~रामचन्द्र कार्की~
पिरतीको के कुरा भो ज्यानै गलाउने,
माछो माछो भ्यागुतो सरी छलाउने ।
चल्न गाह्रो यो संसार पिरतीको खातिर,
स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर ।
हाम्रो सानो संसार थियो पिरतीको आडमा,
भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा ।
दरौदीको पानी भन्दा सङ्लो हाम्रो माया,
मनकामना र गोरखनाथ हाम्रै दाँया बाँया ।
मुस्कुराउदा उनले त्यहा लालिगुँरास लजाउथ्यो,
लिगलिगले सल्लासंगै शंख घन्टा बजाउथ्यो ।
हिमाल चुली जिस्काउथ्यो मुनामदन भन्दै,
हाँस्थ्यौ हामी खुशि हुन्थ्यौ रिसाएनौ बन्दै ।
सधैं भरी एकै खालको हावा चल्दो रहेनछ,
उनको मनले मेरो हासो खुशी केही सहेनछ ।
बाचा कसम आबेगमा रे माया नाटक अरे,
छाडि गइन उनले मलाइ जिउदैमा मरेँ ।
न त धनको पछि लागिन न त मनको,
म पनि त घरकै थिएँ थिइन बनको ।
माया गर्न जानिन की थाम्न सकिनन्,
राता आँखा तरी गइन् तर फर्किनन ।
January 19, 2012
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)