ अभावले सि.ए. पढ्न गाह्रो भएको र तुरुन्तै घर बेचेर भए पनि उसलाई पैसा पठाउन फोन गरेपछि अंकल वास्तु मिलेको घरको बिक्रीका लागि छट्पटिदै ग्राहक खोजिरहनुभएको थियो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.